वर्षायाम सुरु भएसंगै बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित भएका समाचारहरु आएका छन् । कयौंको घर बाढीले बगाएको छ । कयौं परिवारले सदस्य गुमाएका छन् । कैयौंको गरीखाने खेतबारी बाढीले बगाएर अब के खाने भन्ने चिन्ता थपिएको छ । सडकहरु पहिरोका कारण वा पुल बगाएका कारण अवरुद्ध हुन पुगेका छन् । विरामी पर्दा अस्पताल लैजाने बाटो बन्द छ । खाद्यान्न लिन बजार जाने बाटो छैन । आफुले उत्पादन गरेका दूध तथा फलफुल र तरकारी बजारसम्म लगेर बेच्ने अनि त्यसबाट आएको पैसाले नुन तेलको जोहो गर्नेहरुको विचल्ली बाढी र पहिरोले गराएको छ ।
कोरोनाका कारण अस्तव्यस्त बनेको नागरिक जीवन बाढी पहिरोका कारण थप अस्तव्यस्त बन्ने देखिएको छ । हिउँदभर चुपचाप बस्ने र बर्षा सुरु भएपछि मात्रै विपद् व्यवस्थापनमा केही गरे जस्तो गर्ने वा त्यतातर्फ ध्यान दिने आम प्रवृतिले नागरिकलाई संधै सास्तीमात्र भएको छ । पहिले विपद्मा उद्धार गर्ने केन्द्रको मुख ताक्नु पर्ने अवस्था थियो तर अब त गाउँ गाउँमा सिंह दरबार आएको भनिएको छ । तर नागरिकले विपद्का बेला गाउँमा सिहदरबार आएको अनुभूत गर्न पाएका छैनन् ।
यतिबेला स्थानीय सरकारहरुको मुख्य काम भनेको बाढी पहिरो पिडित आफ्ना नागरिकलाई सक्दो सहयोग गर्ने हो । उनीहरुलाई खाना, नाना र छानाको व्यवस्था गर्नु स्थानीय सरकारको दायित्व हो । यसैगरी बाढी तथा पहिरोका कारण अबरुद्ध बनेका बाटो खोल्ने तथा बगाएका पुल पुलेसाको बैकल्पिक व्यवस्था गरी नागरिक जीवनलाई सामान्य तर्फ लैजाने काम तदारुकताका साथ गर्नु पनि स्थानीय सरकारका प्राथमिकतामा पर्नुपर्ने काम हुन् ।
सरकार भनेको नागरिकको अभिभावक हो र यतिबेला स्थानीय सरकारहरुले आमनागरिकलाई अभिभावक भएको अनुभूति दिलाउनु परेको छ । नागरिक जीवन रहे मात्रै हामीले बनाउने बाटो, पुल आदिको अर्थ र महत्व रहन्छ । त्यसैले नागरिक जीवन बचाउने र उनीहरुको जीवन सहज बनाउने तर्फ सबै स्थानीय सरकारहरुको ध्यान जाओस् । कसैले अभिभावक विहिन भएको अनुभूति गर्न नपरोस्
पिडितलाई राहत र विपद् व्यवस्थापनमा ध्यान देऊ
previous post