आजको दुई दिन पछि वर्ष २०८१ को प्रारम्भ हुँदैछ । नयाँ वर्षको स्वागत गर्न सबै नेपाली तम्तयार भएर बसेका छन् । कोही सपरिवार घुम्ने योजनामा छन् त कोही साथीहरु जमघट हुने, शुभ कामना साटासाट गर्ने तथा खानपान गरेर रमाउने योजनामा छन् । बर्ष २०८१ को स्वागत गरे तथा सबै नेपालीको समुन्नति होस भन्नै शुभाकांक्षा ब्यक्त गर्दैगर्दा वर्ष २०८० लाई फर्केर हेरे उपयुक्त हुनेछ । वर्ष २०८१ हाम्रा लागि कस्तो हुने वा बनाउने भन्न अघिल्ला वर्षहरुमा के भए ? कसरी भए ? परिणाम के रह्यो भने तथ्य केलाउनु र त्यसबाट सिकेर योजना वनाउनु उपयुक्त हुन्छ ।
वर्ष २०८० राजनीतक आर्थिक सामाजिक लगाएत हिसाबले आशा लाग्दो रहेन । राजनीतिको नेतृत्व चरम अवसवादी र सत्तालोलुप हुँदा केन्द्रीय देखि प्रदेश सरकारहरु अत्यन्त अस्थिर भए । प्रधानमन्त्रीको कुर्सीमा वस्ने मान्छेले आफ्नो अस्थिर स्वभाव, अवसरवादी चरित्र र सत्तालोलुपतालाई गतिशीलताको लेप लगाउँदा अन्य क्षेत्र समेत नराम्ररी प्रभावित बने । जसरी पनि सत्ताप्राप्त गर्ने प्रमुख प्रतिपक्षको अर्को तृष्णा अस्थिरतामा सहयोगी बन्यो । र केन्द्रीय देखि प्रदेश सरकार समेत परिवर्तन भए । वर्ष नपुग्दै हुने सत्ता परिवर्तनले अस्थिरतामा रमाउने राजनीतिज्ञ देखि अन्य स्वदेशी तथा विदेशी शक्ति र ब्यापारीलाई लाभ भयो होला तर आमनेपाली व्यथित बनें । आर्थिक क्षेत्र तहसनहस भयो । सरकार विकास खर्चगर्ने त कुरै भएन साधारण खर्च समेत गर्न नसक्ने अवस्थाबाट गुज्रियो । आफ्नालागि यो कार्यकाल अन्तिम अवसर भएको बताउने प्रधानमन्त्रीले सुशासनको पक्षमा केही नयाँ गर्लान भन्ने आमविश्वास टुट्यो । जागिरे अनि अस्थिर मानसिकताका संघ वा प्रदेशका मन्त्रीहरुले उल्लेख्य काम गर्न सकेनन् । निर्मला पन्तका हत्यारा अझै बाहिरै छन् । सुन काण्डका नाइके देखि नक्कली शरणार्थी काण्ड फासफुस भए । नागरिकको आशामा पानी हाल्ने काममा सरकार ब्यस्त रहयो । समग्रमा भन्नुपर्दा आशाको सञ्चार गर्ने काम कहिँ कतै भएनन् ।
वर्ष २०८१ मा यस्तो रहोस् – सहकारीका नाममा अर्बौं ठग्नेहरू कारवाहीको दायरामा आउन । गिरीबन्धु टि स्टेट काण्ड, यती र ओम्नीकाण्ड, टेरामक्स काण्ड लगाएतका विषयमा आवश्यक कारवाही होस् । आर्थिक सामाजिक लगाएत क्षेत्रमा व्याप्त निराशा समाप्त
होस् । वर्ष २०८१ को सबैमा हाम्रो शुभकामना ।
नयाँ वर्षको शुभकामना-सम्पादकीय
previous post