पृष्ठभूमिः
भदौ १, २०७५ बाट लागू भएको नयाँ कानूनले सुविधाभार भन्ने शब्दको प्रयोग गरी फरक खालको अधिकारको व्यवस्था गरेको छ । मेरो जग्गाबाट बाटो निकास दिन्न भन्न नपाईने अवस्थालाई यो कानूनी व्यवस्थाले संरक्षण गरेको छ । अर्काको हक भोगको जग्गा अर्को पक्षले भोगचलन पाउने अवस्थालाई सुविधाभारले संरक्षण गरेको छ ।
सुविधाभार कानूनः
कसैको हक, स्वामित्व वा भोग चलनमा रहेको कुनै अचल सम्पत्ति वा त्यसको कुनै अंश अर्को सम्पत्तिको धनीले यस परिच्छेद बमोजिम भोग चलन वा प्रयोग गर्न पाउने भएमा सुविधाभारको व्यवस्था भएको मानिनेछ । सुविधाभारको व्यवस्था भएकोमा सम्बन्धित अचल सम्पत्तिको धनीले सुविधाभारको व्यवस्था बमोजिम आफ्नो अचल सम्पत्ति अर्को व्यक्तिलाई भोग चलन वा प्रयोग गर्न दिनु पर्नेछ भनेर बाध्यात्मक व्यवस्था कानूनले गरेको छ ।
हक हस्तान्तरणले असर नपर्नेः
सुविधाभार प्रदान गरीराखेको अचल सम्पत्तिको धनीले आफ्नो हक र स्वामित्वमा रहेको त्यस्तो सम्पत्ति पुरै वा केही अंश कसैलाई कुनै व्यवहोराले हस्तान्तरण गरेमा पनि त्यस्तो सम्पत्ती उपर रहेको सुविधाभारको व्यवस्था कायमै रहनेछ । बाटो, निकास, पानीघाट को रुपमा प्रयोग भै आएको अर्काको नाउँको जग्गा खरिद गरे पनि बाटो निकास वा उपयोगमा बाधा गर्न नपाईने गरी कानूनले उपभोक्तालाई सुविधाभार प्रदान गरेको छ ।
आफ्नो जग्गा सार्वजनिक प्रयोगमा दिनुपर्नेः
कुनै जग्गामा कसैको हक, स्वामित्व वा भोगचलन भएपनि परापूर्वदेखि सार्वजनिक वा सामुदायिक रुपमा हिँडी आएको बाटो, पशु निकाल्ने निकास, बस्तुभाउ चराउने चौर, कूल नहर, पानीघाट, पोखरी सार्वजनिक सडक, ढल घोडेटो वा मूल बाटो, पाटी पौवा, अन्त्यष्टिस्थल, मठ मन्दिर, गुम्बा, चैत्य, मस्जिद, इदगाह, कर्वला, कब्रिस्तान वा गिर्जाघर सामुदायिक विद्यालय, अस्पताल, वा त्यस्तै प्रकारका सार्वजनिक स्थल जुन प्रयोजनको लागि राखिएको हो सोही बमोजिम सम्बन्धित व्यक्तिलाई प्रयोग गर्न दिनु पर्नेछ ।
बाटोको सुविधा पाउनेः
पहिले बाटोको निकास भएको घर जग्गा पछि विपद परी बाटो विनाश भएमा त्यस्तो घर जग्गामा आउन जानको लागि पहिलेदेखि बाटो प्रयोग गरिरहेको व्यक्तिले सार्वजनिक मार्गसम्म पुग्न दुवै पक्षको अधिक हित हुने गरी मनासिब बाटोको सुविधाभार पाउनेछ ।
आधारभूत सेवा विस्तारः
कुनै व्यक्तिको घरमा ढल निकास, खानेपानी, विद्यूत सेवा ग्याँस, टेलिफोन जस्ता आधारभूत सेवा उपलब्ध गराउन निजको आफ्नै जग्गाबाट सम्भव नहुने भएमा सँधियारको जग्गाबाट सुविधाभार पाउनेछ ।
निष्कर्षः
सुविधाभारको कानून शब्दमा नयाँ भएतापनि हामीले प्रयोग र उपभोग गर्दै आएको अधिकार हो । यद्यपी नयाँ परिवेश अनुसार सुविधाभारको व्यवस्था हुँदा सेवाग्राही, आवासीय उपभोक्ता, बटुवा समेतका धेरैलाई अधिकारको सुरक्षणको अनुभूति भएको छ ।