आलेखको शुरुवात दुई दिन अगााडी अर्थात् यहि गएको २१ गतेको एउटा घटनाबाट गर्न चाहन्छु । किनभने यो आलेखको पृष्ठभूमी त्यहि घटनासँग सम्बन्धित छ । आज पङ्तिकारले उठान गर्न चाहेको विषयवस्तु नौलो विषय होइन । पेशाले शिक्षक भएको नाताले नेपालको शिक्षा पद्दति शैक्षिक स्थिति आदिको बारेमा बेलाबेलामा, सहकर्मी साथीहरु एवं अन्य बुद्धिजीवी वर्गसँग छलफल र विचार विमर्श पनि भईरहन्छ । आज मैले उठान गर्न चाहिरहेको विषयवस्तुको बारेमा पनि बेलाबेलामा गफगाफ भईरहन्छ । कहिलेकसो यस्तो विषयवस्तुको बारेमा मस्तिष्क मन्थन गर्ने प्रयास गरेको हुन्छु । यस्तै विषयवस्तुको बारेमा यो भन्दा पहिले पनि कलम चलाउने प्रयास गरिसकेको छु । आज फेरी पनि दुईचार कुरा लेख्ने प्रयास गर्दैछु । आज मैले उठान गर्न चाहेको प्रसंग नेपालको शिक्षा पद्दतिको बारेमा हो ।
आलेखलाई थप अगाडी बढाउनु भन्दा पहिले २१ गतेको घटना यहाँ प्रस्तुत गर्न चाहन्छु । सकहर्मी रमेश सर र म विद्यालयको सूचना अद्यावधिक गर्ने सम्बन्धि नगरपालिकाले आयोजना गरेको एउटा प्रशिक्षण कार्यक्रममा सहभागी भएका थियौं । कार्यक्रम पश्चात् दुवै जनाको सल्लाह अनुसार खाजा खाने सहमति भएकोले मःम पसलतिर
लाग्यौं । रेष्टुरेन्टको बाहिरि भागमा अरुनै ग्राहकले भरिएको हुँदा भित्रि क्याविनतर्फ लाग्यौं । क्याविनको एउटा टेबलमा अन्दाजी २१, २२ वर्षकी दुईजना बहिनिहरु रहेछन् र अर्को खाली । हामी दुईभाई खाली टेबलमा बस्यौं र मःम अर्डर ग¥यौं । ती बहिनिहरुले चाउमिन अर्डर गरेका रहेछन् । एकैछिनमा उनिहरुको चाउमिन आईपुग्यो । उनिहरु खानमा व्यस्त भए । तलत्तै हाम्रो मःम पनि आइपुग्यो । हामी पनि खाजा खान तर्फ लाग्यौं । यहाँसम्म सबैकुरा एकदमै सामान्य थियो । तर खाजा सकेर उठ्ने बेलामा एउटी बहिनिको फोन संवादले आजको विषयवस्तुको बारेमा सोच्न बाध्य बनायो । फोन सायद उनको साथीले गरेको हुनुपर्छ, उनि भन्दै थिइन् जर्मनीमा वर्किङ भिसाको लागि एप्लाई गर्दै छु । ५, ७ लाख जति लाग्छ रे । फोनमा बोल्दै बोल्दै उनि बाहिरिइन् । एकछिन पछि अर्कि बहिनि पनि गइन् । उनको फोन संवादले मेरो मस्तिष्कमा झकझकिएको विषय चाहिं के हो भनेः जर्मनीमा वर्किङ भिसाको लागि एप्लाई गर्न मिल्छ मिल्दैन, मिले प्रक्रिया के छ यसबारेमा पङ्तिकारलाई केहि थाहा छैन, खर्च ५,७ लाखले पुग्ने हो या बढि लाग्छ त्यो पनि पङ्तिकारलाई थाहा छैन तर २१, २२ वर्षकी भर्खरकी एउटी युवतीलाई पैसा कमाउन कलिलै उमेरमा विदेशीनु पर्ने उनको बाध्यता होला कि रहर ? उनको बोलाई सुन्दा ५,७ लाखको बन्दोवस्त गर्नु उनको लागि गाह्रो होइन भन्ने