
दमौली/१९ बर्षे लक्का जवान हिजो २००७ सालको राणा विरोधी आन्दोलनमा लडेका मोतीकुमार प्रजातन्त्र सेनानी हुन् । अहिले ९१ बर्षे उमेरमा आफू सुत्ने कोठाको तलाबाट तल झर्ने सक्ने अवस्थामा छैनन् । तर पनि उही सातसालको जोश र जागरका साथ चार तारे झण्डा उठाएर जनताको सुखका लागि काम गर्न चाहन्छन् । नसकेर कोठाभित्र एक्लै उठ्ने बस्ने गर्न पर्दा दिन विताउनै गाह्रो भएको दुःखेसो पोख्छन् । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसंगको भेटमा आन्दोलनका बेलाको तिथिमिति सहित बर्णन गर्दै मोतीकुमार भक्कानिएर भन्छन्, ‘न त जनताले सुख पायो, न तपाई हामीले सुख पायौं ।’ ज्यानको बाजी लगाएर आन्दोलनमा होमिएका मोतीकुमार श्रेष्ठसंगैका साथिहरु व्यक्तिका पछि लागे । कति पञ्चायत प्रवेश गरे । कतिले विभिन्न अवसर पनि पाए । राजनीतिक अवसर पाए । लाभको पद पाए । तर व्यक्तिको पछि नलागेर काँग्रेसको सिद्धान्तमा अडिग रहेका मोतीकुमारले जेल जाने अवसर मात्रै पाए । भूमिगत भएर आन्दोलन गर्ने अवसर मात्रै पाए ।
आन्दोलनकारी काँग्रेसलाई संरक्षण गर्ने लुकाउने, खाना र खर्चको प्रवन्ध गर्ने अवसर पाए । काँग्रेसका कार्यकर्तालाई बाटा खर्च दिने अवसर मात्रै पाए । कपडा फेराईदिने अवसर पनि पाए । तर राजनीतिक लाभको पद खल्तीमा बोकेर हिड्दा दुःखको समयमा बाटा खर्च दिने, सहयोग गर्ने, काँग्रेस कार्यकर्ताको निष्ठा बचाउने मोतीकुमारले वडाध्यक्ष भन्दा बढी केही पाएनन् । त्याग र समर्पणको मूल्याङ्कन गर्ने तहमा पुगेकाहरुले मूल्याङ्कन गर्न नसकेपनि करिब करिब अब बाहिर निस्केर ती लाभको पद लिएका काँग्रेस कार्यकर्तालाई बधाई दिन मन थियो मोतिकुमारलाई । नसक्ने अवस्थामा पुगेका मोतिकुमार कोठाको चार दिवारभित्र सीमित हुनु परेको साथीहरुको खुशीमा खुशी मिसाउन नपाएको पीडाले पटक पटक काँग्रेस नेता जोशीसंग भक्कानिए । खल्तीबाट रुमाल झिकेर आँशु पुछे । सायद उनको मनमा लाग्दो हो, ‘म सक्ने भए गएर बधाई दिने थिएँ । सकिन । सक्नेहरु म भएकै ठाउँमा आई दिए त हार्दिकतापूर्वक बधाई दिने थिएँ ।’
आँटिलो, शाहसिलो संकटको सारथी, आन्दोलनका सहयात्री गोविन्दराज जोशीले २०७८ मंसिर १९ गते अपरान्ह घरमै गएर भेट्दा भावविभोर भएका मोतिकुमारले जोशीसंग मनको बह पोख्दै भने ‘काँग्रेज जगाउनु पर्दछ, प्रजातान्त्र ल्याउनु पर्दछ’ भन्ने लक्ष्यमा पुग्न भिरपाखा, बनजंगल रात नभनेर खटेर काम गरियो, टिक्न नसकेर कति साथीहरु पञ्चायतमा लागे । श्रीभद्र शर्मा, उमाभद्र शर्मा, कृष्णप्रसाद अधिकारीहरु जेल नजान भन्दा पनि आफू भने नेपाली जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि प्रजातन्त्र ल्याउन पर्दछ भनेर अन्तिम अवस्थाको पितालाई समेत म जेल जान्न भनि भनि ढाँटेर जेलको दुःख रोजियो । केही नपाउँदा पनि चित्त बुझाइयो । अब त राजै दिएपनि के गर्ने ?’ ९१ बर्षिय मोतीकुमार श्रेष्ठको यो निराशाभित्र समानुपातिकमा पार्ने भनेर दिएको आश्वासन विपरित धोका दिएको, झुक्याएको भाव झल्केको थियो ।
राणा विरोधी २००७ सालको बन्दिपुर कब्जा आन्दोलनमा आफूहरुले ७१ बर्षअघि खेलेको भूमिकाको स्मरण गर्दै आँखाको ज्योति कमजोर भएतापनि स्मरण शक्ति राम्रो रहेका ९१ बर्षिय मोतीकुमार श्रेष्ठले आज भोलिकै घटना जस्तै सररबताए । राणाको सेनाले उत्तर कुमार श्रेष्ठलाई गोलि हानेर ढालेपछि हवल्दार सन्तबहादुर श्रेष्ठले कुँदेर गएर प्रहरीको बन्दुक खोसेको घटना, बन्दुक खोजेपछि सन्तबहादुरको टाउकोको निधार माथिको भाग गोलीले उडाई दिएको, जुलुस अगाडि बढ्दै गर्दा लालध्वज गुरुङ्गलाई ढालेको, त्यसपछि पनि अगाडि बढ्दा धर्मध्वज गुरुङ्गलाई ढालेको, अझै अगाडि बढ्दा चन्द्रबहादुर सार्कीलाई ढालेको घटनाहरु सुनाउँदै बन्दिपुर कब्जा गर्न नसकेर बल्ल बल्ल बाँचेर राती दुई बजे घरमा फर्केको दुःखका क्षणहरु ताजै घटना झै मोतिकुमार श्रेष्ठले सुनाए ।
छ जना छोरा बुहारी, चार जना छोरी ज्वाई, चौध जना नातीनातिनाका धनी मोतीकुमार अहिले कान्छी बुहारी सीता श्रेष्ठको साथ संरक्षण र रेखदेखमा जीवनको अन्तिम क्षणको पर्खाईमा छन् । पश्चिम फर्केको घर, जाडोको समय, घामको मुख देख्न नपाईने दमौलीको घरको तेस्रो तलमा बस्दा निक्कै एक्लो अनुभूति भएको दैनिकी काँग्रेसका निष्ठावान सिपाही प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको रहेको छ । आफ्नो अन्तिम अवस्थामा रेखदेख र संरक्षणको प्रबन्धको आर्थिक सुरक्षण पनि सेनानी श्रेष्ठले गरिदिएको पारिवारिक स्रोतले बतायो ।
जेठा छोरा काशीराम श्रेष्ठ व्यास नगरपालिका वडा नं. २ का वडाध्यक्ष रहेका छन् । माहिला छोरा हरेराम श्रेष्ठ र कान्छा छोरा श्रीराम श्रेष्ठ विदेश जर्मनतिर रहेका छन् ।