पृष्ठभूमिः
नेपाली समाजमा विवाह पछिको दाम्पत्य सम्बन्ध कति बेलासम्म रहन्छ र कति बेला अन्त्य हुने हो ? कति बेला वैवाहिक सम्बन्ध कायम नरहेको मान्ने हो ? बुझ्नै कठिन भएको छ । मुलुकी ऐन भन्दा सरल र बुझ्नलाई सहज भनेको संहिता कानुन दफा अनुसारको प्रसंगलाई बुझेर मात्र अर्थ गर्नुपर्ने खालको कठिन र जटिल बनाइएको छ ।
बहुविवाहः
मुलुकी अपराध संहिताले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न हुँदैन भनेको छ । त्यसैगरी कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसंग कुनै महिलाले विवाह गर्न हुँदैन । विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गरेमा स्वतः बदर हुनेछ ।
व्यवहारिक प्रयोगः
महिलाको अधिकार संरक्षण गर्न ल्याएको कानुनले निमुखा महिलाहरु पीडित हुनबाट जोगिएनन् । स्वतः बदर हुने खालको बहुविवाहका अभियुक्त पक्राउ गरेर पनि अनुसन्धान अधिकारीले पीडित महिला झनै पीडित हुने गरी सम्बन्ध विच्छेद गर्ने वातावरण निर्माण गरेर हिरासतको मान्छेलाई अदालतमा पुगेर मिलापत्र गर्ने अबसर दिलाएर बहुविवाहलाई संरक्षण गरेको पाईन्छ । मिलापत्र बमोजिमको सम्बन्ध विच्छेद पछिको बालबच्चाको मासिक खर्च बहुविवाहको अभियुक्तले भराई नदिंदा पीडित महिला पुनः अदालत जान नसकेर निरिहता पूर्वक सहन बाद्य बनाइएको छ ।
विभेदकारी कानुनः
विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गरे बहुविवाह हुने तर विवाहित महिलाले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को पत्नि विहिन पुरुषसंग विवाह गरेमा बहुविवाह हुने कानुनी व्यवस्था भएको पाईएन । वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने व्यवस्था गरेर महिलालाई पटक पटक बहुविवाह गर्ने छुट हाम्रो कानुनले दिएको छ । बहुविवाह सरकारवादी मुद्धा हुँदा जेठी पत्निले जाहेरी दर्ता गराएर, अनेक प्रयासबाट सम्बन्ध विच्छेदमा मिलापत्र गराउने । जेठी पत्नि बाहेक अरुले जाहेरी दिए कारवाही नै अगाडि नबढाउने । त्यसैगरी पतिसंग सम्बन्ध विच्छेद मुद्धा चलेको अवस्थामा वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन । तर पत्नीसंग सम्बन्ध विच्छेद मुद्धा चलेको अवस्थामा के हुने ? कानुन मौन छ । यस्ता सबै अभ्यासहरु विभेदकारी छ ।
वैवाहिक सम्बन्ध कायम रहेको नमानिने अवस्थाः
पतिसंग मानो छुट्टिई अंश मुद्धा चलेको अवस्था भएमा पनि वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन भनेर मुलुकी देवानी संहिताले भनेको छ । पतिसंग अंश लिई छुट्टै बसेको अवस्थामा त झनै वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन नै । पतिसंग सम्बन्ध विच्छेद मुद्धा चलेको अवस्थामा पनि वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन । अब प्रश्न उठ्छ– पत्निसंग सम्बन्ध विच्छेद मुद्धा चलेको अवस्थामा वैवाहिक सम्बन्ध कायम रहेको मानिन्छ ? किनभने कानुनले पतिसंग सम्बन्ध विच्छेद मुद्धा चलेको अवस्थामा वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन भनेको छ तर पत्निसंग सम्बन्ध विच्छेद मुद्धा चलेको अवस्थामा कानुन मौन छ ।
वैवाहिक सम्बन्धको अन्त्य भएको मानिनेः
