
–पाँच वर्ष अगाडि फागुन अन्तिम साता भक्तपुर जडीबुटी स्थित जागृति माध्यमिक विद्यालयकी शिक्षक सीतालक्ष्मी कर्माचार्यले परीक्षामा थोरै अंक ल्याएको भन्दै ३४ विद्यार्थीलाई पेन्सील कटरको ब्लेडले नाडीमा चिर्न लगाएको अभियोग लाग्यो । विद्यार्थीहरूका अनुसार शिक्षक कर्माचार्यले जति कम अंक ल्यायो त्यति धेरै पटक नाडी चिर्न लगाउँथिन् । ब्लेडले चिरिएका विद्यार्थीका नाडीको तस्विर देख्ने जो कोहिको आङ सिरिङ्ग हुन्थ्यो ।
–अघिल्लो महिना माघ २९ गते मंगलबार भीमाद नगरपालिका–६ मा रहेको प्रभात एकेडेमीकी लेखापाल सुष्मा श्रेष्ठले कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेको भन्दै कक्षा ४ मा पढ्ने चार जना विद्यार्थीको गालामा तातो पन्युँले डामेको समाचार आयो । विद्यालयको प्रिन्सिपलकी छोरी उनले यस अघिपनि कक्षा कोठा नजिकै रहेको क्यान्टिनबाट तातो पानी ल्याउने र भनेको नमान्ने विद्यार्थीको हात उक्त पानीमा डुवाईदिने गरेको विद्यार्थीहरूले बताएका छन् ।
–केही दिन अगाडि मात्र नवलपरासी पश्चिमस्थित एक पाठशालाका शिक्षकको यातनाका कारण एक विद्यार्थीको देब्रे आँखा फुटेको समाचार प्रकाशित भएको थियो ।
–भीमाद घटनाको चर्चा सेलाउन नपाउँदै व्यास–१ भादगाउँमा रहेको मनकामना बोर्डिङ स्कुलका शिक्षक स्नेह ताम्राकारले कक्षा ३ मा अध्ययनरत विद्यार्थीलाई गृहकार्य नगरेको भन्दै शरीरमा निलडाम हुनेगरी कुटेको घटना सार्वजनिक भयो ।
–भादगाउँ घटनाको हप्ता नवित्दै पोेखरा जरेवर स्थित गण्डकी एकेडेमीका शिक्षकले कक्षा–६ का विद्यार्थीले कक्षामा पढाइ भइरहँदा शौचालय जान्छु भनेको भनेर शरीरभरी निलडाम हुने गरी कुटपिट गरेको अर्काे घटना सार्वजनिक भयो । विद्यार्थीलाई यातना दिएको तथा यातनाका कारण अंगभंग भएका यी घटना प्रतिनिधि घटना हुन् र सम्भवतः यी घटनाले मानिस विवेकशील प्राणी हो भन्ने मान्यतालाई खण्डित गरेको छ ।
भक्तपुरकी शिक्षक कर्माचार्यलाई अभिभावकको उजुरीका आधारमा भक्तपुर प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको समाचार आएको हो तर उनलाई के–कस्तो कारवाही भयो भन्ने विषयमा थप समाचारहरू आएनन् । विद्यार्थीको आँखा फुटाउने नवलपरासीका शिक्षकलाई पनि के कस्तो कारवाही भयो भन्ने विषयमा थप समाचार आएन ।
यता तनहुँको अघिल्लो महिनाको घटनाले भने धेरैलाई गम्भीर बनायो । समाजिक सञ्जालदेखि स्थानीय र राष्ट्रिय सञ्चार माध्यमले घटनाबारे प्राथमिकताका साथ समाचार प्रकाशन तथा प्रशारण गरे । सम्पादकीय मार्फत विद्यालय सिकाइको थलो भएको उल्लेख गर्दै डर त्रासबाट सिकाइमा सहयोग पुग्दैन भन्ने मान्यता स्थापित सिकाइका सिद्धान्त र अनुसन्धानहरूबाट प्रमाणित तथ्य भएको उल्लेख गरे ।
