क्रमशः अघिल्लो अंकबाट
आफ्नै गतिमा गफ गर्दै दायाँबायाँ चम्किएका हिमाली दृष्यहरु नियाल्दै थकानलाई टाढा पन्छाउदै एउटा खर्क वा पाटन के भनौ पुगियो । मन पुलकित हुँदै थियो अब त तिलिचो ताल पुग्न सकियो कि भनेर । पाटनमा रमाउदै ढुङ्गा हान्दै, खेल्दै, फोटा खिच्दै अगाडि बढ्यौं । तेर्सो बाटो आनन्दको प्राकृतिक हिमाली भ्यु नियाल्दै केही समय हिडेपछी तालको पेरिफेरी देखियो अनि अलिकती उकालो जस्तो बाटो काटेपछी हामी गन्तव्यमा पुग्न सफल भयौं । मन साह्रै रमायो । हामी लगभग ८ः४५ तिर ताल पुग्न सफल भएका थियौं । बेसक्याम्पबाट नै अर्को ताचै भन्ने गाँउका मेडमहरुको ग्रुप थियो । उहाँहरु बिहान ३ बजे नै हिडेर ७ः३० तिरै तालमा पुगिसक्नुभएको रहेछ ।
अहा ! तिलोचोको सुन्दरता । जाँदाजाँदै तिलिचो ताल ४९१९ मि. लेखेको बोर्डमा लौरो टेकि उभिएर फोटो खिचियो । त्यसपछी उक्त ताललाई धार्मिक स्थलको रुपमा विकास गर्ने उद्देश्यले बनाइएका दुइटा ठुला गौतम बुद्धको र महादेवको मुर्ती नारेर बनाएको त्यो देख्ने बित्तिकै मनमा आयो वास्तवमा धार्मीक सहिष्णुताको आधार भनेको नै यही हो । तिबेतियनहरुमा धेरै जुनसुकै शुभ–अशुभ कार्यमा पनि खादाको अत्याधिक प्रयोग हुने हुँदा ती मुर्तिहरु पुरै खादाले पुरिएका थिए । हामीले पनि उक्त मुर्तिमा एक–एक खादा लगाइदिएर दर्शन गर्यौं । त्यसपछी तालको सुन्दरतालाई नियाल्न थाल्यौ तर एउटा अनुभव के गरियो भने तिलिचो तालमा जाने सिजन त्यो होइन रहेछ किनभने छिन छिनमा मौसम परिवर्तन भै जुन खालको दृश्य देख्न पाइन्थ्यो त्यसलाई बादल, हुस्सुले डिस्टर्ब गरिरहने रहेछ । यद्यपि तालको पेरिफेरिमा कताकती हुस्सुसहितका टल्किएका हिमाल, कुनै ठुला रुख बिरुवा छैनन्, मरुभुमी नै भनिहाल्न नमिल्ने सार्है मन लोभ्याउने दृश्यहरु अबलोकन गर्दै जाँदा एकछिन टोलाएछु कारण जलबायु परिबर्तन । जस्को प्रभाव हिमाली भेगमा धेरै पर्न थालेको अनुभूति भयो । भुसुक्कै हिउँले भरिने हिमालमा हिउँ नभै कालापत्थरको क्षेत्रफल बढ्न थालेको अनुभव भयो । पहिला गएका साथीहरुको अनुभव अनुसार तालको प्रकृति पनि फेरिएको रहेछ । पानीको मात्रा घट्न जाँदा तालको सतह धेरै गहिरिएछ । तालको पानी छुनको लागि अर्को आधा घण्टा हिड्नुपर्ने भएछ । थाकेको शरीरले थकान बिर्साउने उभिएरै देखिएको सुन्दरताले शरीर त्यहाँभन्दा अगाडि बढ्न र तल तालमा झर्न मानेन । साथीहरु यता उता गर्दै रमाउदै तस्बिर लिँदै भिडिओ बनाउदै हुनुहुन्थ्यो । त्यसको केही समय अगाडि नै पछि रहनुभएका साथीहरुको टोली स्वां स्वां गर्दै आइपुगेर आराम गर्दै हुनुहुँदो रहेछ । त्यो दिन जनै पुर्णिमाको दिन थियो । जनै बाध्ने कार्यक्रम पनि थियो हाम्रो । पद्मराज दाइले त्यसको व्यबस्थापन गर्नु भएको थियो । त्यो तालको दृश्यावलोकनको स्वाद लिइसक्दा मन पटक्कै अघाएको थिएन । साथीहरु जम्मा भएर खाजा खाने काम भयो । सबैले आआफ्ना झोलाबाट लगिएको खाजा निकालेर एकठाउँमा मिसाइ गफ गर्दै त्यो सुन्दर प्राकृतिक सौन्दर्य नियाल्दै खांदा नमिठो लाग्ने के नै हुन्थ्यो र ?
