दमौली/नेपाली कांग्रेस तनहूँले विजया दशमी, दिपावली, छठ तथा वकरइदको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भोली गर्ने भएको छ । यस अघि केन्द्रमा मात्र गर्ने गरिएको शुभकामना आदान प्रदान कार्यक्रम केन्द्रिय कार्य समितिको निर्देशन अनुुसार यो वर्षबाट देशका ७७ जिल्लामा गर्न लागिएको हो । कोजाग्रत पूर्णिमाको दिन केन्द्रमा गर्ने गरिएको चियापान कार्यक्रम नेता चक्रप्रसाद वास्तोलाको देहावसानका कारण १६ गतेका लागि सारिएको हो ।
कांग्रेस तनहूँले चियापान कार्यक्रममा सहभागिताका लागि जिल्लामा कृयाशिल राजनैतिक दलहरु, जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, वुद्धिजिवी तथा विभिन्न पेशा र व्यवसायमा लागेका व्यक्तिहरुलाई आमन्त्रण गरिसकेको र चियापान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
यसैविच शनिवार सम्पन्न नेपाली कांग्रेस तनहूँको नियमित बैठकले वीपी स्मृति भवनको निर्माण अन्तिम चरणमा पुगेकोले भवन निर्माणमा सहयोग गर्न चाहनेलाई सम्पर्क गरी सहयोग गर्न आह्वान गरेको छ । यसका साथै भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउने सबैलाई आफ्नो प्रतिवद्धता अनुरुपको रकम उपलव्ध गराइ सहयोग गर्न आग्रह समेत कांग्रेस तनहूँले गरेको सचिव लक्ष्मी आचार्यले जानकारी दिए ।