प्रतिनिधि सभा निर्वाचनका लागि ३१ आकांक्षी
रमेश विकल
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस तनहुँको तर्फबाट उम्मेदवार हुन चाहनेको संख्या ३१ रहेको नेपाली कांग्रेस तनहुँले जनाएको छ । नेपाली काँग्रेस तनहुँको सम्बन्धित क्षेत्रीय समितिले उम्मेदबार हुन चाहनेको नाम संकलन गरेको थियो । संकलनका क्रममा दुबै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक तर्फ गरी ३१ जनाले उम्मेदबार बन्न चाहेको भन्दै विवरण पेश गरेका हुन् ।
क्षेत्र नम्बर १ मा प्रत्यक्ष र समानुपातिक तर्फ १२/१२ जना तथा क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ २ जनाले उम्मेदबारको रुपमा आकांक्षा प्रस्तुत गरेका कांग्रेस तनहुँले जनाएको छ । त्यस्तै राष्ट्रिय सभाको सांसद बन्न ७ जनाले इच्छा देखाएका छन् ।
क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ उम्मेदबार बन्न चाहानेहरुमा केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र गोविन्द भट्टराई तथा नेताहरु रेशम गुरुङ, डा.जगदिशचन्द्र पोख्रेल, उदयराज गौली, उद्धव पौडेल, दिपक भट्टराई, सरिता गुरुङ, रामचन्द्र पोख्रेल, क्षेत्रीय सभापति श्याम मौराती र पुरुषोत्तम खनाल रहेका छन् । नेपाल शिक्षक संघका सभापति रमेशबाबु भट्टराईले पनि आकांक्षीमा नाम दर्ता गरेका छन् ।

यही क्षेत्रबाट समानुपातिक तर्फ पवित्रा पौडेल, चिनु पोख्रेल, यमुना बिक, हरिदत्त पौडेल, ओझराज पौडेल, पूर्व प्रदेश सांसद डोवाटे बिक, निवर्तमान राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, गोविन्द ढकाल, समुन्द्र गोदार, साहिदा खातुन, चिजा श्रेष्ठ र एलिजा ढकालले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् ।
क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्यहरु शंकर भण्डारी र प्रदिप पौडेलले नाम दर्ता गराएका छन् । यही क्षेत्रबाट क्षेत्रीय सभापति चुडामणी खनाल, चाम थापा र पुष्प पराजुलीले अकांक्षा व्यक्त गरेका छन् । समानुपातिक तर्फ म्याग्दे गाउँ पालिकाकी पूर्व अध्यक्ष माया राना र इन्दिरा खनालले आफ्नो आकांक्षा प्रस्तुत गरेका छन् ।
त्यस्तै राष्ट्रिय सभाको उम्बेदबार बन्न कुलचन्द्र वाग्ले, अर्जुन अधिकारी, लक्ष्मी आचार्य, डा. कृष्णप्रसाद गौतम, रघुनाथ पौडेल, विद्या खनाल र ध्रुव वाग्लेले अकांक्षा देखाएका छन् ।
नेपाली काँग्रेस निर्वाचन क्षेत्रीय समितिले भोली सम्ममा उम्मेदबारका आकांक्षीहरु बीच छलफल गराई जिल्ला कार्यसमितिलाई आकांक्षीहरुको नाम सिफारिस गर्ने बताइएको छ । जिल्ला कार्य समितिले प्रदेश समिति र प्रदेशले केन्द्रीय समितिमा नाम सिफारिस गरि केन्द्रीय समितिले उम्मेदबार चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ ।
पुष २६–२८ मा काठमाण्डौंमा पार्टीको १५ औं महाधिवेशन गर्ने कार्यतालिका केन्द्रीय समितिले सार्वजनिक गरेपछि जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्तालाई महाधिवेशनको पनि चटारो छ । पुष १६ मा गाउँ तथा नगरका वडा अधिवेशन गर्ने कार्यतालिका छ भने त्यसको भोलीपल्ट पुष १७ मा पालिका अधिवेशन गर्ने भनिएको छ ।
विवादका कारण कुनै कनै पनि तहको अधिवेशन एक दिनमात्र रोकिएमा पनि महाधिवेशन कार्यतालिका प्रभावित हुने भएका कारण कांग्रेस जिल्ला पदाधिकारीहरु यतिबेला तोकिएकै दिनमा अधिवेशन सम्पन्न गर्नु पर्ने दवावमा छन् ।
