
विशेष सम्वादाता
कार्यसम्पादन मूल्याङ्कनको आधारमा सुदूरपश्चिम प्रदेश अन्य ६ प्रदेशलाई उछिन्दै पहिलो बन्न सफल भएको छ ।
विभिन्न २७ सूचकको आधारमा प्राकृतिक स्रोत तथा वित्त अयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिम प्रदेश सबैभन्दा धेरै ५१.६ अंक सहित उत्तम प्रदेशमा दर्ज भएको हो । आयोगको नतिजा अनुसार कोशी प्रदेश ५०.९ अंक सहित दोस्रो उत्कृष्ट प्रदेश बनेको छ भने गण्डकी प्रदेश ४०.८ अंक सहित पााँचौं स्थानमा छ । ३० अंक पाएको मधेश प्रदेश कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ ।
आयोगले स्थानीय तह तर्फ महानगर, उपमहानगर, नगर तथा गाउँ पालिका सबैको कार्यसम्पादन नतिजा प्रकाशन गरेको छ । महानगर तर्फ चितवनको भरतपुर महानगर ७६.२ अंक सहित सर्वाेत्कृष्ट महानगर बनेको छ । कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको वीरगञ्जले ४३.१ अंक पाएको छ ।
उपमहानगर तर्फ दाङको घोराही उपमहानगरले सबैभन्दा धेरै ६६.९ अंक प्राप्त गरेको छ भने धनुषाको जनकपुरधाम उपमहानगर ३५.८ अंक सहित कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ ।
आन्तरिक आम्दानीको प्राप्ति, विभाज्य कोषमा दाखिला भएको रकम, विनियोजन अनुसारको खर्च बजेट, बेरुजु, आवधिक योजना निर्माणको अवस्था, शैक्षिक र स्वास्थ्य गतिविधि लगायत मूल्यांकन गरेर प्रकाशन गरिने नतिजा अनुसार नगर पालिका तर्फ डडेल्धुराको अमरगढी नगर पालिका ८१.७ अंक सहित कार्यसम्पादनमा अब्बल नपा देखिएको छ । यसैगरी गाउँ पालिका तर्फ धादिङको नेत्रावती डबजोङ तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७८.२ अंक सहित सर्वात्कृष्ट गापा बन्न सफल भएका छन् । कार्यसम्पादनमा सबैभन्दा कम अंक पाउने गाउँ पालिकामा बाराको सिम्रौनगढ रहेको छ । सिम्रौनगढले २९ अंक पाएको छ । गण्डकी प्रदेश अन्तर्गतका पालिका मध्ये स्याङ्जाकै आँधिखोलाले ७८ अंक र फेदीखोलाले ७७.९ अंक प्राप्त गरेका छन् । लमजुङको बेंसीशहर नपाले ७४.७, स्याङ्जाको विरुवा गापाले ७४.३, वालिङ नपाले ७३.७, पर्वतको महाशिला गापाले ७३.६, नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले ७३.२ अंक पाएका छन् ।
यसैगरी मनाङको नार्पाभूमि ७३ अंक पाएको छ भने स्याङ्जाकै पुतलीबजारले ७१.५, नवलपुरको देवचुली नपाले ७१.४, तनहुँको भानु नपाले पनि ७१.४ नवलपुरको गैँडाकोटले ७०.९ र गोरखाको बारपाक सुलिकोट गापाले ७०.८ नम्बर पाएका छन् । गण्डकी प्रदेशका १४ स्थानीय तहले ७० अंक कटाउँदा तनहँको भानु नपा मात्र समेटिएको छ ।
तनहुँ जिल्लका १० स्थानीय निकाय मध्ये नगर पालका तर्फ सबैभन्दा धेरै अंक पाउने भानु हो भने सबैभन्दा कम अंक शुक्लागण्डकीको ५२.४ रहेको छ । सदरमुकाम रहेको व्यास नपाको ५६.४ तथा भीमादको ६८.४ अंक रहेको छ । यसैगरी गाउँपालिका तर्फ सबैभन्दा धेरै म्याग्देले सबैभन्दा धेरै ५९.५ अंक पाएको छ भने सबैभन्दा थारै घिरिङले ४३.२ अंक पाएको छ । अन्य पालिकामा ऋषिङले ५६.३, आँबुखैरेनीले ५६, देवघाटले ५०.७ तथा बन्दिपुरले ४९.८ अंक पाएका छन् ।