
बैशाख १० मा हुन लागेको उप निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक बाम गठबन्धनले दमौलीमा कोणसभा सम्पन्न गरेको छ ।
मंगलबार दमौलीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले प्राप्त जनादेश अनुसार वर्तमान गठबन्धनले पाँच वर्ष सरकार चलाउनु पर्ने बताए ।
महामन्त्री थापाले संसदलाई प्रभावकारी बनाएर सरकारको गलत काममा खबरदारी गर्न र पार्टीको रुपान्तरणका लागि गोविन्द भट्टराई संसदमा उपस्थित हुन आवश्यक भएको भन्दै तनहुँका मतदाताले निष्ठाका धनी भट्टराईलाई मत दिएर जिताएर पठाउने विश्वास व्यक्त गरे ।
घट्दो जनसंख्या वृद्धिदरका कारण दुइ दशकपछि मावन संसाधानको अभाव हुने उल्लेख गर्दे थापाले सरकारलाई अहिले उपलब्ध संसाधनको भरपूर प्रयोग गर्न आफुले सुझाएको बताए । उनले आगामी पाँच वर्षमा बैदेशिक रोजगारीमा जानेको संख्या हालको दैनिक तीन हजारलाई घटाएर पाँच सयमा झार्न सक्नेगरी काम गर्न आवश्यक रहेको बताए ।
उपनिर्वाचनको मुखैमा कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदबार बनेका स्वर्णिम वाग्लेको नाम नलिएरै थापाले बीपीको भनाई सम्झँदै कटाक्ष गरे “सानो मुटु भएका र अवसरवादीहरु मसंग नभएकै वेस”। थापाले देउवासंगको रिस गोविन्द माथि नपोख्न आग्रह गर्दै तनहुँ १ का मतदातासंग आग्रह गरे, गोविन्दलाई जिताएर पठाउनुस्, तपाईँले पछुताउनु पर्नेछैन ।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले केही भएन, पुराना राजनैतिक दलहरुले केही गरेनन् भनेर दुत्कारेर देशको अवस्थामा सुधार नआउने बताउँदै आधा गिलाँस खाली भन्ने मानसिकताले काम गर्दासम्म केही भएन,सबै खराब भन्ने विचारले प्राथमिता पाउने बताए ।
उनले थपे, नेपालमा केही हुँदैन यो सतीले सरापेको देश हो भनेर निराशा छर्ने होइन बरु यो बुद्धको आशिर्वादले सिञ्चित भूमि भएकाले अनेकौं सम्भावना छ । राजनीतिमा संयमता र धैर्यताको आवश्यकता हुने उल्लेख गर्दै किताबी ज्ञानले मात्र कोही विद्धान नहुने उल्लेख गरे । गठबन्धनको साझा उम्मेदबारको रुपमा रहेका कांग्रेस उम्मेदबार गोविन्द भट्टराईलाई मतदान गर्न आग्रह गर्दै उनले भने, गोविन्द भट्टराईले जित्दा तनहुँको माटोले जित्छ ।
माओवादीका उपमहासचिव देव गुरुङले संविधानको रक्षा, प्राप्त उपलब्धिको रक्षा गर्ने पक्ष र प्राप्त उपलब्धि उल्ट्याउने पक्ष मध्ये कसलाई रोज्ने भन्ने तनहुँका नागरिकको हातमा रहेको बताए । गुरुङले गोविन्द भट्टराईलाई मतदान गर्दा परिवर्तन, प्राप्त उपलब्धि र संविधानको रक्षामा सहयोग पुग्ने भएकाले रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।
नेपाल कम्युनिस्ट पार्टी समाजवादीका केन्द्रीय सदस्य एवं वारा–४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) तनहुँ कांग्रेसको किल्ला भएको उल्लेख गर्दै कांग्रेसले गुटको झगडा सेतीमादी दोभानमा सेलाएर आउने हो भने गोविन्द भट्टराईको जित सहजै हुने बताए । श्रेष्ठले कांग्रेस केन्द्रीय नेताहरुलाई ढुक्क भएर काठमाण्डौ फर्कन आग्रह गर्दै भने, तपाईहरु ढुक्क हुनुस् गोविन्दलाई १० हजारभन्दा बढी मतान्तरले जिताएर पठाउने जिम्मा मेरो भयो ।
नेपाली कांग्रेस व्यास नगर सभापति सुर्यचन्द्र हडखलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस उम्मेदबार गोविन्द भट्टराईले आफ्ना प्रतिवद्धता र घोषणा सार्वजनिक गर्दै आफुले जितर गएमा आम नागरिकको सुख दुखमा अझ सक्रियतासाथ सहभागी हुने बताएका थिए ।