फागुन–२१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट दलका १३ र स्वतन्त्र ३ गरी १६ जनाले मनोनयन दर्ता गरेका छन् । तनहुँ आवाजले मतदातालाई योग्य प्रतिनिधि छान्न र मतदान गर्न सजिलो होस् भनेर उम्मेदवारका बारेमा नागरिकले जान्नु पर्ने कु्राहरु प्रस्तुत गर्ने जमर्काे गरेको छ । यस पटक नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र नेपाल जनमुक्ती पार्टीकाउम्मेदबारका बारेमा संक्षिप्त जानकारी लिएर आएका छौं । –तनहुँ आवाज साप्ताहिक
कट्टर हिन्दुवादी जोशी
२०८२ फागुन २१ गते मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ ।

३५ वर्षिय जोशी मूल रूपमा कञ्चनपुर बेलौरी नगरपालिकाका स्थायी वासिन्दा हुन् । यस निर्वाचनमा उनी तनहुँ १ बाट ‘बाहिरी जिल्ला’को उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । राप्रपाले आफ्नो साङ्गठनिक विस्तार र राष्ट्रवादी एजेन्डालाई प्रवद्र्धन गर्न उनलाई यस क्षेत्रमा खटाएको बुझिन्छ । त्रिभुवन विश्व विद्यालयबाट स्नातक तहको अध्धयन पूरा गरेका जोशी तनहुुँ क्षेत्र नं १ का १६ उम्मेदवारमा बाहिरी जिल्लाका तीन मध्ये एक हुन् ।
राप्रपाले यस निर्वाचनमा कुनै पनि ठूला दलसँग चुनावी तालमेल नगरी एक्लै प्रतिस्पर्धा गर्ने नीति लिएको छ । जोशीले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको एजेन्डालाई मुख्य चुनावी मुद्दा बनाएका छन् ।
मध्यमार्गी समाजवादका पक्षधर राना
२०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ बाट उज्यालो नेपाल पार्टी (उनेपा) ले मन्जिल राना मगर लाई उम्मेदवार बनाएको छ । व्यास नगर पालिका वडा नं ११ रातामाटा निवासी ३७ वर्षिय राना मगर ‘उन्नत मध्यमार्गी समाजवाद’ नारालाई बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।

पाटन क्याम्पसबाट स्नातकोत्तर गरेका राना मगरले आफ्नो पार्टीको मुख्य एजेन्डा उनका मुख्य प्राथमिकताहरूमा गुुणस्तरीय पूर्वाधार विकास र आर्थिक समृद्धि, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता र सुशासन र ऊर्जा क्षेत्रको विकास मार्फत मुलुकको आर्थिक रूपान्तरण उल्लेख गरेका छन् ।
उज्यालो नेपाल पार्टीले सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने चर्चा चले पनि अन्ततः यो दल ‘बलेको चिम’ चुनाव चिह्न लिएर एक्लै निर्वाचनमा होमिएको छ ।
मन्जिल राना मगर एक युवा उम्मेदवारका रूपमा ‘पुराना दलको विकल्प र नयाँ भिजन’ सहित मतदातामाझ पुगिरहेका छन् ।
स्पष्ट वक्ता पन्त
व्यास नगरपालिका वडा नं १ माइली डाँडाका स्थायी वासिन्दा ओमबिक्रम पन्त नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का प्रभावशाली र जुझारु नेता हुन् । लामो समयदेखि तनहुँको राजनीतिमा सक्रिय पन्त स्थानीय स्तरमा जनतासँग प्रत्यक्ष जोडिएका नेता मानिन्छन् ।

पार्टीको संगठन निर्माण र परिचालनमा महत्वपूर्ण भूमिका खेल्दै आएका पन्तले सडक, खानेपानी र ग्रामीण विद्युतीकरणका विषयमा आवाज उठाउँदै आएका छन् । पार्टीभित्र प्रखर र स्पष्ट वक्ताको परिचय बनाएका ५८ वर्षिय पन्त यस पटक नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा रास्वपा जस्ता ठूला भनिएका दलका उम्मेदबारसँग प्रतिस्पर्धामा उत्रेका छन् ।
कृषिको आधुनिकीकरण, दमौली क्षेत्रको शहरी व्यवस्थापन, बन्दीपुर जस्ता पर्यटकीय क्षेत्रको प्रवद्र्धन एसएलसी उत्तीर्ण पन्तका चुनावी एजेण्डा रहेका छन् ।
राष्ट्रिय स्वाधिनताको पक्षमा रामलक्ष्मी
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिका मंगलाछेंकी रामलक्ष्मी दुवाललाई उम्मेदवार बनाएको छ ।

