
दमौली/तनहूँका विभिन्न दलित संघसंस्थाहरुले बझाङको वित्थडचिर गाउँपालिका वडा नम्बर ७ स्यालढुंगाको दलित हक अधिकार विरुद्धको घटनाको विरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलित बनेका छन् । दलित समुदायका पुड्के ओखेडाको घर भत्काउनेहरुको पहिचान गरी कारवाही प्रकृया अघि बढाउनु पर्ने माग गर्दै दलित संघमा आवद्ध तनहुँका दलितहरुले आन्दोलनको तयारी गरेको सहभागि पूर्ण विकेले तनहुँ आवाजलाई बताउनु भयो ।
दलित संघ तनहुँको आयोजनामा सोमबार दमौलीमा भएको बृहत बैठकले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसक्दा समेत दलितमाथिको छुवाछुत र अभद्र व्यवहार गरिने क्रम नरोकिएकोप्रति दुःख व्यक्त गरेको छ । बझाङको घटनालाई देशव्यापी बनाएर सामाजिक सद्भाव र समभावको निर्माण आन्दोलनमा जानुको विकल्प नभएको सहभागी नेताहरुले बताएका छन् । दलित नेता स्याम मौरती बझाङमा दलित माथि भएको अन्यायबाट आक्रोसित हुँदे भन्नुहुन्छ, ‘छुवाछुत मुक्त राष्ट्र भनिए पनि समाजबाट अझै पनि छुवाछुत र जातिय विभेद हट्न सकेको छैन’ ।
कानुनलाई हातमा लिएर घर भत्काउने अधिकार कुनैपनि समुदायलाई नभएकोले घर भत्काउनेहरुको पहिचान गरी कारवाही गर्नुपर्नेमा दलित नेताहरुले एकस्वरमा आवाज उठाएका छन् । दलितहरुमाथि भएको ज्यादतीको विरोधमा सचेत समुदाय प्रतिकारमा उत्रनुपर्ने जिल्ला समन्वय समिति तनहुँका निवर्तमान जिल्ला सदस्य केशबहादुर सुनारले बताए । बैठकमा व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रमाया परियारले सत्यतथ्य बुझी मुलुकभरैबाट शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताईन् । नेपाली कांग्रेस जिल्ला सदस्य मिनबहादुर चदारो, नेपाल बार एशोसिएसन तनहुँका पुर्व अध्यक्ष अमृत नेपाली, संयुक्त दलित उत्थान मञ्चका बरिष्ठ उपाध्यक्ष विश्वबुढा परियार लगायतले अझै पनि जातिय आधारमा छुवाछुत र विभेद हुनु समाजकै कलंक भएको बताएका थिए । नेपाल दलित संघ तनहुँका अध्यक्ष रामकृष्ण विकले विभिन्न नाममा दलितमाथि हुने विभेदको विरुद्ध शान्तिपूर्ण रुपमा विभिन्न कार्यक्रम आवश्यक रहेको बताए ।