भान पथ्र्यौ । त्यति पैसा लगानी गरेर नेपालमै केहि गर्न सकिन्छ कि भनेर उनले सोचिनन् या चाहिनन् ? नेपालमै अवसर र सम्भावना छ कि छैन भनेर उनले बुझ्ने प्रयास गरिन् होला ? मःम पसलमा भेटिएकी ति बहिनि एउटा प्रतिनिधि पात्र मात्र हुन् । अक्सर हर नेपाली युवा युवतीको चाहना हुन्छ विदेश जाने । मिलेसम्म विद्यार्थी भिसामा नभए कामदार भिसामै सहि, विदेश जाने टन्न पैसा कमाउने । के नेपाल सरकारले वर्षेनी शिक्षामा खर्बौं रुपैयाँ लगानी गरेको यस्तै जनशक्ति उत्पादन गर्नको लागि हो त ? जसको एकमात्र सपना भनेको विदेश जाने पैसा कमाउने होस् । खाली विदेश जाने पैसा कमाउने सपना मात्रै देख्ने जनशक्ति उत्पादन गर्ने नेपालको शिक्षा प्रणालीमा नै समस्या त छैन कतै ? बहस आवश्यक छ ।
पङ्तिकार विगत एक दशक देखि शिक्षण पेसामा संलग्न छ । एक दशकको विद्यालय शिक्षण अनुभवले पङ्तिकारलाई के महशुस गराएको छ भने नेपालको शिक्षा प्रणाली उत्पादन मुखी हुन सकेको छैन । आयआर्जन गर्न सक्ने व्यवहारीक ज्ञान र सिपमा नेपालको शिक्षा प्रणालीले जोड दिन सकेको छैन । नेपालको शिक्षा प्रणालीले वर्षेनी हजारौं त्यस्ता जनशक्तिहरु मात्र उत्पादन गरिरहेको छ जसको हातमा शैक्षिक योग्यताको सर्टिफिकेट त हुन्छ तर आय आर्जन गर्नको लागि व्यवहारीक ज्ञान, सीप र क्षमता हुँदेन । सरकारी सेवा वा धेरथोर पारिश्रमिकमा कतै निजी संस्थातिर अल्झिन सके अलग कुरा नत्र ऊ पूर्ण रुपमा बेरोजगार हुन्छ । किनभने धेरै थोरै जति सकिन्छ आफ्नै लगानीमा केहि गर्नुपर्छ, गर्न सकिन्छ भन्ने ज्ञान उसको हातमा भएको शैक्षिक योग्यताको सर्टिफिकेटले दिएको हुँदैन । त्यसैले विदेशीनु भन्दा बाहेक अर्को विकल्प ऊ सँग हुँदैन । पढेर पनि अन्तिममा जाने विदेश नै हो भन्ने महशुस गर्ने युवापुस्ताहरु माथिको घटनाकी बहिनि जस्तै कलिलैमा विदेशीने सोचाई बनाउँछन् । बेकारमा पढेर ५,७ वर्ष किन खेर फाल्नु राम्रै ठाउँमा परियो भने त ५,७ वर्षमा सेटल नै भईसकिन्छ । अहिलेको अधिकांश युवा पुस्ताहरुको सोचाई सम्भवत यस्तै हुन्छ ।
मेरो आफ्नो व्यक्तिगत विचार ठीक होला या सायद नहोला पनि तर पङ्तिकारलाई के लाग्छ भने नेपालको शिक्षा प्रणालीले कृषिमा जोड दिन सकेको छैन । युवा पुस्तालाई कृषितर्फ आकर्षित गर्न सकेको छैन । कृषिको नाममा खाली हामीले नेपाल कृषिप्रधान देश हो भन्ने भन्दा बाहेक अरु केहि पनि सिकाउन सकेका छैनौं । हामी विद्यालयमा विद्यार्थीलाई नेपाल कृषिप्रधान देश हो भनेर त रटाउँछौं तर विडम्बना खबौंको गुन्द्रुक चीनबाट आयात गछौं । करोडौंको त दाँत कोट्टाउने सिन्का (टुथपिक) मात्र