दमौली÷नेपाल रेडक्रस सोसाईटी तनहूँ शाखाले कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्यका लागि सरोकारवालाहरुसंग समन्वय बैठक गर्दै सीआईसीटी टिमका लागि अभिमुखीकरण कार्य सम्पन्न गरेको छ ।
नयाँ नयाँ भेरियन्टका कोभिड–१९(कोरोना) ले दैवीविपत्तीको रुपमा समाजलाई आतंकित पारिरहेको परिप्रेक्षमा सुरक्षा कवच बनेर रेडक्रसले आफ्ना गतिविधिहरुलाई विश्वव्यापी रुपमा सञ्चालन गर्ने क्रममा तनहुँमा पनि प्रभावकारी गतिविधिहरु गर्दै आएको नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका सभापति कृष्णहरि वाग्लेले
बताए ।

रेडक्रसले मंगलबार घिरिङ्ग, ऋषिङ्ग, भिमाद, शुक्लागण्डकी, म्याग्दे गाउँपालिका तथा नगरपालिकाका सिआईसीटीका टीमलाई अभिमुखीकरण गरेको थियो भने सोमबार देवघाट, आँबुखैरेनी, बन्दिपुर, भानु, व्यासमा कार्यरत त्यो टीमलाई अभिमुखीकरण गरेर सरकारी कार्यक्रमसंगसंगै रेडक्रस अभियानलाई पनि गतिशिल बनाउने प्रयास गरेको हो । यस अघि पुसको ९ नौ गते तनहूँ जिल्ला स्थित कार्यालय प्रमुख तथा स्थानीय तहका प्रमुखहरुसंगको समन्वय बैठक गरेर कोभिड–१९ पूर्व तयारी प्रतिकार्य कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ ।
समन्वय वैठकले विभिन्न निर्णयहरु गरेको थियो । खोप कार्यक्रमलाई प्रभावकारी बनाउने, स्थल मार्गमा चल्ने सवारी साधनहरुलाई सुरक्षा संयन्त्रलाई प्रभावकारी रुपमा पालना गरी सवारी चलाउन निर्देशन दिने, खोप कार्यक्रमलाई प्रभावकारी रुपमा प्रचार प्रसार गर्ने, रेडक्रसका स्वयमसेवकहरुलाई पनि स्थानीय तहका स्वास्थ्य शाखाको समन्वयमा प्रभावकारी परिचालन गर्ने र अन्य विपदलाई पनि व्यवस्थित गर्ने पूर्वतयारी गर्ने लगायतका निर्णयहरु समन्वय बैठकले गरेको थियो ।