मलाई अलिकती टाउको भारी भएको अनुभव भएको थियो कता कता मन डराएको थियो । अब एक समुह फर्किने र जनै बाध्ने कार्यक्रम गर्ने र अर्को समुह तालको एउटा घेरो घुम्ने योजना सहित हिड्यो । म भने जनै बाध्ने कार्यक्रममा लागँे । त्यही तलको पानी आएर बनेको अर्को सानो तालमा पुगेर पद्मराज दाइले जनै मन्तर्ने काम पुजा आजा सहित गर्नुभएको थियो जहाँ रेशम सर र म सहभागी भएर जनै फेर्ने, जनै बाध्ने काम सम्पन्न गरी आँखाभरी तिलिचोको दृश्य र मन भरी अबिस्मरणिय यात्रा अनुभवलाई पोको पार्दै पुनः गएको बाटो फिर्ता भै करिब १२ बजे बेसक्याम्पमा आइपुगियो । बेसक्याम्प पुगेर जाँदाको उकाली यात्रा र झर्दाको ओराली यात्राले शरीर कुहिएको कर्कलो जस्तो गलेको भएपनी मनमा आनन्द थियो । आफुलाई बिश्व बिजय गरेको अनुभूति भैरहेको थियो । एकछिन हिजो बसेकै होटलको रूममा गएर सुस्ताइयो जहाँ आफ्ना झोला तथा सामानहरु छाडेर गइएको थियो र केही समयपछी उठेर खाना खाइयो र पछाडिका साथीहरु प्रतीक्षा गरियो । उक्त समयमा त्यहाँ भएका साथीहरुलाई जनै बाँध्ने काम भयो । अब अगाडि बढ्नु पर्छ ढिला होला कि भन्दा भन्दै पछाडिका साथीहरु पनि आइपुगे ।
चेकमान सर अगाडि आइपुग्नु भयो भने रबिन सर लगाएत साथीहरु एकछिन पछि आइपुगे । साथीहरुलाई बेस क्याम्पमा भेटेपछी ल हजुरहरु खाना खाएर आराम गरेर आउनुहोस हामी अगि बढ्दै गर्छौ भनेर हाम्रो ग्रुप अगाडि बढ्यो उहीँ हिजो हिडेको बाटो मसिनो गिटी बालुवा मिसिएको खुर्खेरे बाटो थाकेको ज्यानलाई मस्र्याङ्दी नदीमा गुडिल्किन नदिइकन अडिएर ताते ताते गर्दै खुट्टा अड्याउदै उकाली ओरालीमा खुइय गर्दै बिश्राम गर्दै पानी पिउँदै गफ गर्दै झन्डै ४ घण्टाको अबिराम यात्रा पछि करिव ७ बजे हाम्रो टोली खाङ्सार आइपुग्यो । तिलिचो यात्रामा गर्नुपर्ने पैदल यात्रा पूरा गरी गाडी समिपमा पुग्दा फेरि अर्को खालको आनन्दको महसुस भयो र फेरि पछाडिका साथिहरुलाई कुर्दै अघिल्लो दिन बसेको माया होटेलमा तातो पानी, चिया पिउदै सुस्ताइयो । झण्डै एक घण्टा पछी साथीहरु आइपुगे अनि गाडी चढेर खाङ्सारबाट अघिबढी मनाङ गाउँ आएर बास बसियो । समग्रमा मनाङ गाउँको बसाइ होटेलको सेवा खासै सन्तोषजनक नभएपनि थाकेका हामी खाना खाएर आ–आफ्नो रुममा गएर सुतियो ।
चौथो दिन २०८१ भाद्र ४
बिहान ६ बजे नै उठेर सबै नित्यकर्म गरी अगिल्लो दिनको होटेलको सेवा चित्त बुझ्दो नहुँदा साथीहरुले त्यहाँ चिया समेत नपिउने निर्णय गरि मनाङ गाउँ घुम्दै हिडेर अर्को होटेलमा गएर ब्रेकफास्ट बनाउन लगाइ खाने काम भयो । म भने बिहानै निस्केर एक्लै घुम्दै एक साथी भेटेर दुई घण्टा जस्तै भलाकुसारी गरी फर्किदा साथीहरुले ब्रेक फास्ट खाइसक्नु भएको थियो । मनाङ गाउँ त्यस्तो ठाउँ हो त्यहाँ असोज कार्तिकको समयमा ठमेलको झल्को पाईन्छ । अहिले अफ सिजन हुँदा खासै चहलपहल नभएपनी प्राकृतिक दृष्य, फापर फुलेर गलैचा ओछ्याए जस्तो देखिने फाँट, वारीपारी हिंउले चुसेका नाङ्गा पहाड , सल्लाका कोणधारी जङ्गल, गुम्वाहरु, पुरै ढुङ्गा बिछ्याइएको बाटो, आफ्नै संस्कृती, आफ्नै चालचलन, देशको कानुन भन्दा गाउँको कानुन माथी भएको ठाउँ, जहाँ ठुला ठुला केसहरु पनि गाउँकै कानुन अनुसार समाधान हुन्छन् ।
गाउँभन्दा बाहिर किनारामा पटुकिको फेरो झै बगेको मस्र्याङ्दी, मस्र्याङ्दीकै समिपमा रहेको सुन्दर गङ्गापूर्ण ताल ,पुराना माटोको छाना भएका घरहरु, अल्लि पर रहेको भ्राका गाउँ खोइ कति बयान गरुँ त्यो वातावरण, त्यति खेरको त्यो न चिसो न तातोको मौसम, त्यो भुगोल सधै त्यहीँ नै जमेर बसौ कि भन्ने भावना उत्पन्न भयो । हुन त म पहिला पनि त्यो ठाउँमा पुगेको हो तै पनि आँखा नअघाउने सुन्दर दृश्य र मनोरम वातावरणले जति गए पनि जति बसेपनी धित नमर्ने । लगभग सबै साथीहरुले मनाङ गाउँलाई नियालेर सुन्दर दृश्यपान गरिसकेपछी अब मनाङ छाड्ने निर्णय गरियो । आफ्ना झोलाहरु बोकेर गाडी भएतिर लम्क्यौ र मनाङ गाउँलाई फेरि भेट्न आउने वाचा सहित हिडियो । गाडी ढुकुरपोखरी आएर रोकियो र करिब १२ः३० बजे बिहानको खाना खाइयो। ढुकुरपोखरीको बारेमा पहिलो दिनमा नै चर्चा गरिसकिएको छ । खाना खाएर त्यहाँबाट हिडियो र गाडी आएर रोकियो चामेमा ।