दमौली/पोखरा– पृथ्वीराजमार्ग अन्तरगत दमौली बजार क्षेत्रको ढल निकास अस्तव्यस्त हुँदा गएराति देखि परेको अविरल पानीले दमौली बजार जलमग्न बनेको छ । व्यास नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा मुख्य सडक र सहायक सडकमा पानी भरिएर सडक छेउका घर र पसलमा पानी पसेको नगरवासीको गुनासो छ ।
नगरवासीको गुनासो बढेपछि नगरपालिकाको जेसिबी र ट्रयाक्टर प्रयोग गरेर ढल व्यवस्थापन गरि पानीको निकास गरिएको छ ।
नगर उपप्रमुख इन्दिरा दरै र वन वातावरण तथा विपत् व्यवस्थापनका संयोजक रणसिं नेपालीको सक्रियतामा जलमग्न बनेको तरकारी लाईनमा बिहान देखिनै जेसिबी र ट्रयाक्टर प्रयोग गरेर ढल व्यवस्थापन गरि पानीको निकास गरिएको व्यास नगरपालिकाको सुचना शाखाले जनाएको छ । सडक विस्तारको क्रममा सडक डिभिजनले राजमार्गको सडकको पानीको उचित निकास व्यवस्थापन हुन नसक्दा यस्तो समस्या भएको नगरपालिकाले बताएको छ ।
उपप्रमुख इन्दिरा दरै भन्नुहुन्छ्,“राजमार्ग विस्तारको क्रममा छ, सडक विभागले हेर्नुपर्ने हो । अहिले तत्कालको लागि अस्थायी रुपमा ढलको निकास गरिएको छ ।” नगरपालिकाका सहायक ईन्जिनियर प्रदिप पौडेलले राजमार्ग विस्तारको क्रममा नालामा रहेको ह्युमपाइप बन्द भएपछि पानीको निकास बन्द भएको बताए । उनले भने,“राजमार्ग विस्तारको क्रममा नालीहरु भत्किएका छन्, जसले गर्दा पानीको उचित निकास हुन सकेको छैन । ” उनका अनुसार जेसिबीबाट पानीको निकास गरिएपछि तत्कालका लागि समस्या हटेको छ ।
दमौली पनि बन्यो जलमग्न
previous post