दमौली/तनहुँको भानुनगरपालिका ४ देवीस्थान थापागाउँ अवस्थित भैरवीमन्दिरमा लगाईएको श्रीमद्देवीभागवत महायज्ञमा २१ लाख सहयोग रकम संकलन भएको छ । फागुन २ गते बाट शुरु भएको सो महायज्ञको आईतवार एक समारोहका विच समापन गरिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठले सो देवीभागवत महायज्ञको समापन गर्नुभएको हो । समापनका क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले ऐतिहासीक भैरवी मन्दिर परिसरमा महायज्ञ आयोजना गरिनुले प्रशंशनीय कार्य भएको भन्नुहुदै यस्ता कदमले मन्दिर संरक्षणमा टेवा पुग्ने बताउनु भयो । मन्दिर संरक्षण अभियानमा आफूले पनि सहयोग गर्ने बताउदै महायज्ञका वाचक बालिकाहरुको वाचनकलाले आफू प्रभावित भएको भनाई राख्नु भयो । श्रीमद् देवी भागवत महायज्ञ मुल आयोजक समिति वाह्विसे भैरवीमन्दिर को आयोजनामा भएको महायज्ञको समापन कार्यक्रममा महायज्ञ मूल समारोह समितिका संयोजक रामबहादुर अधिकारी, महायज्ञका सहसंयोजक एवं श्रीराम जानकी बालिका आश्रमका महासचिव रामेश्वर खनाल, कोषाध्यक्ष छविलाल अधिकारी , सहकोषाध्यक्ष गोवीन्द पौडेल ,महायज्ञ प्रचारप्रसार समितिका संयोजक नगेन्द्र थापा , वडा ४ का सदस्य तिला वसेल लगायतले बोल्नुभएको थियो । महायज्ञ कार्यक्रम स्थलमा नै जन्मस्थान रहनुभएको हाल भरतपुर ४ चितवन निवासी धार्मिक तथा सामाजिक व्याक्तित्व भक्त वहादुर थापा र उहाँको श्रीमती मिना थापाको प्रयासमा त्यस क्षेत्रमा देवीभागवत महायज्ञको आयोजना गरिएको हो ।

कार्यक्रममा सबैभन्दा धेरै आर्थिक सहयोग भानु ४ गोगनपुरका विष्णुमाया खत्रीले १ लाख १२ हजार १ सय ७० रकम सहयोग गर्नुभएको छ । महायज्ञको प्रमुख वाचक देवघाटधाम स्थित रामजानकी बालिका आश्रमकी चर्चित भागवतवाचक उमामहेश्वरी रहनुभएको थियो भने उपवाचकमा भने आश्रमकै शास्त्री तहमा नै अध्यनरत सुनीता बटाला , तुलसा लोककल्याणी रहनुभएको छ ।छोरीहरुले देवी भागवत वाचन गरिएको भन्दै टाढाका भक्तहरु पनि महायज्ञ परिसरमा हिड्दै आउनु भएको थियो । कार्यक्रमको आठौ दिनमा कार्यक्रम स्थल पुग्नुभएको रामजानकी बालिका आश्रमका अध्यक्ष सावित्री टन्डनले छोरीहरुले प्रवचन गर्ने यस्ता समुदायस्तरका महायज्ञले समाज रुपान्तरणमा टेवा पुगेको बताउनु भयो । यस महायज्ञले चुदी रम्घा क्षेत्रको पर्यटन प्रवद्र्धन टेवा पुगेको , जनजनमा आध्यात्मिक जागरण भएको आयोजकको विश्वास छ ।
आदीकवि भानुभक्त को जन्मस्थान चुदी रम्घा कै सानिध्यमा भैरवी मन्दिर परिसरमा आयोजित महायज्ञ अवधिभर दशनार्थीहरुको घुइचो लागेको थियो । महायज्ञमा संकलन भएको रकम मन्दिरको भौतिक संरचनाका साथै रामजानकी बालिका आश्रमको लागि खर्च गरिने आयोजकले बताएको छ । सो महायज्ञको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले उद्घाटन गर्नुभएको थियो ।
