असारकोे महिना, १५ असारको माहोलः यसपटक १५ असारकै बारेमा कनीकुथी दुई चार कुरा लेखौं कि जस्तो लागिरहेको थियो तर आफ्नो भएको २–४ रोपनी खेत पनि अरुलाई अँधिया गरीखान दिनेले पत्रिकामा असार १५ को महिमा गाउन शब्दहरु खर्चिदा खेतमा पसिना बगाएर सुन फलाउने वास्तविक किसानहरु प्रति अन्याय होला कि जस्तो लाग्यो । एकाविहानै गोठको धन्दा सकेर, गोरु अघाएर हतार हतार दुई गाँस चेपी घाम छउन्जेलसम्म खेतमा पाखुरा चलाउने किसानी दार्इंको कथा बेग्लै छ । बिहानीको घरधन्दा सकेर पटुकीमा भएको फुक्को चिउरा खाँदै दिनभरी खेतबारीमा काम गरेर फेरी बेलुकीको घरधन्दा भ्याउन आउनु पर्ने किसानी भाउजुको कथा पनि बेग्लै छ । त्यस्तै बेग्लै कथा छ डेरीबाट १ पोका दही किनेर किराना पसलमा किनेको चिउरासँगै राखी सामाजिक सञ्जालमा १५ असार, अर्थात् दहि च्युरा खानेदिनको शुभकामना दिन तछाड मछाड गर्नेहरुको । भएको खेतबारीमा पनि जागर चलाउन गाह्रो लागेर अरुलाई अँधिया खान दिनुपर्ने अवस्था आएपछि न १५ असारको महिमा गाउने नैतिकता राख्छु जस्तो लाग्यो न दहि च्युरा खानेदिनको शुभकामना दिन नै जाँगर चल्यो । त्यसकारण १५ असारको कुराहरुलाई यहिँ थाँति राख्दै आजको विषयवस्तु तर्फ प्रबेश गर्न चाहन्छु ।
आजको आलेखमा उठान गर्न चाहेको जस्तैं विषयवस्तुको बारेमा यो भन्दा पहिले पनि दुईचार कुराहरुले लेखिसकेको छु । आज मैले प्रस्तुत गर्न चाहिरहेको तर्कहरु कुनै निश्चित दायरामा बसेर गरींएको अनुसन्धानबाट प्राप्त नतिजाहरु पनि होइनन् । यी कुराहरु पङ्तिकारले दैनिक जिवनयापन गर्दै गर्दा आफ्नै छरछिमेक र समुदायमा देखे भोगेका र महशुस गरेका व्यक्तिगत अनुभव र विचारहरु हुन् । मैले उठान गर्न चाहिरहेको विषयवस्तु चाहिँ आजभोलीको अभिभावकले आफ्नो बालबच्चालाई दिने समय सम्बन्धित हो । पङ्तिकार को एउटा नजरले देख्यो भन्दैमा सबै अभिभावकहरु त्यस्तै हुनुहुन्छ भन्ने मनशाय कदापी होइन तर मैले त्यस्ता धेरै अभिभावकहरु देखेको छु जो आफ्नो बालबालिकालाई पर्याप्त समय दिनुहुन्न, समय हुँदा पनि ।
लेखलाई अगाडी बढाउन चाहन्छु अस्ति भर्खरै साक्षत्कार गरेको एउटा अनुभवबाट । विद्यालयमा वर्षे बिदा शुरु भईसकेको कारणले गर्दा फुर्सदमै थिएँ । घरमै थिए । एउटा साथीले फोन गरेर माछा मार्न जाने विचार सुनायो । आफ्नो दङ्ग त्यति नभए पनि साथीसाथी जाँदा रमाईलै हुने भएकोले सहमति जनाएँ । एक डेढ घण्टा समय पनि एउटै माछा, मार्न नसकेपछि साथीहरुलाई खोलामै छाडेर खाजा खान पसलतिर लगें । खाजा खाँदै गर्दा त्यहि पसलका दुई जना नानीहरु विद्यालयबाट फर्किए । निजी विद्यालयमा पद्ढा रहेछन् । विद्यालयमा परीक्षा चलेकोले छिट्टै फर्किएका रहेछन् । कपडा फेरीवरी खाजा खाँदै गर्दा ठूली चाहिँ नानीले भनिन्,‘हाम्रो स्कुलमा त छुट्टि पनि २ हप्ता मात्रै रे । अलि धेरै बिदा भए पो ।’ छोरीको कुरा सुन्ना साथ पसलवाली दिदिले जवाफ फर्काईहाल्नु भो के को जम्मा दुई हप्ता हो । त्यो पनि धेरै भयो मैले भनेर हुने भए त बिदै नगरेनी हुनी हो । ती दुई नानीहरु सम्भवत ठूली ४–५ मा सानी १–२ मा पढ्ने हुनुपर्छ । ती दिदिको कुरा सुनेर मैले प्रतिक्रिया स्परुप भने बच्चाहरुलाई अलिअलि बिदा त चाहिन्छनी दिदि र सधैं स्कुल गईराख्न त झ्याउ गर्छन् यी दिदि बहिनिले चलेको चल्यै, खेलेको खेल्यै, किताब फिटिक्कै हेर्नी होइन हैरान पार्छन् । बरु स्कुल गए आनन्दै जवाफ सुनेर छक्क परें । थप बहस गर्नुको औचित्य नदेखेपछि खाजाको पैसा तिरेर खोला तिरै लागें ।
यस्तै अनुभव छ अर्को पनि । यो चाहिं अलि पहिले विद्यालयमा भर्ना अभियान चल्दै गर्दा ताकाको हो । मेरै छिमेकमा निजी विद्यालयमा पढ्ने एउटा बाबुलाई हाम्रै विद्यालयमा भर्ना गर्नु प¥यो भन्ने प्रस्ताव लिएर गएँ । अभिभावकले आलेटाले कुराहरु मात्र गरिराख्नु भयो । स्पष्ट जवाफ दिन चाहनु भएन । हाम्रो विद्यालयमा पढाउन किन नचाहनु भएको हो ? पढाई चित्त बुझ्दो लागेन कि अरु सेवा सुविधा भएन कि भनेर धेरै पटक सोधेपछि बल्ल उहाँले स्पष्ट जवाफ दिनु भयो । कारण के रहेछ भने विद्यालय घरबाट नजिक भएको हुँदा विहान पनि करिव करिब दशबजेसम्मै घरमै हुने दिउसो पनि चार बजे नै घरमा आईपुग्ने, दमौली पढाए पछि विहान आठ तीस तिर गाडी लिन आईहाल्छ, साँझ पाँच तीस नभै घर आईपुग्दैन । आनन्दै । घरमा भयो भने त झ्याउ गर्छ । न एकसुरले काम गर्न दिन्छ । न आरामले बस्न दिन्छ । दुईचार बर्ष सानो भईन्जेल, दमौली नै पढाउने उहाँको निर्णय सुनेपछि हामी दिक्दार मान्दै फक्र्यौ ।
मैले माथिका दुईवटा प्रतिनिधि मूलक अनुभवहरु किन साट्न चाहेको हूँ भने अहिलेका धेरै अभिभावकहरु आफ्नो बालबच्चालाई प्रयाप्त समय दिएर आफ्नै सामिप्यतामा हुर्काउन भन्दा पनि कसो गर्दा छुटकारा हुन्छ र सजिलो हुन्छ भन्ने तर्फ ध्यान दिनुहुन्छ । बालबालिकाको सर्वाङ्गिण र सर्वोत्तोम विकासको लागि बाल्य अवस्थामा केटाकेटीले धेरै भन्दा धेरै समय अभिभावकसंग विताउन पाउनु पर्दछ भन्ने तथ्य कति अभिभावकले बुझ्नु भएकै छैन । कतिले त थाहा हुँदा हुँदै पनि वास्ता गर्नुहुन्न । स्कूल पठाएपछि सबै कुरा ठीक हुन्छ भनेर सोंचिदिनु हुन्छ । जुन पूर्णरुपमा सत्य होइन । हाम्रै विद्यालयको बालविकाश केन्द्रमा पनि तीन बर्ष पनि नपुगेका बाबु नानीहरुलाई भर्ना गर्न ल्याउनु भएको छ, किनतनि यति सानैमा भर्ना गर्न ल्याउनु भएको भनेर सोध्दा कतिले बानी लगाउन ल्याएको भन्नु हुन्छ, कसैले चाही स्कूल पठाएपछि घरमा हेर्नुपनि परेन, दुई चार अक्षर पनि सिक्छ भन्नु हुन्छ । त्यो तीन बर्ष पनि पुरा नभएको बच्चाले के अक्षर सिक्ला ? मचाले खाएर, खेलेर, सुतेर हुर्कन पाउनु पर्ने उमेरमा स्कूल जाने बानी बसाल्नु पर्ने कस्तो विडम्बना !
