प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सभाध्यक्षलाई ज्ञापन पत्र
दमौली/पत्रकारीतालाइ नियन्त्रित गर्न नेपाल सरकारले पाँच भन्दा बढी विधेयकलाइ प्रक्रियामा अगाडि बढाएको विरोधमा नेपाल प्रेस युनियन देशव्यापी रुपमा आन्दोलित भएको छ । यसैक्रममा नेपाल प्रेस युनियन तनहुँ शाखाले २०७६ जेष्ठ १ गते तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत सभामुख तथा राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा प्रेश तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ विधेयकमा संसोधनको व्यपस्थापन गर्न जोडदार माग गरिएको छ । नेपाल प्रेस यूनियनको मागलाइ नजरअन्दाज गरिएमा लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सबैलाई एकाकार गरी थप आन्दोलित हुने चुनौतिपूर्ण जानकारी सभाध्यक्षहरुलाई युनियनले गराएको छ । नेपाली प्रेस स्वतन्त्रता र मौजुदा अभ्यासलाई ओली सरकारले कू गर्न लागेको आरोप समेत ज्ञापन पत्रमा लगाइएको छ । विधेयकमा रहेको जरिवाना र कैदको व्यवस्थाले दुई तिहाइ बहूमतको वर्तमान सरकार बहूसंख्यक पत्रकारहरुलाई पेशाबाट विस्थापित गर्ने, टिकेकाहरुलाई भजनमण्डलीमा रुपान्तरित गर्ने तर्फ अग्रसर देखिएको आरोप लगाइएको छ ।
पत्रकारहरुको लामो संघर्षबाट ल्याइएको श्रमजिवी ऐनलाई कार्यान्वयन नगरी विस्थापन गरेर श्रम ऐन मार्फत पत्रकारहरुलाई नियमन गर्न खोजेको युनियनले असहमति जनाएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले युनियनले बुझाएको ज्ञापन पत्र आजै सभाभुख र राष्ट्रिय सभा अध्यक्षले पाउने गरी सम्प्रेषण गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । युनियन तनहुँका अध्यक्ष ओमकार आचार्य, पूर्व अध्यक्षहरु प्रदीप काफ्ले, ऋषिराम पोख्रेल, डम्बर अधिकारी, उपाध्यक्ष पवन पौडेल लगायत पदाधिकारी तथा सदस्यहरु सहितले ज्ञापन पत्र बुझाएका थिएँ ।