
दमौली/तनहुँ समाज हङकङले विद्यार्थी भलिबल खेलाडीलाई पोसाक सहयोग गरेको छ । समाजले मंगलबार दुई माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई भलिबल पोशाक सहयोग गरेको छ ।
शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतस्थित हंशवाहिनी मावि र वडा नम्बर १ नयाँगाउँ तलीपोखरीस्थित अमरज्योति माविका भलिबल विद्यार्थी सात/सात जना पुरुष र सात÷सात जना महिला भलिबल खेलाडी गरी कूल २८ जनालाई २० हजार मूल्य बराबरको पोशाक सहयोग गरिएको समाजका पूर्व अध्यक्ष जंगबहादुर थापाले जानकारी दिए ।
हंशवाहिनी मावि प्रांगणमा आयोजित कार्यक्रममा समाजका पूर्व अध्यक्ष भीमराज गुरुङले पोशाक हस्तान्तरण गरेका थिए । सो अवसरमा हंशवाहिनी माविका प्रधानाध्यापक कविराज खनाल र अमरज्योति माविका प्रधानाध्यापक ओमकारराज खनालले समाजले खेलकुदको विकासका लागि विद्यार्थीहरुलाई सहयोग गरेकोमा समाजप्रति सराहना व्यक्त गरेका थिए ।