प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकाकारका काम कारवाहीका कारण नेपालीको आत्मविश्वास र मनोवल बढेको बताएका छन् ।
नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना कहरका बीच सरकारले थुप्रै महत्वपूर्ण काम गरेको र सोही कामका कारण आम नेपालीको आत्मविश्वास र मनोवल बढेको उल्लेख गरेका हुन् । उनको भनाई थियो, लिपुलेक, लिम्पियाधुरा तथा कालापानी समेटिएको राजनैतिक र प्रशासनिक नक्सा प्रकाशन गर्ने कामले नेपालीको मनोवल बढेको हो र यसले हामीलाई नेपाली हुनुमा गर्व गर्ने बनाएको छ ।
प्रधानमन्त्रीले वर्ष २०७७ मा सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै पृथकतावादको अन्त्यका साथै हत्या हिंसाको राजनीति गर्नेहरु पनि शान्तिपूर्ण राजनीतिको मुल धारमा ल्याउन आफु सफल भएको उल्लेख गरे । सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या बढेको कुरालाई समेत आफ्नो सरकारको उपलब्धीको रुपमा व्याख्या गरेका ओलीले मेलम्चीको पानी काठमाण्डौंका जनताका घर–घरमा वितरण गर्न सक्नु यो वर्षको महत्वपूर्ण उपलब्धी भएको सम्बोधनका क्रममा बताए ।
झण्डै ४० मिनेट लामो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आगामी वर्ष सडक बालक र सडक मानव विहिन बनाउने बताएका थिए । उनले एमसीसीलाई संसद्मा निर्णयार्थ प्रस्तुत नगरिएकोमा असन्तुष्टि पोख्दै भने सरकारले टेबल गरेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत नगरेर संविधान नमानिरहेको अवस्था सरकारले झेलिरहेको छ । सभामुख र प्रतिपक्षीहरुको तिखो टिप्पणी गरेका प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा राष्ट्रिय एकता आजको आवश्यकता भएको उल्लेख गर्दै आपसमा वैमनश्यता र घृणा नराख्न सुझाए । कोरोनाको दोस्रो लहर सुरु भएकोले आवश्यक सावधानी अपनाएर लकडाउन गर्नुपर्ने अवस्था आउन नदिन उनले आग्रह गरे ।
लुकाउँदै कमजोरी
प्रधानमन्त्रीको सम्बोधन सुनेका नागरिकले भने उनका कुरामा विश्वास गर्न सकेनन् । सम्बोधनको प्रारम्भमै कोभिडका बेला सरकारले जनताको जीवनलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गरेपछि कमजोरी लुकाएको भन्दै आमनागरिकले थप सुन्न चाहेनन् । कोभिडले रोजगारी खोसिएर भारतबाट देश फर्कन चाहेका नागरिकले सिमामा पाएको दुःख र ज्यान जोखिममा राखेर महाकाली पौडेर आएका आफ्ना नागरिकलाई नाङ्गै सहर घुमाएको देखे भोगेका उनीहरुलाई प्रधानमन्त्रीका अरु कुरा पनि विश्वासनिय लागेनन् ।
हप्तौ पैदल हिँडेर घर फर्केका नागरिकको पिडामा नुन चुक छर्दै नाटकको संज्ञा दिने ओलीको जनताका जीवनलाई प्राथमिकतामा राखेर काम गरेको भन्न भनाईलाई पत्याउने ठाउँ पनि थिएन । कोभिड विरुद्धको औषधी खरिदमा मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको भन्दै कारवाहीका लागि सिफारिस भएको थाहा पाएका नागरिकले नागरिकको जीवनलाई प्राथमिकतामा राखेर काम गरेको भन्ने प्रधानमन्त्रीको कथन भद्दा मजाक बाहेक केही लागेन । पृथकतावादको अन्त्य भएको घोषणा प्रधानमन्त्रीले गरेको भएपनि सीके राउतको जनमत पार्टीले स्वतन्त्र मधेशको नारा लगाउन नछाडेको देखेका नागरिकलाई पनि प्रधानमन्त्रीका उपलब्धी फेहरिस्त विश्वसनिय लागेन ।