मञ्जुरी नलिई भएको विवाह, हाडनातामा परेको विवाह, २० बर्ष उमेर नपुगी भएको विवाह, अंशबण्डा गरी भिन्न भएको अवस्थामा बाहेक वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा भएको विवाह प्रारम्भदेखि नै अमान्य हुनेछ । झुक्याई गरेको विवाह बदर गराउने सकिने छ । यस्ता प्रकृतिबाट कायम भएको वैवाहिक सम्बन्ध अन्त्य भएको मानिनेछ । साथै सम्बन्ध विच्छेद भएमा र पत्नीले कानुन बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा पनि वैवाहिक सम्बन्धको अन्त्य भएको मानिने छ ।
बुझ्नै कठिनः
वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन भन्नु र वैवाहिक सम्बन्धको अन्त्य भएको मानिनेछ भन्ने दुई वाक्याम्सलाई बुझ्न कठिन छ । भाव एउटै छ तर सार फरक छ । त्यसैले हाम्रो संहिता मौलिकता मास्न जबरजस्त ल्याइएको बुझ्नै कठिन छ ।
व्यवहारिक प्रयोगः
कानुनमा वैवाहिक सम्बन्धको अन्त्य भएको मानिने व्यवस्था कार्यान्वयन गर्न भने कठिन छ । पत्निले कानुन बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्को विवाह गरेको व्यहोरा उल्लेख गरेर पतिले वैवाहिक सम्बन्धको अन्त्य भएको घोषणा गरी पाउँ भनेर अदालत जाँदा अदालतले पछिल्लो पतिलाई पनि प्रतिवादी बनाउन भन्छ । सबै अवस्थामा पछिल्लो पति अदालतमा उपस्थित हुन
सक्दैन । साथै चाहँदैन पनि । यो परिस्थितिमा मिलापत्र हुने अवस्थालाई यो कार्यविधिले अन्त्य गरिदिएको छ । मिलापत्र नहुँदा एक बर्षसम्म फैसला नगर्न कानुनले नै भनेको छ ।
पुनः विवाहः
हाम्रो कानुनमा पुनः विवाह गर्न सक्ने व्यवस्था छ । यो अधिकार भने महिला पुरुष दुवैलाई समान रुपमा प्रदान गरिएको छ । पुनः विवाह भन्नु र बहुविवाह भन्नु उस्तै जस्तो लाग्दछ । तर कानुनतः यसको अर्थ फरक छ । कानुनले वैवाहिक सम्बन्धको अन्त्य भएमा पुनः विवाह गर्न पाईन्छ भनेको छ । तर अदालतबाट वैवाहिक सम्बन्धको अन्त्य भएको निर्णय नगराई पुनः विवाह गर्न
पाईदैन । त्यसैले कानुनमा ‘पति पत्नी बीच वैवाहिक सम्बन्ध अन्त्य भएको अदालतबाट निर्णय भएमा’ भन्ने शब्दावली राख्नु आवश्यक छ । पति वा पत्निको मृत्यू भएमा पनि पुनः विवाह गर्ने छुट छ । पति वा पत्निले कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएमा पनि पुनः विवाह गर्ने छुट छ ।
अब बुझ्नु पर्ने सवालः
वैवाहिक सम्बन्धको अन्त्य भएको मानिने अवस्था र वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन भन्ने अवस्थामा पुनः विवाह गर्ने छुट छ कि छैन ? उल्लेखित दुवै अवस्थामा पुनः विवाह गर्ने छुट कानुनले दिएको सोझो अर्थ हुन्छ । तर वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन भन्ने अवस्थामा पुनः विवाह गर्न सायदै कुनै पनि कानुन व्यवसायीले सल्लाह दिन नसक्ला ?
निष्कर्षः
पुरुषले गरेको विवाह कसुर हुने अवस्थामा महिलाले गरेको विवाह पनि कसुर हुने समान कानुनी व्यवस्था हुनु पर्दछ । मिलापत्र गरेर सम्बन्ध विच्छेद गरी आफ्ना व्यवहारिक कठिनाई अन्त्य गर्न चाहने पक्षलाई अदालती कार्यविधि बाधक हुनु हुँदैन । बहुविवाहलाई संरक्षण गरेको देखिने गरी स्वतः बदर हुने विवाहको कार्यान्वयन तर्फ सम्बद्ध पक्षले उपेक्षाभाव देखाई सम्बन्ध विच्छेद गर्नुपर्ने परिवन्द निर्माण गरिनु हुँदैन । कानुन कार्यान्वयन गर्ने निकायको उपेक्षाभावले पीडितलाई झनै अन्याय हुने राज्यसंयन्त्रको कार्यशैली र विभेदकारी कानुन संसोधन तथा परिमार्जन गर्ने तर्फ सम्बद्ध निकायको ध्यान पुग्न अनिवार्य छ ।
बहुविवाह, पुनः विवाह र सम्वन्धको अन्त्य
previous post