–आफु प्रधानमन्त्री भएका बेला बीपी कोइरालाले आफ्ना खरो आलोचना गरेर लेख्ने पत्रिकाका सम्पादकलाई बोलाएर पत्रिका प्रकाशन गर्ने खर्च दिँदै आगामी दिनमा पनि यसरी आफ्ना कमजोरी केलाउन आग्रह मात्र गरेनन यसले आफुलाई जनताका पक्षमा निर्णय लिन सघाउने समेत बताए ।
–सार्वजनिक समारोहमा भाषण गर्ने अवसर जुर्ने वित्तिकै वर्तमान प्रधानमन्त्री केपी ओली सञ्चार माध्यमहरुलाई गाली गर्न थाल्छन् ।
–प्रश्न गरेकै कारण डेकेन्द्र खड्काले जनताको हितका लागि हतियार उठाएका हौं भनेर नथाक्ने प्रचण्डहरुबाट हात बाँधिएको अवस्थामा सेरिएर मर्नु परेको पनि हाम्रै देशमा हो । – नेपाल टेलिभिजनका अन्र्तवार्ता मूलक कार्यक्रम सञ्चालक राजु थापाले तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटालाई प्रश्न गरेकै कारण जागिरबाट हात धुनु प¥यो ।
–उनै बास्कोटाले आफ्ना विरुद्ध समाचार लेख्ने सञ्चार माध्यमहरुलाई दशैं खर्च नपाएको झोंकमा लेखेको भन्दै दशैं खर्च लिन आउन सुझाए ।
–केही समय अगाडि मात्रै सगरमाथा टेलिभिजनमा कार्यरत राजेन्द्र बानियाले पनि प्रश्न गरेकै आधारमा उक्त टेलिभिजन छोड्नु पर्ने अवस्था सृजना भयो ।
६ दशक अगाडिका प्रधानमन्त्री बीपी कोइराला प्रजातान्त्रिक संस्कारमा हुर्केका थिए । त्यसैले उनले आफ्ना खरो आलोचक मदनमणि दीक्षितलाई उनको पत्रिका समिक्षा प्रकाशन गर्ने खर्च
दिए । अझ उनैले सूचना विभाग मार्फत पत्रिकालाई विज्ञापन दिने व्यवस्था मिलाए । किनभने उनलाई आलोचनाको आलोकले गलत निर्णय गर्नबाट जोगाउँदै आम नागरिकका हित अनुकुल निर्णय गर्न सघाउँछ भन्ने विश्वास उनमा थियो ।
तर बन्द विचार र समुहमा हुर्केका ओली र बास्कोटाहरुलाई भने आलोचनाको आलोक पटक्कै मन पर्दैन । उनीहरु आफ्नो भन्दा फरक विचार राख्नेको खरो आलोचना गर्न मज्जा मान्छन् तर आफ्नो आलोचनाको आ पनि सुन्न रुचाउँदैनन् । अनि आफ्ना समर्थकलाई कहिले अरिंङ्गाल बनेर चिल्न तथा कहिले बघिनी बनेर झम्टिन निर्देश गर्छन् । जब देशको राजनैतिक नेतृत्वलाई आलोक अर्थात उज्यालो मन पर्दैन अनि देशको अवस्था के हुन्छ । त्यो हामी भोगी रहेका छौं र आगामी दिनमा अझ भोग्दै जानेछौं । प्रश्न गर्ने पेशा अंगालेको व्यक्तिलाई प्रश्न गरेकै आधारमा जागिरबाट निकालिने भएबाट अहिलेका शासकलाई आलोचनाको आलोकले कति पिरोलेको रहेछ भन्ने प्रष्ट भएको छ ।
ओली र बास्कोटाहरु मात्र किन आफुलाई बीपीको सच्चा अनुयायी भन्ने शेरबहादुर देउवालाई पनि आलोचनाको आलोक मन पर्दैन र आफुलाई प्रश्न गर्नेहरुलाई उनी बढी बोलेको भन्दै हप्काउँछन् ।
