दोहा/राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् ।
कतारको दोहामा मंगलबार शुरु दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन अन्र्तगत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले भने, गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी र सामाजिक समावेशीकरण अमूर्त आदर्श मात्रै होइनन्, शान्ति सुव्यवस्था, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ पनि हुन्, । ८० करोडभन्दा बढी मानिस चरम गरिबीमा बाँचिरहेको, धेरै देशमा बेरोजगारी दर अझै उच्च रहेको, लाखौं मानिस मर्यादित कामको खोजीमा आफ्नो देश छोडिरहेका तथा पूर्ण, समान एवम् अर्थपूर्ण समावेशीकरण र सहभागिता अझै प्राप्त हुन बाँकी रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गरिबी निवारणलाई नेपालले उच्च प्राथमिकता दिएको बताए ।
सामाजिक न्याय र समावेशीकरण नेपालको संविधानको प्रमुख विशेषता रहेको उल्लेख गर्दे उनले अनौपचारिक र स्वरोजगार कामदारहरूलाई समेत समेट्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिरहेका जानकारी विश्व समुदायलाई गराए । सार्वजनिक सेवा, शिक्षालगायत सबै क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समूहहरूको उपस्थिति उल्लेखनीय रूपमा बढेको बताउँदै पौडेलले जनताको जीवनस्तर उल्लेखनीय रूपमा उकास्न, स्वदेशमै आकर्षक रोजगारी सिर्जना गर्न र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न थप कार्य गर्न आवश्यक रहेको उल्लेख गरे ।
पौडेलले सुदृढ लोकतान्त्रिक र समावेशी नीतिहरू, जवाफदेही संस्थाहरू र पारदर्शी सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै “हरित, डिजिटल र ज्ञानमा आधारित अर्थतन्त्रजस्ता उदियमान क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने बताए ।
राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा दोहामा यही कात्तिक मंगलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दाहा गएका हुन् । राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कने कार्यक्रम छ ।
