दमौली/नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले देशको आर्थिक मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रलाई उपेक्षा गरेर मुलुकको समृद्धि असम्भव रहेको बताएका छन् । तनहुँका प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरूको दमौलीमा आयोजित वृहत् भेलालाई सम्बोधन गर्दै भट्टराईले निजी क्षेत्रको सक्रिय सहभागिता बिना विकासका नाराहरू कोरा कल्पना मात्र बताएका हुन् ।

नेता भट्टराईले राज्यले सबै नागरिकलाई सरकारी सेवामा मात्रै आबद्ध गराउन नसक्ने यथार्थलाई स्वीकार्दै रोजगारीको मुख्य स्रोत नै निजी क्षेत्र भएको उल्लेख गरे । “हामीले सत्य बोल्नुपर्छ, सबैलाई सरकारी जागिर खुवाउन सम्भव छैन । आज वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीले पनि अन्ततः उतैको निजी क्षेत्रकै पसिना बगाएर आर्जन गरिरहेका छन्” भट्टराइले भने, “हाम्रो अबको मुख्य लक्ष्य भनेको वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई स्वदेशमै रोक्न सक्ने गरी उद्योगधन्दा र व्यवसाय फस्टाउने वातावरण निर्माण गर्नु हो ।
भट्टराईले नेपाली कांग्रेसले वि.सं. २०४८ सालदेखि अवलम्बन गरेको खुला बजार र उदार अर्थनीतिकै कारण नेपालमा निजी लगानीको जग बसेको स्मरण गरे । उनले थपे, “कांग्रेस निजी क्षेत्रको अभिभावक हो । नीतिगत अप्ठ्यारा सुल्झाउने र लगानीकर्ताको आत्मबल बढाउने काममा कांग्रेस सधैँ तपाईँहरूको साथमा रहन्छ । तपाईँहरू उत्पादन र रोजगारी बढाउनुहोस्, सुरक्षा र सहजीकरणको ग्यारेन्टी नेपाली कांग्रेसले लिन्छ ।’’
भेलामा उद्योगी व्यवसायीहरूले विद्यमान आर्थिक मन्दी, चर्को ब्याजदर र प्रशासनिक झमेलाका बारेमा उम्मेदवार भट्टराईको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा भट्टराईले आफु निर्वाचित भएपछि संसद र सरकारमा उद्योगीका समस्यालाई प्राथमिकताका साथ उठाउने र तनहुँलाई ‘लगानीमैत्री जिल्ला’ बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