सत्ताधारी र विपक्षिको समेत यस्तै व्यवहारका कारण होला विस्तारै नेपाली पत्रकारितामा प्रश्न गर्ने काम कम र सत्ताको सहयात्री बन्ने काम बढी गर्ने तर्फ उन्मूख भएको प्रतित हुन थालको छ । मनभित्र अज्ञात भय भएर हो वा अन्य कुनै कारण हामी सेल्फ सेन्सरसीपमा जना थालेको आम नागरिकले महसुस गर्न थालेका छन् । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता सधै सत्ताको प्रतिपक्षि हुन्छ र हुनुपर्छ भनिन्छ तर कतिपय सन्दर्भमा हामीले आफ्नो धर्म निर्वाह गर्न भूलेको जस्तो देखिन थालको छ । जनताको आवाज बोल्नुपर्ने पत्रकारिताले अब नेताको मात्र आवाज बोल्ने भएको आरोप लाग्न थालको छ । अरुलाई प्रश्न गर्ने हामीलाई नै प्रश्न गर्न थालिएको छ । अहिले पत्रकारिताले बोल्नु पर्ने त निर्मला पन्तको आवाज हो । सनी खुन्नाको आवाज हो । वर्षाैदेखि उखुको भुत्तानी नपाएर घर न घाटका भएका उखु किसानको आवाज हो । जाडोले कठ्याङग्रियर मृत्युको मुखमा पुगको ति विपन्न परिवारको आवाज हो । राजु सदाको आवाज हो । कोभिडका कारण रोजगारी गुमाएर सांझ विहान हात मुख जोर्न समस्यामा परेका परिवारको आवाज हामीले बोल्नुपर्ने हो । महामारीमा पनि कमिसनको दाउमा रहनेहरुलाई हामीले प्रश्न गर्न सक्नुपर्ने हो । जनताका हित अनुकुल काममा लाग्नु साटो अल्पमत र बहुमतको नामामा पार्टी भित्र तमासा गर्ने र देशको भविष्य अन्धकार तर्फ धकेल्ने नेताहरुलाई प्रश्न गर्नुपर्ने हो । जनताको आवाज बोल्ने भनेको प्रतिपक्ष सत्ताधारीसंग मोलमोलाई गर्दै आफ्नो कर्तव्यबाट च्यूत हुँदै गर्दा तपाईँको कर्तव्य के हो भनेर प्रश्न गर्नुपर्ने हो । आफ्नो भविष्यमा माथि कालो बादल मडारिएको दृश्य देखेर चिन्तमा रहेका कक्षा ११ मा अध्ययनरत किशोर किशोरीको आवाज बोल्नु पर्ने हो ।
भ्रष्ट बन्दै गएको राज्य संयन्त्र, सामान्य आर्थिक अवस्था भएको मानिसले उम्मेदबार हुनै नसक्ने बन्दै गएको हाम्रो निर्वाचन, सरकारमा रहनेहरुले गर्ने राज्य श्रोतको दोहन, दलका नेताहरुले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर गर्ने असंगत व्यवहार आदिबारे आजको नेपाली पत्रकारिताले प्रश्न गर्नुपर्ने हो । यस्ता प्रश्न गर्ने ठाउँ धेरै छन् । तर के यी यावत विषयमा आजको पत्रकारिताले गरेको प्रश्न पर्याप्त छ ? भनेर प्रश्न गर्नुपर्ने भएको छ ।
पत्रकारिताको आधारभूत कुरा भनेकै प्रश्न गर्नु हो । को, कहिले, कहाँ, किन, कसरी, कुन अर्थात ६‘क’ हुन्छन् र सबैसंग प्रश्न चिन्ह जोडिएको हुन्छ । तर हामी विस्तारै सत्तालाई यि ६ ‘क’ मिसिएका प्रश्न गर्न छाड्ने भएका छौं । हाम्रा समाचारहरुमा ६ ‘क’ त हुन्छन् तर कुन दलको नेता अझ त्यो दल भित्रको पनि कुन गुटको नेता कुन नेता कहाँ गयो र के भन्यो भन्ने विषयमा केन्द्रीत भएको छ हाम्रो पत्रकारिता । पत्रकारिताको आधारभूत सुत्र ६ क मा प्रश्न जोडिन छोडेको छ । प्रश्न गर्ने कुराबाट बाहिर आएर आफ्ना सहकर्मी राजनीतिज्ञको वद्ख्वाई गर्ने धेयले नेताले गर्ने भाषणमा सर्वसाधारणले तालि बजाउँदा रमाउने र त्यसैलाई प्राथमिकता पूर्वक समाचार बनाउने तर्फ हाम्रो पत्रकारिता उन्मूख भएको छ ।
जहानिया राणा र पञ्चायती शासनमा समेत तिखा प्रश्न गर्न पछि नहटेको पत्रकारिता किन प्रश्न गर्न छाड्ने अवस्थामा पुगको होला ? पेशा नै प्रश्न गर्ने भएकाहरुले प्रश्न गर्न छाड्ने हो भने हाम्रो भविष्य के होला ? अज्ञात भयले हामीलाई सेल्फ सेन्सरसिपमा लगेको हो या अन्य केही ? आफैलाई प्रश्न ।