
दमौली/नेपाली काँग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डेमोक्रेटिक लयर्स एशोसिएशन तनहुँको आगामि तीन बर्षका लागि नयाँ नेतृत्व चयन गरेका छन् ।
गत फागुन १५ गते सम्पन्न सातौं अधिवेशनबाट तीनदिनको अथक प्रयास पछि अगामि तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्न पूर्व अध्यक्षहरुको टीम सफल भएको थियो ।
सातौं अधिवेशनबाट सर्वसम्मत अध्यक्षको जिम्मेवारी पाउने नेतृत्वमा रविन्द्र वराकोटी रहेका छन् । अध्यक्षको प्रत्यासीमा निवर्तमान अध्यक्ष चन्द्रकान्त वाग्ले, वर्तमान अध्यक्ष रविन्द्र वाराकोटी, निर्वमान उपाध्यक्ष शरणहरि पन्त, मिलन आले र हरिमान श्रेष्ठ रहेका थिए । मिलन आले र हरिमान श्रेष्ठले सर्वसम्मत नेतृत्व चयनको आव्हान गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए भने तीन जना प्रत्यासी अन्तिमसम्म आफ्नो दावी कायम राखेका थिए । सभासदहरुको सर्वसम्मत नेतृत्व चयन गर्ने माग बढेपछि उम्मेदवारहरुले पूर्व अध्यक्षहरुको टीमले गरेको निर्णयलाई मान्ने सहमति दिएपछि यस्तो निर्णय आएको थियो ।
पूर्व अध्यक्षहरुले सबै साथीहरुलाइ टिममा समावेश गर्ने प्रयास गरेको बताउँछन् । तर उपाध्यक्षमा इच्छा जाहेर गरेका विमल गिरीले अन्य कुनै पनि पदमा बस्न अस्विकार गरेपछि निर्वाचित टिममा पार्न नसकिएको प्रयासरत अग्रजहरुको दावी छ । निर्णय गर्ने अख्तियारी पाएको टीमले अध्यक्षका दावेदार हरिमान श्रेष्ठलाई उपाध्यक्षमा चयन गरेको थियो । त्यसैगरी सचिवमा विष्णु हड्खले, कोषाध्यक्षमा माधव घिमिरेलाई चयन गरेको थियो । सदस्यहरुमा शिवराज काफ्ले, हर्कमान श्रेष्ठ, उदयनाथ अधिकारी चयन भएको छ । अधिवेशनको नेपाली काँग्रेस तनहुँका सभापति जीत प्रकाश आलेले उद्घाटन गरेका थिए । निर्वाचन संयोजकको भूमिका केशव भट्टराईले निर्वाह गरेका थिए ।