दमौली/निर्वाचन आउन एक हप्ता बाँकी रहँदा तनहुँ २ बाट को निर्वाचित होला ? भन्ने अनुमान र दावीहरु प्रस्तुत भएको छन् । चोक, चौतारा र चिया पसल निर्वाचनकै गफले गुञ्जायमान छन् ।
आफुले समर्थन गरेको दल र त्यसका उम्मेदवारले जित्ने तर्क गर्नमा सबैजसो व्यस्त भएका बेला तनहुँ आवाजले अघिल्लो निर्वाचनको मत परिणाम र अब के होला ? भन्ने विषयमा विश्लेषण गरेको छ ।
तनहुँ–२ मा ६५ हजार ८०२ महिला तथा ६१ हजार ७१३ पुरुष मतदाता रहेका छन् । ऋषिङ, घिरिङ तथा म्याग्दे गाउँपालिका र भिमाद तथा शुक्लागण्डकी नगरपालिकाका सम्पूर्ण वडा तथा व्यास नपाका वडा नं ५,६ गरी ४३ वटा वडा समेटिएको यो निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका शंकर भण्डारी ३० हजार ६०४ मत सहित विजयी भएका थिए ।

भण्डारीका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका किरण गुरुङले २५ हजार १३० मत ल्याएका थिए । तेस्रो बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका विकाश जोशीले पाँचहजार ३७३ तथा चौथा बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एकहजार ४२१ मत पाएका थिए । कांग्रेससँगको गठबन्धनमा रहेकाले तत्कालिन माओवादी र माधव नेपाल नेतृत्वको नेकपा समाजवादीको यस क्षेत्रमा उम्मेदवार थिएनन् ।
प्रत्यक्ष तर्फ एमालेको उम्मेदवारले भन्दा पाँचहजार बढी मत पाएको कांग्रेसले समानुपातिकमा भने दोस्रो धेरै मत पाएको थियो । एमालले २२ हजार ८०४ मत पाउँदा कांग्रेसको समानुपातिक मत २२ हजार २६३ रहेको थियो । समानुपातिकमा पनि तेस्रो बनेको रास्वपाले प्रत्यक्षमा भन्दा धेरै एक हजार १२९ मत पायो । माओवादीको समानुपातिक मत पाँचहजार २४७ तथा नेकपा एसको ४४४ रहेको थियो ।
यो निर्वाचनमा पनि कांग्रेसका दोहोरिएर आएका भण्डारी, एमालेका केदार सिग्देल र रास्वपाका श्रीराम न्यौपानेको चर्चा बढी छ र यिनै तीनजनाको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
कांग्रेसका भण्डारी अघिल्लो निर्वाचनमा पाएको मत झण्डै २२ हजार सुरक्षित राख्दै तटस्थ र अन्य पार्टीका समेत मत तानेर जित सुरक्षित गर्ने दाउमा छन् । तर उनले तनहुँको दक्षिण क्षेत्रको लाइफलाईन श्रृङ्ग पथको दुरावस्था, वर्षाैदेखि निर्माण अलपत्र रहेको गडगडी घाट पुल, उस्तै अवस्थामा रहेको व्यास–३ र ऋषिङ–१ जोडने पुल लगाएत विकास निर्माणसँग सम्बन्धित थुप्रै तिखा प्रश्नहरुको सामना गर्नु परिरहेको छ । युवा मतदाताहरुबीच लोकप्रिय भण्डारी फागुन ४ गते केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा दमौली सभागृहमा भएको कार्यकर्ता भेलामा उपस्थित नभएपछि युवाकै प्रश्नको घेरामा परेका छन् । कतिपयले यसलाई दमौलीसँग जोडिएको ऋषिङ–१ को घरदैलोमा भएका उनले विशेष महाधिवेशनले चयन गरेको कांग्रेसको नयाँ नेतृत्वलाई अन्तरआत्मादेखि स्वीकार नगरको रुपमा अथ्र्याएका छन् ।
अघिल्लो निर्वाचनमा सर्वाधिक समानुपातिक मत पाएको एमाले र यसका उम्मेदवार, नेता र कार्यकर्ता आफुहरुले निर्वाचन जित्नेमा ढुक्क जस्ता देखिन्छन् । तर भण्डारीले जस्तै थुप्रै प्रश्नको सामना सिग्देलले पनि गर्नु परिरहेको छ । यसका अतिरिक्त सोही निर्वाचनमा सिग्देलको असहयोगका कारण आफुले निर्वाचन हार्नु परेको बुझाइमा रहेका किरण गुरुङको सम्भावित भूमिका सिग्देलका लागि चुनौति बनेको छ ।
कांग्रेस र एमालेको अन्तरद्वन्द्वमा खेलेर उनीहरुसँग असन्तुष्ट मत तान्दै जित निकाल्ने दाउमा रहेका रास्वपा न्यौपाने यो क्षेत्रका लागि परिचित उम्मेदबार होइनन् । पार्टीको तनहुँ २ मा आफ्नो अवस्था कमजोर रहेको विश्लेषण र नवलपरासीको धौवादीको फलाम निकालेर तनहुँ ल्याई काली किनारलाई औद्योगिक क्षेत्र बनाउने उनका हवाई आश्वासनले अरु नचिन्ने केवल घण्टी चिन्ने मतदाताको मन पनि परिवर्तन हुने देखिन्छ ।
निर्वाचनको मैदानमा नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामबहादुर ठकुरी, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, मंगोल नेशनल अर्गनाइजेशनकी सुस्मा आले
छन् । यसैगरी नेपाल जनमुक्ति पार्टीका पूुर्णवहादुर राना, नेशनल रिपब्लिक नेपालका नमबहादुर राना, नेपाल कम्युनिस्ट पार्टी
(माओवादी) का गणेशबहादुर लामगादे र राष्ट्रिय जनमुक्ति पार्टीका लामबहादुर सार्की गोतामे पनि चुनावी मैदानमा छन् ।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाका उम्मेदवार थापाले अघिल्लो निर्वाचनको मत जोगाउन सक्दा राम्रै मत पाउने देखिन्छ । अन्य उम्मेवारको बारेमा भने खासै चर्चा र चासो सुनिएको छैन ।
