दमौली/व्यास न.पा. वडा नं ४ भोर्लेटारचोकस्थित रत्नहरि मेमोरियल अस्पतालमा शनिवार निःशुल्क पाठेघर क्यान्सर (भीआईए) परीक्षण सम्पन्न भएको छ ।
इनर व्हिल क्लब अफ दमौलीको सहकार्यमा आयोजित उक्त शिविरमा डा. दिनेश शर्मा र डा. बबिता खड्काको नेतृत्वमा रहेको टोलीले महिलाहरूको स्वास्थ्य परीक्षणसँगै महिलाहरूलाई परामर्श पनि प्रदान गरिएको
थियो ।
क्लबकी अध्यक्ष नारायणी मल्लको अध्यक्षतामा सम्पन्न उक्त शिविरको उद्घाटनगर्दै व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलाको स्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने बताउँदै आयोजकहरूलाई धन्यवाद दिइन् । साथै कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठ, चिकित्सक संघ तनहुँका अध्यक्ष डा. रामकुमार श्रेष्ठ, क्लबकी केन्दीय सदस्य निर्मला मल्ल, क्लबकी उपाध्यक्ष सिर्जना लामिछाने, सचिव सविता श्रेष्ठ लगायतले बोलेका थिए ।
शिविरमा १ सय ५० जना महिलाको पाठेघर क्यान्सर (भीआईए) परीक्षण गरिएको थियो । जस मध्ये ५ जनामा महिलामा पाठेघर क्यान्सरको प्राथमिक जोखिम देखिएकाले उनीहरूलाई थप उपचारका लागि सिफारिस गरिएको अस्पतालका व्यवस्थापक डा. लिला बहादुर थापाले जानकारी दिए ।