आयात गछौं हामी । चीन जहाँ हिन्दू धर्मालम्बीहरुको संख्या शुन्यबराबर छ त्यहाँबाट हामी जनै आयात गछौं । भारतबाट आयात गरिने खाद्यन्न फलफु्ल, तरकारी माछा मासुको त झन् कुरै नगरौं । कृषिप्रधान देशको नागरिक हामी दैनिक अपभोग गरिने हरेक कृषिजन्य वस्तुको लागि परनिर्भर छौं । तैपनि हामी नेपाल कृषिप्रधान देश हो भनेर रट लगाइरहन्छौं । कृषिको यो अथाहा सम्भावना तर्फ युवा वर्गलाई आकर्षित गर्ने, विद्यार्थी जीवन देखिनै कृषिको महत्व र कृषि तर्फ आकर्षित गराउन सक्ने हो र सरकारले राम्रोसँग बजार व्यवस्थापन गरिदिने हो भने धेरै युवापुस्ताको मस्तिष्कबाट बिदेश केबल विदेशको सोचाई हटाउन सकिन्थ्यो होला कि ? होइन भने गुन्द्रुकसम्म पनि आयात गरिखाने देश नेपाललाई कृषिप्रधान होइन रेमिट्यान्स निर्भर भनेर भन्न थाले पनि हुन्छ ।
हाम्रो शिक्षा पद्दतिमा समस्या रहेको अर्को हामीले हाम्रो बालबालिकालाई सुखी होइन खुसी रहन सिकाउनुपर्छ भनेर सिकाउँन सकेनौं । खुशी रहनुको अर्थ जे छ त्यसैमा मात्र चित्त बुझाउने, सम्पन्नता र प्रगतितर्फ सोच्दै नसोच्ने भन्ने होइन तर हरहालतमा पैसा कमाऊ, टन्न पैसा कमाए जीवन सफल भयो नत्र बेकार भयो भन्ने खालको जुन किसिमको मानसिकता हामीमा विकास भईरहेको छ त्यो चाहिं गलत छ । नेपाली उत्पादन भन्दा विदेशी ब्रान्डेड उत्पादनलमई प्राथमिकतामा राख्छौं र हाम्रो बाबुनानिहरुलाई पनि त्यहि खालको शिक्षा र संस्कार दिन्छौं । जसले गर्दा सानै देखि नेपाली उत्पादनहरुप्रति बालबालिकामा वितृष्णा जगाईरहेका छौं । बालबालिकाहरुमा नेपाली उत्पादन प्रयोग गर्नु भनेको विपन्नताको प्रतिक हो भन्ने खालको मानसिकता विकास गराईरहेका छौं । जसले गर्दा उनिहरुमा आफ्नो देश प्रतिको माया, मोह र सम्मान पनि क्रमश नजानिदो पाराले घटिरहेको हुन्छ । फलस्वरुप उनिहरुको मानसिकता नै यस्तो बन्छ कि नेपालमा केहि छैन, नेपाल बस्ने ठाउँ नै होइन, जेछ विदेशमै छ, विदेशै ठिक । आफ्नो देशलाई हामीले आफैले बनाउनुपर्छ । समस्या र चुनौती हरेक ठाउँमा हुन्छ त्यसकारण नेपालमै सम्भावनाहरुको खोजी गर्नुपर्छ भन्ने खालको सोचाई दुरदुर सम्म पनि आजको अधिकांश युवापुस्तामा पाईदैन ।
आफ्नो देशलाई माया गर्न सिकाउन नसक्ने, चुनौती र सम्भावनाहरुलाई आत्मसाथ गर्न सक्नुपर्छ भन्ने हिम्मत दिननसक्ने, पढिसकेपछि आफ्नै खुट्टामा उभिन सक्ने बनाउन नसक्ने, खाली विदेश, विदेश, विदेशको मात्र सपना देख्न सिकाउने हाम्रो शिक्षा प्रणालीमा अब त व्यापक रुपमा परिवर्तन गर्नु आवश्यक छैन र ?
परिवर्तनको आवश्यकताः नेपालको शिक्षा प्रणाली
previous post