शिक्षा मन्त्रालय समेत यो विषयमा बोल्न बाध्य भयो । मन्त्रालयल तनहुँ जिल्लाको भिमादस्थित श्री प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कार्यरत लेखापालले विद्यार्थीको गालामा तातो पन्युले डामेको उल्लेख गर्दै विद्यालयमा दिइने कुनै पनि किसिमको सजाय कानुनद्वारा वर्जित रहेको तथा त्यस्तो कार्य बालअधिकारको समेत गम्भीर उल्लङ्घन भएको उल्लेख ग¥यो । मन्त्रालयले विद्यालयभित्र विद्यार्थीका उपर घटेका फौजदारी कसुर मानिने हिंसात्मक कार्यहरू जस्ता पक्षको गहिरो निगरानी राख्ने तथा दोषीको पहिचान गरी बालबालिका सम्बन्धी ऐन, २०७५ जस्ता कानुन बमोजिम कारवाहीको पहल गर्नेतर्फ सम्पूर्ण अभिभावक वर्ग, स्थानीय तह र स्थानीय प्रशासन सजग र सक्रिय रहन अनुरोध गरेको छ ।
स्थानीय अभिभावक आफ्ना बालबालिकालाई दिइएको यातनाका विरुद्ध सडकमै उत्रिए । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ तथा माओवादी समथर्क विद्यार्थी संगठनले दोषीमाथि कारवाहीको माग गरेर विज्ञप्ती निकाले । भीमाद नगरा पालिकाले छानविन समिति बनाएको छ । तर त्यस यताका घटनाक्रमबारे कुनै सूचना बाहिर आएका छैनन् । विद्यार्थी कुटिएका वा अंगभंग भएका अन्य घटनाका सन्दर्भमा पनि अवस्था यस्तै छ अर्थात छानविन भएको र दोषी पाईएकोले कारवाही भएको वा निर्दाेष ठहर भएकाले सफाइ पाएको भन्ने सूचना र समाचारहरू आएका छैनन् ।
बालबालिकालाई अनुशासन, संयम र कर्तव्य÷ अकर्तव्यको पाठ पढाउने शिक्षकले नै कर्तव्य भुल्ने र संयम गुमाउने भएपछि ति शिक्षकबाट दीक्षित हुन चााहने विद्यार्थीले कस्तो दीक्षा ग्रहण गर्ला भन्ने प्रश्न यतिबेला सर्वत्र चर्चामा छ । आखिर किन विद्यार्थीमाथि यसरी खनिन्छन् त शिक्षकहरु ? यसका कारण बारे सोधखोज गरिनु सायद अब जरुरी भैसकेको छ । सम्भावना अनेकौं हुन सक्छन् । नतिजा राम्रो दिनैपर्ने दवावमा शिक्षकहरु छन् तर आम विद्यार्थीमा पढ्ने बानीमा ह्रास आएका कारण विद्यालयकले भने जस्तो राम्रो नतिजा दिन सहज छैन । संगै सत्य के पनि हो भने कुनै पनि बालबालिका परीक्षामा आफ्नो कम अंक आओस् भन्ने पक्कै चाहँदैनन् । कतिपय प्रतिकूलताका कारण उनीहरुले आफैले र शिक्षकले अपेक्षा गरे अनुरुप अंक नल्याएका हुन सक्छन् । फेरी बालबालिकाको उमेर समूह अनुसारका बानीहरूका विषयमा शिक्षकहरु जानकार हुनु जरुरी छ र आम शिक्षकहरु जानकार छन् पनि । तर फेरी किन यस्ता यातनाका घटनाहरु दोहोरिरहेका छन् ? बुझ्न सकिएको छैन ।
एउटा शिक्षकको काम काँचो सुनको रुपमा रहेको बालकलाई आकार दिनु हो । उसमा व्याप्त अनेक खालका अन्धकारलाई हटाउनु एउटा गुरुको कर्तव्य र दायित्व हो । तर माथि उल्लेखित घटनाहरुले कतै शिक्षकहरु आफ्नो कर्तव्य र दायित्वबाट विमुख हुँदै गएका त होइनन् भन्ने प्रश्न उब्जेको छ । शिक्षक पनि मानिस हो र मानवजन्य रिस, आवेग लगाएतका गुण शिक्षकमा पनि हुन्छन् । तर शिक्षकले ति रिस, आवेग र उत्तेजनालाई आफ्नो नियन्त्रणमा राख्नु जरुरी छ । यसै त शिक्षकको मर्यादा डाँडा माथिको घाम भै सकेको अवस्थामा यस्ता घटनाले झन त्यसलाई अवसान तर्फ लैजान सघाउने वातावरण सृजना गरेको छ । गरुले आफ्नो गरिमा भुल्दा यस्ता घटनाहरू बारम्बार भइरहेका छन् । त्यसैले मेरो आग्रह, गुरुहरू आफ्नो गरिमा नभुलौं ।