
गएको शनिवार दमौलीमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल शिक्षक संघको २५ औं जिल्ला प्रतिनिधि सभा एवं शिक्षक सम्मान कार्यक्रम भएको थियो । उक्त सभामा मन्तव्य दिने क्रममा व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिक्षक सरुवामा आर्थिक लेनदेनको चर्चा चल्ने गरेको बताए । नगर प्रमुख न्यौपानेले आगामी दिनमा यस्ता हल्लाहरु सुन्नु नपरोस् भन्दै आफुलाई मत दिने साथीलाई घर पाएक सरुवा ल्याउँदा समेत आर्थिक लेनदेन हुने गरेको हल्लाले आफुलाई दुःखी बनाएको बताए । विगतमा जस्तै आफ्नो नाम जोडेर आर्थिक चलखेल गरिएकोमा उनको ठूलो आपत्ति थियो ।
यसै साता अलि टाढाबाट सरुवा भई सदरमुकाम नजिक आउन लागेका एक शिक्षक, दाहोरो पालिकाको सहमती लिएर समन्वय इकाइमा जाँदा कति खुवाएर आउनु भयो ? भनेर प्रश्न गरिएको बताउँदै थिए । आफुले कुनै आर्थिक लेनदेन गर्नु नपरेको बताएका उनलाई त्यो प्रश्नले आश्चर्यमा पारेको र त्यस्तो पनि हुन्छ र ? भन्ने लागको बताए ।
अढाइ वर्ष अगाडिको दशै आसपास एउटा यस्तै विषयले निकै चर्चा पाएको थियो । चर्चाको विषय थियो शिक्षा विकास तथा समन्वय एकाई तनहुँका तत्कालीन प्रमुख रमाकान्त शर्माको फेसबुक स्टाटस । संसारभर शिक्षक दिवस मनाएको हप्ता एकाई प्रमुख शर्माले फेसबुक मार्फत व्यक्त गरेको कुरा र त्यसमा आएका प्रतिक्रियाहरुले शिक्षक नेताहरुलाई निकै असमञ्जसमा पारेको थियो ।
पहिले तत्कालिन इकाई प्रमुख शर्माको फेसबुक स्टेटस उल्लेख गरौं । त्यसपछि मात्र थप चर्चा गर्नेछु । एकाई प्रमुख शर्माले फेसबुकमा लेखेका थिए्, “एक दुई हप्ता पहिला तनहुँबाट सरुवा हुने मा वि शिक्षकले चारलाख बुझाउनु पर्यो भन्दै हुनु हुन्थ्यो, आज अर्को जिल्लामा एक जना प्रावि शिक्षकको सरुवा भएको जानकारी दिनु भयो । कति खर्च गर्नु भो नि भन्दा भन्नु भयो डेढलाखमा भयो सर, तपाइलाई त सस्तो भयो भन्थे, भोज खुवाउन बाँकी नै छ । रकम कसलाई दिनु भयो नि पालिकामा पचास हजार, समन्वयमा बुझाउन भनेर शिक्षकका नेतालाई ७५ हजार, शिक्षा दिनेहरुका नेताहरु नै दलालीको काम गर्न थाले पछि कहिले होला सुधार ।”
शर्माको यो स्टाटस पछि मिश्रित प्रतिक्रिया आएका थिए । केही प्रतिक्रिया एकाई प्रमुख शर्माले यो स्टाटस मार्फत आफ्नो असक्षमता प्रदर्शन गरेको भन्ने
थिए । उनीहरुको आशय थियो, जिल्लाको शिक्षा हेर्ने हाकिम आफु, शिक्षकहरु गलत बाटोमा हिँड्दै छन् भन्ने थाहा पाएको भन्ने तर आवश्यक कारवाही गर्नु साटो सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नु भनेको निरिहता बाहेक केही होइन । अनि अर्काे खाले प्रतिक्रिया थिए, चोर औला ठड्याएर शिक्षकहरुले सरुवाका क्रममा आर्थिक लेनदेन गरे भन्दै गर्दा बाँकी चार औलाले आफै तिर देखाइरहेको कुरा एकाई प्रमुखले भुलेका हुन कि ? किनभने खासगरी अस्थायी नियुक्तीको क्रममा छनौट हुने शिक्षकले झण्डै एक महिनाको तलब बराबरको खर्च गर्नुपर्ने बनाउने कार्यालय त उहाँ कै हो ? भलै अहिले नाम फेरिएर शिक्षा विकास तथा समन्वय एकाई भएको छ । यतिमात्र होइन, आफ्नो भागमा आउनु पर्ने जति रकम नआएकाले अहिले एकाई प्रमुखले शिक्षकहरुलाई लान्छित गरेको भन्ने आक्रोष मिश्रित प्रतिक्रिया पनि आएका थिए ।
अन्य प्रतिक्रिया पनि थिए । आफु जस्तै शिक्षकको सरुवामा आर्थिक लेनदेन गर्ने शिक्षक नेताहरुलाई नाङ्गे झार पार्नुपर्छ । निष्पक्ष छानविन गरी कारवाहीको दायरामा ल्याउनु पर्छ भन्ने आवाजहरु पनि संगै उठेका थिए । कतिपय महिला शिक्षकहरुले त आफुहरुले सरुवाको क्रममा दुव्र्यवहार सहनु परेको आक्रोश समेत पोखेका