बुझेरै समय नदिनु भएको हो कि भनेर सम्झाउने प्रयास गर्दा केही अभिभावकले अ तनि सर, हुन त हो, तर घरको कामले फुर्सदै हुँदैन भनेर दुखेसो पोख्नु हुन्छ । मैले उहाँहरुलाई घरको काम त गर्नु पर्छ नै तर काम साँचेर भएपनि बच्चाहरुलाई समय चाही दिनु पर्दछ भनेर सम्झाएको छु । कति पय अभिभावकले भने टाईम दिनु पर्दछ भनेर भन्न सजिलो छ सर, भोलिपर्सि बच्चा जन्मिएपछि थाहा पाउनु होला । तपाईले चाही कत्तिको टाईम दिनुहुन्छ ? हामी पनि हेरौंला भन्ने खालको अभिव्यक्ति पनि दिनुभएको छ । त्यस्तो बेला मेरो कुरा छँदै छ, मैले आफूले जानेको कुरा सुनाएको मात्र हूँ भन्छु बाटो लाग्छु ।
मेरै पसलमा इन्टरनेटको सुविधा उपयोग गर्न आउनेहरु एक घण्टा दुईघण्टासम्म बस्छन् । तर पुरै समय मोवाईलमा कि टिकटक, कि यूट्यूव, कि फेसबुक । बच्चो एउटा फोनमा झुण्डिरहेको हुन्छ, बाबुआमा अर्को फोनमा । अनि कहिले काही गफगाफ हुँदा उहाँहरु नै गुनासो गर्नुहुन्छ, बच्चा बच्चीलाई धेरै फोन हेर्ने बानी भयो भनेर । बालबच्चालाई प्रयाप्त समय दिन आवश्यक छ भनेर बुझ्दै नबुझ्नु भएको अभिभावकको व्यथा त बेग्लै, बुझेकै अभिभावक पनि सकेसम्म छुटकारा चाहन्छन् । उपाय के विहान बेलुकै ट्यूशन । बच्चाको चिन्ता गरेको जस्तो पनि भयो । हेरीराख्न पनि परेन ।
यो आलेख पढ्दै गर्दा अभिभावक बर्गप्रति नकारात्मक टिप्पणी मात्र गरेजस्तो देखिन्छ । तर मेरो आपत्ती खाली के मा मात्रै हो भने विभिन्न बहानामा बालबच्चालाई समय नदिनु । केटाकेटीसंग खेल्नु भुल्नु, राम्रा राम्रा कुराहरु, संस्कारका कुराहरु, सिकाउनु भन्दा बरु सजिलो मोवार्यल दियो बस् । आफूलार्य मन लागेको हेर्छ
बस्छ । हामीले के बुझ्नु जरुरी छ भने जति धेरै समय बालबालिकाले आफ्नो परिवारका सदस्यहरुसंग विताउने मौका पाउँछ, उतिधेरै उसले परिवारको महत्व बुझ्छ । जति धेरै समय हामी आफ्नो बालबालिकासंग विताउँछौं, उनिहरुसंग बोल्छौ, उनिहरुको कुरा बुझ्ने कोशिस गर्दछौं, त्यति उनिहरु गलत संगतमा लाग्ने, विग्रने संभावना पनि घट्छ । त्यसैले यो अतिआवश्यक छ कि हामी हाम्रो बाबुनानीलाई प्रयाप्त समय दिऔं । सानोमा छोरा छोरीको भुलाउनुको दुःखले मोवाईल दिएर टार्ने बाबुआमालाई यसो छोरा बुहारीले दुई बचन वात मारेनि हुन्थ्यो जस्तो लाग्दा छोराछोरीले त बाआमा सबै सबै कुरा चल्ने फोन किन्द्याछु । यही हेर्दै बस है भन्यो भने, त्यतिबेला कस्तो लाग्ला ? त्यसरी बुढेसकालमा छोराछोरीले समय दिओस् जस्तो लाग्छ भने हामीले पनि आज उसको बच्पनमा समय दिनु जरुरी छ । आखिर जे रोप्यो उही फल्ने हो, होइन र ?
गाह्रो नमानौं, समय दिऔं
previous post