उच्च शिक्षाको ढोका भनिने यस वर्षको एसइइ परीक्षा आइतबारबाट प्रारम्भ हुँदैछ । यस वर्ष पनि लाखौं विद्यार्थीहरु यो परीक्षमा सहभागी हुँदैछन् । साढे आठ दशक आगाडिबाट प्रारम्भ भएको नेपालको एसएलसी परीक्षा केही वर्ष अघिदेखि एसइइका नामबाट सञ्चालन हुँदै आएको हो । केही वर्ष अगाडिसम्म पनि फलामे ढोकाका नामले चिनिने यो परीक्षाका विषयमा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति सबैमा चासो रहन्छ ।
यो परीक्षमा राम्रो अंक ल्याउन सक्दा कक्षा ११ र पछिल्ला कक्षाहरु आफुले चाहेको विषयमा अध्ययन गर्न पाइने भएकाले विद्यार्थीका लागि यो परीक्षा महत्वपूर्ण छ भने अभिभावकले यसलाई आफ्नो प्रतिष्ठाको विषय पनि बनाउँदछन् । सबै विद्यार्थीको ध्यान यतिबेला कसरी ए प्लस वा ए श्रेणी प्राप्त गर्ने भन्ने छ भने विद्यालयहरु पनि धेरै भन्दा धेरै विद्यार्थीलाई उच्चशिक्षा अध्ययनको बाटो सहज गराउन कसरी सकिन्छ भनेर लागि परेको देखिन्छ । उता अभिभावक आफ्नो सन्तानले राम्रो अंक ल्याएर राम्रो विषय अध्ययन गर्ने अवसर पाए हुन्थ्यो भनेर कामना गरिरहेका छन् । तीन घण्टे पेपर पेन्सिल टेष्टका आधारमा श्रेणी निर्धारण हुने भएकाले पनि यतिबेला विद्यार्थीहरु जसरी पनि त्यो तीन घण्टाको परिक्षणमा आफुलाई सफल देखाउनु पर्ने मनोवैज्ञानिक दवावमा छन् । यद्यपि केहीवर्ष आगाडिसम्मको एसएलसीको हाउगुजी नरहेकाले अब विद्यार्थीहरुमा धेरै तनाव भने छैन ।
तनहुँको कुरा गर्दा पृथ्वीराजमार्ग आसपासका विद्यालयमा मात्र परीक्षा केन्द्र निर्धारण गर्ने कुराले विद्यार्थी र अभिभावकहरुले असुविधा महसुस गरेका छन् । द्वन्द्वकालमा सहर झारिएका परीक्षा केन्द्रहरु अझै गाउँ जान सकेका छैनन् वा भनौ गाउँगाउँमा परीक्षा केन्द्र पु¥याएर ग्रामिण वस्तीका विद्यार्थीलाई सजिलो बनाउने तर्फ सम्वन्धित पक्षको ध्यान पुग्न सकेको छैन । विद्यार्थीहरुलाई पाएक पर्ने नपर्ने अध्ययन नगरी वा थाहा पाएर पनि उनीहरुको सुविधाको ख्याल नगरी राजनीतिक दवावमा परीक्षा केन्द्र तोक्न पर्ने अवस्थाले विद्यार्थीहरुलाई अवश्य तनाव थपिएको छ । परीक्षा मर्यादित र व्यवस्थित हुनुपर्छ भन्ने कुरामा कसैको विमती रहने कुरा भएन तर त्यसको आड लिएर ग्रामिण क्षेत्रका विद्यार्थीलाई परेको असुविधालाई वेवास्था गर्नु पनि जायज हुँदैन । यता तर्फ सम्वन्धित पक्षले ध्यान दिनु जरुरी छ ।
बालबालिकाको सूदुर भविष्यसंग जोडिएको विषयलाई गम्भिरता पूर्वक लिइदिन सम्वन्धित सबैमा हाम्रो विशेष आग्रह छ । एसइइ परीक्षामा सहभागि हुँदै गरेका परीक्षर्थीहरुलाई पनि मर्यादित ढंगले, संयमपूर्वक परीक्षामा सहभागि हुन हाम्रो आग्रह साथै परीक्षामा मनोकाँक्षित सफलताको शुभकामना ।