ख्वप कलेजबाट स्नातकोत्तर ३९ वर्षिय दुवाल नेपाल मजदुर किसान पार्टीकी एक सक्रिय कार्यकर्ता हुन्। यो निर्वाचनमा उनी तनहुँ १ मा ‘बाहिरी जिल्ला’बाट आएर उम्मेदवारी दिने तीन जना उम्मेदवारमध्ये एक हुन् ।
चुनावी मैदानमा भएका १६ उम्मेदवारहरू मध्ये रामलक्ष्मी दुवाल र नेकपा (एमाले) की भगवती न्यौपाने मात्र दुई जना महिला उम्मेदवार हुन् । यसले गर्दा महिला मतदाताहरूको बिचमा उनको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ ।
समाजवादको प्रवद्र्धन गर्न कामदार र किसान वर्गको हकहितको संरक्षण गर्ने, वैदेशिक हस्तक्षेपको विरोध र राष्ट्रिय स्वाधीनता गर्ने, निःशुल्क शिक्षा र स्वास्थ्यको उपलब्धता तथा राजनीतिक र प्रशासनिक क्षेत्रमा सुशासन दुवालका मूल मुद्दा हुन् ।
नेपाल मजदुर किसान पार्टीले देशभरका १२० भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिएको सन्दर्भमा तनहुँ १ मा दुवालको उम्मेदवारीलाई पार्टीको साङ्गठनिक विस्तार र विचार प्रसारको रूपमा लिइएको छ ।
पहिचान र स्वायत्तताको पक्षपाति थापा
तनहुँ क्षेत्र नम्बर १ बाट मंगोल नेशनल अर्गनाइजेशनले प्रेम बहादुर थापालाई उम्मेदवार बनाएको छ । घिरिङ गाउँ पालिका गाबुडाँडाका ४४ वर्षिय थापा अर्गनाइजेशनका एक निष्ठावान कार्यकर्ता हुन् ।

थापाले मंगोल नेशनल अर्गनाइजेशनको मूल मन्त्र ‘मुलबासी मंगोल र अस्तित्वको रक्षा’ लाई प्रमुख एजेन्डा बनाएका छन् । नेपाललाई पूर्ण रूपमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरी कार्यान्वयन गर्नुपर्ने।नेपालका मुलबासी मंगोल समुदायको राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चित गर्ने,मंगोल बाहुल्यता भएका क्षेत्रहरूमा पहिचान र स्वायत्तता कायम गर्ने, विद्यमान राजनीतिक भ्रष्टाचारको अन्त्य गरी नयाँ नेतृत्व स्थापित गर्ने आलेका चुनावी एजेण्डा हुन् ।
मुख्यतया आफ्नो पार्टीको वैचारिक मत र पहिचानवादी मतदाताहरूलाई आकर्षित गर्ने रणनीतिमा छन् । संस्थापक डा. गोपाल गुरुङको विचारधारालाई आत्मसात् गर्दै प्रेम बहादुर थापाले ‘अस्तित्वको लडाइँ’ भन्दै चुनावी प्रचारप्रसारलाई अघि बढाइरहेका छन् ।
आलेको मूलमन्त्रः पहिचान र संघीयता
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ बाटै नेपाल जनमुक्ति पार्टीले यामबहादुर आलेलाई उम्मेदवार बनाएको छ ।
आर्मी स्कुल भारतबाट म्याट्रिक पास शुक्लागण्डकी नपा खैरेनी टारका ६८ वर्षिय आले नेपाल जनमुक्ति पार्टीका एक सक्रिय स्थानीय नेता हुन् ।

लामो समयदेखि जातीय पहिचान र संघीयताको मुद्दामा आवाज उठाउँदै आएका आले नेपालका स्थानीय भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाउन पहल गर्ने नारा सहित चुनाबी मैदानमा छन् ।
नेपाल जनमुक्ति पार्टीले विशेषगरी जनजाति, उत्पीडित र सीमान्तकृत समुदायको अधिकारका लागि काम गर्ने दाबी गर्दै आएको छ, जसमा आलेले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
जातीय पहिचानसहितको संघीयता आलेको अर्काे एजेण्डा हो । तनहुँ १ का ग्रामीण भेगमा कृषि, पर्यटन र पूर्वाधार विकासका नयाँ योजनाहरू ल्याउने,भ्रष्टाचार नियन्त्रण गरी स्वच्छ र जनउत्तरदायी राजनीतिको प्रवद्र्धन गर्ने उनका थप चुनावी एजेण्डा हुन् ।
