रमेश पोखरेल
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा आफुले नेपालको खोसिएको भूमि समेटेर नक्सा प्रकाशित गरेका कारण आफुलाई पदबाट हटाउन लागिएको बताए ।
मदन भण्डारीको ६९ औ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले ५८ वर्ष देखि खोसिएको भूमिको नक्सा बनाएका कारण आफुलाई देशकै नेताहरु र भारत मिलेर पदबाट हटाउने प्रयत्न गरेको उल्लेख गरेका हुन् । उनले भने यस्तो दुस्साहसिक काम गर्ने ओलीलाई तुरुन्तै हटाउनु पर्छ भनेर लागि परेका छन् । उनको भनाइ थियो, भारतीय सञ्चार माध्यम, काठमाण्डौका विभिन्न होटलमा भएका छलफल तथा दुतावासमा भएका कुराकानीले त्यहि बताउँछ । उनले भारत परिवेष्ठित हुनबाट जोगाए बापत अघिल्लो पटक प्रधानमन्त्रीको कुर्सी त्याग्नु परेको भन्दै देशको नक्सा छाप्दा प्रधानमन्त्रीको पद जाने कमजोर राष्ट्रियता नेपालको नभएकाले आफुलाई हटाउन खोज्नेहरु नहतारिए हुने समेत बताए । उनले सम्बोधनको अधिकांश समय मदन भण्डारीको योगदानको चर्चामा भन्दा आफ्नो कामको चर्चामा खर्चिएका थिए । ओलीको भाषण सुन्दा यस्तो लाग्थ्यो, नक्सा प्रकाशित गर्ने काम उनी एक्लैले गरेका हुन् । त्यसमा आफ्नो दलमात्र होइन अन्य कुनै दल वा आम नागरिकको कुनै साथ र सहयोग अनि समर्थन थिएन ।
राजनैतिक विश्लेषकहरु भने ओलीको कथनसंग सहमत छैनन् । उनीहरुका अनुसार ओलीले आफ्नो चौतर्फि असफलताको ढाकछोप गर्न हटाउन खोजिएको भन्ने पुरानो फार्मूला प्रयोग गरेका हुन् । वाम विश्लेषक हरि रोका प्रम ओलीको भनाइलाई आकाशमा चिल आएर चल्ला लान लाग्यो भनेर हल्ला गर्ने र आफुले भूँईबाट चल्ला टिपेर लाने स्यालको जस्तो संज्ञा दिन्छन् । उनका भनाइमा आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, वैदेशिक लगाएत सम्पूण क्षेत्रका आफ्ना असफलतालाई ढाक्न ओलीले यसो भनेका हुन् । रोका भन्छन्, ओलीको भनाइले सार्वभौम संसदको मानमर्दन गरेको छ । किनभने प्रधानमन्त्री राख्ने वा हटाउने भन्ने अधिकार अरु कसैलाई नभएर संसद र त्यसका सदस्यलाई हुन्छ ।
वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रधानमन्त्रीको कथन मर्यादित व्य ि क्तको अमर्यादित अभिव्यक्ति भन्ने लागेको छ । यदि प्रधानमन्त्रीलाई सरकार विरुद्ध भारतले षडयन्त्र गरेको भन्ने लागेको भए संसद चलिरहेका बेला नागरिकका प्रतिनिधिसंग गएर भन्नु पर्ने तथा प्रमाणका आधारमा भारतीय राजदुतलाई बोलाएर सोधपुछ गर्नुपर्ने घिमिरेको भनाई छ । एउटा पार्टीको कार्यक्रममा गएर भन्नु भन्दा जनप्रतिनिधिको माझमा गएर यस्ता कुरा गरेको भए प्रधानमन्त्री र समग्र देशको विश्वसनियता रहने घिमिरेको बुझाई छ । अर्का राजनैतिक विश्लेषक पुरञ्जन आचार्य लिपुलेक, लिम्पियाधूरा तथा कालापानीको भूमि फिर्ता ल्याउने कुरा ओलीकै कारण असम्भव हुन थालको बताउँछन् । अहिले सरकारको फेरवदल गर्ने क्षमता नेकपासंग मात्र भएको र प्रम ओलीको भनाइले नेकपाका सबै साँसदहरु अरुको इशारामा चल्ने भएको भन्ने अर्थ लाग्ने आचार्यको बुझाइ छ ।
नेकपा सचिवालय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक देव गुरुङ्ग सबै तीन करोड नेपाली, सम्पूर्ण राजनैतिक दलको सहयोगमा हाम्रो खोसिएको भूमिको नक्सा प्रकाशित भएको भन्दै कसैको एकल प्रयास वा साहसमा यो काम नभएको बताउँछन् । गुरुङ्गका अनुसार कि त प्रधानमन्त्रीले भारतीय राजदुतलाई बोलाएर सोधपुछ गर्नुपर्छ नभए आत्मालोचना गर्नुपर्छ । जिम्मेबार पदमा बसेको मान्छेले अनुमानका भरमा बोल्न नहुने गुरुङ्गको कथन छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रम ओलीको भनाइमा प्रतिक्रिया जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटर मार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री बनाउन र हटाउन नेकपासंग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासंग छ कि छैन भनेर प्रश्न गरेका छन् । शर्माले अगाडि भनेका छन्, छ भने त्यसको प्रयोग गर्ने वा नगर्ने जिम्मेबार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन ? यो विषयमा नेकपाले आम नागरिकलाई स्पष्ट पार्नु जरुरी रहेको भन्दै शर्माले पारित नक्सा प्रधानमन्त्रीले दिएको व्यक्तिगत अटोग्राफ वा शासकिय अयोग्यता ढाक्ने पछ्यौरी दुवै नभएको उल्लेख गरेका छन् । शर्माको विचारमा सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनैतिक पहलको च्याप्टर क्लोज गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रधानमन्त्री ओलीको प्रवृत्ति राजनैतिक वा कुटनैतिक कुनैपनि होइन् ।
विश्लेषकहरुका भनाइमा आफ्नो साहसका कारण नभई नेपाली जनताको दवावका कारण ओली नक्सा प्रकाशित गर्न राजी भएका हुन् । गत कार्तिकमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनैतिक नक्सा प्रकाशित गरेपछि नेपालले पनि आफ्नो भूभाग समेटेर नक्सा प्रकाशित गर्नुपर्छ भन्नेहरुलाई कागजको नक्सा प्रकाशित गर्नु कुन ठूलो कुरा हो र भनेर ओठे जवाफ फर्काउने ओलीले आफ्नै बल र साहसमा नक्सा प्रकाशित गरेका हुन भनेर हामीले कसरी पत्याउने ? आम नागरिककोे प्रश्न छ ।
नक्सा बनाउँदा हटाउन खोजियो:ओली/असफलता ढाक्ने पुरानो फर्मूला: विश्लेषक
previous post