जिम्मेवार प्राधिकरण हो वा उपभोक्ता समिति अन्योल
उम्से÷तनहुँ जिल्लाको साविक राम्जाकोट हालको घिरिङ्ग गाउँ पालिका वडा नंं. ९ उम्से १५ दिनदेखि विधूत आपूर्ति नहुँदा एक सय असी घर अन्धकारमा बसेर विजुलीको महसुल तिर्न बाध्य भएका छन् । राम्जाकोट उम्सेबाट रुकबहादुर रानाभाटले दिनुभएको जानकारी अनुसार मिटर वालालाई फोन गर्दा फोन नउठाएको, उपभोक्ता समिति पनि जिम्मेवार नभएको, कहाँ गुनासो गर्ने थाहा नपाएको बताउनु भयो ।
त्रिशक्ति सामुदायिक विद्यूत उपभोक्ता समितिका अध्यक्ष राजेश्वर ढकालसंग सम्पर्क गर्दा ११ केभि प्रसारण लाईनमा खरावी भएको कारण बत्ती नबलेको बताउँदै यो समस्या राम्रोसंग बुझेका इन्जिनियर मेघनाथ भट्टराईसंग राखेमा बुझ्न सकिने बताउनु भयो । इन्जिनियर मेघनाथ भट्टराईसंग सम्पर्क गर्दा यो सामुदायिक विद्युतिकरण अन्तरगतको सेवा हुँदा मर्मत, संरक्षण, निरिक्षण सबै उपभोक्ता समितिले गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यूतीकरण भएको हुँदा महसुलको दररेट पनि सस्तो भएको जानकारी गराउनु भयो । प्रतियुनिट पाँच रुपयाँ र न्यूनतम महशुल ८० रुपयाँ मा सेवा प्रदान भएको जानकारी गराउनु भयो ।
उपभोक्ता समितिका अध्यक्ष राजेश्वरले ढकालले उपभोक्ताहरुको असुविधाप्रति चासो देखाउँदै उम्से क्षेत्रको समस्या आफूले भरखरै बुझ्दा अब एक दुई दिनमा बत्ती बल्ने जानकारी गराउनु भयो । अध्यक्ष ढकालले उम्से क्षेत्रको विधूत लाईन जलेको कारण सेवा अवरुद्ध भएको भरखरै आफूले जानकारी पाएको हुँदा पानी परेन भने विहिबारबाट नै सो क्षेत्रमा बत्ति बल्ने जानकारी गराउनु भयो । पानी नै परेपनि एक दुई दिनमा बत्ती बाल्ने प्रतिबद्धता अध्यक्ष ढकालको थियो ।
उपभोक्ता हैरान
दमौली/विजुली कति खेर आउँछ, कति बेरका लागि आउँछ उपभोक्ताले कुनै जानकारी पाउँदैनन् । कम्प्यूटर, टिभि, फ्रिज लगायत उद्योग धन्दा सञ्चालनमा समेत अनिश्चिता रहेको विधूत आपूर्ति प्रति कुनै चासो नदेखाउने उपभोक्ता हकहित संरक्षण मञ्च वा सरोकारावालाप्रति उपभोक्ताको गुनासो रहेको छ । समस्या परेका बेला केही काम नगर्ने समिति औपचारिकता पुरा गर्नका लागि मात्र भएको उनिहरुको गुनासो छ ।