थिए । सरुवामा सघाउ पु¥याउने आवश्वासन दिएका शिक्षक नेताहरुले आफुले पैसा नदिने बुझेपछि वेवास्ता गरेको र वर्षौं देखि अपायक वसेर पढाउनु परिरहेको गुनासो गर्ने शिक्षकहरुको संख्या पनि राम्रै भएको प्रतिक्रियामा देखिन्थ्यो । शिक्षक नेताहरुको चाकरी गर्ने तथा खाजापानी खुवाउने शिक्षकको सहजै सरुवा हुने गरेको भन्ने आवाज पनि प्रतिक्रिया मार्फत मुखरित भएका थिए ।
जो जसको सम्बन्धमा त्यतिबेला त्यसरी आवाज उठेको थियो, ति सबै पूर्णत गलत थिए भनेर भन्ने आधार थिएन र सबै दूधले नुहाएका थिए भन्ने पनि आधार थिएन । जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई हाँक्ने हाकिमले विना आधार सामाजिक सञ्जालमा यस्ता विषयहरु राखे होलान् भनेर विश्वास गरिहाल्ने ठाउँ पनि त थिएन । फेरी सबैलाई सदाचार सिकाउने शिक्षकले कसरी आफ्नो सहकर्मीसंग सरुवा गरिदिन्छु भनेर पैसा लियो भनेर पत्याउनु ? तर कुरा के हो भने आगो नबली धुँवा आउँदैन भन्ने उखान हाम्रा बुढा पाकाले त्यसै बनाएका पनि त होइनन् ।
प्राथमिक कक्षामा पढ्ने बालबालिकालाई राज्यले खाजा खुवाउन भनेर उपलब्ध गराएको रकम प्रधानाध्यापकले हिनामिना गरेको भनेर समाचार पढ्न पाइएकै छ । आफ्नै सहकर्मीको कर्मचारी सञ्चयकोष तथा विमाकोषमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरी नक्कली भौचर बनाएर रकम हिनामिना गरेको तथा छात्रछात्रालाई बाँड्न भनेर आएको रकम वितरण नगरी हिनमिना गरेको भन्ने समाचारहरु पनि बारम्बार रेडियोमा सुन्न र टेलिभिजनमा देख्न पाएकै छौं । यस्तो अवस्थामा कुनै शिक्षकले अर्काे शिक्षकको सरुवामा रकमको माग गरेन भन्न सकिने अवस्था छैन । विश्वास गरिहाल्ने अवस्था छैन । अनि शिक्षा नियमावलीले भनेका सम्पूर्ण प्रक्रिया पूरा गरेर जाँदा पनि समन्वय एकाईले सरुवा नगरेर दुःख दिएको भन्दै गुनासो गर्ने शिक्षकहरुको संख्या पनि कम छैन ।
केही समय अगाडी एक विद्यालयमा प्रधानाध्यापक गुनासो गर्दै थिए, पुस्तकालयका लागि स्थानीय सरकारले रकम उपलब्ध त गरायो तर आफुले रोजेको पुस्तक किन्न पाइएन् । उनीहरुले जुन प्रकाशनको पुस्तक किन भन्यो त्यही पुस्तक किन्नु पर्ने । यो कस्तो विडम्बना । थप उनको गुनासो थियो, उनीहरुले भने बमोजिमको पुस्तक किनेर ल्याएँ, अनुगमन नगरी रकम निकासा दिन मिल्दैन भने । अनुगमनका लागि बोलाउन जाँदा सोध्छन्, अनुगमनका लागि कति रकम छुट्याउनु भएको छ ? कर्मचारीको व्यवहारले दिक्दार उनी भन्दै थिए, प्राप्त रकमले किताब किनेर ल्याइयो अब अनुगमनको रकम कहाँ खोज्ने ?
विकृति नेपालको हरेक क्षेत्रमा छ । यस्तोमा शिक्षा क्षेत्रमात्र विकृति रहित छ भन्यो भने त्यो हावा गफ हुन्छ । यहाँ पनि प्रसस्त विकृति छन् । बालबलिकाका लागि पुस्तक किन्न दिएको रकममा अनुगमनको लागि कति रकम छ भनेर सोध्नेहरु भित्र पनि छ अनि खाजाका लागि आएको १५ रुपैयामा पनि अनियमितता गर्नेहरु भित्र पनि
छ । खाँचो छ, यस्ता घिनलाग्दा हर्कत गर्न छाड्ने प्रतिवद्धताको । सरुवामा लेनदेनको कुरा गर्ने शिक्षक अनि प्रक्रिया र कागजात पूरा हुँदा पनि खाजापानी नपाउँदा सम्म सरुवाको चिठी नबनाउने कर्मचारी सबैलाई नाङ्गे झार पार्न पछि पर्नु हुँदैन । आफ्नो दलको व्यक्ति वा आफन्त भनेर छोड्दा त्यसले विकराल रुप लिन सक्छ । एक दिन यस्तो पनि आउँछ, तपाई सरुवा हुनु पर्दा आफन्त भनेर आज छोडेको त्यो दुष्टात्मालाई पैसा दिनु परोस् । पैसा नदिएका कारण सरुवा रोकिने नहोस् । यस्तो कहिल्यै नहोस् ।