
केही वर्षदेखि तनहुँ आवाज साप्ताहिकमा र अन्त्यमा शीर्षक दिएर समसामयिक विषयमा लेख्ने गरेको छु । सकेसम्म राजनैतिक विषमया नलेखुँ भन्छु तर कहिलेकाहीँ आफ्नै आँखा अगाडिका राजनीति सृजित विकृति र असङ्गति देख्दा नलेख्न मनै मान्दैन । अन्यथा मेरो प्राथमिकतामा राजनीति बाहेकका समसामयिक विषय पर्छन् र त्यही विषयमा केन्द्रीत रहेर लेख्ने प्रयास गरेको छु ।
केही हप्ता अगाडि “अब कम्बल भिजाऊँ” शीर्षक दिएर, दाजुभाइबीचको अंशवण्डा सम्बन्धि कथा प्रस्तुत गर्दै वर्तमान राजनैतिक नेतृत्व आफु र आफन्तका लागि राज्य स्रोतको दोहनमा लागेको तर नागरिक हितमा नसोचेको विषयमा लेखेको थिएँ । कथामा, दुई दाजुभाइले एउटा कम्बल र एउटा भैँसी बाँडफाँड गर्नुपर्ने हुन्छ । भाइले दाजुको सम्मान गर्दै बाँडफाँडको जिम्मा दाजुलाई दिन्छ । दाजुले कम्बल दिनमा भाइलाई र रातमा आफूलाई, अनि भैँसीको अगाडिको भाग भाइलाई दिने र पछिल्लो भाग आफूले राख्ने निर्णय गर्छ । जाडो बढ्दै गएपछि भाइलाई समस्या हुन्छ । दाजुले आफ्नो निर्णय नबदल्ने अडान लिएपछि, भाइले प्रतीकात्मक रूपमा विरोध जनाउँछ । उसले कम्बललाई दिनभर पानीमा भिजाएर साँझ दाजुलाई दिन्छ र भैँसी दुहुने बेलामा अगाडिको भागमा लौरीले हिर्काउने जस्तो गरेर दाजुलाई दुहुन दिँदैन । यसरी भाइले दाजुको स्वार्थी निर्णयमाथि प्रश्न गर्छ ।
अरु बेलापनि मेरा लेखहरू पढ्ने गरेको बताउने र लेखमा भएका कमी कमजोरी औंल्याउँदै सुधारका सुझाव दिने एक मित्रले यो लेख पढिसकेर भेटका अवसरमा सोधे, किन लेख्ने ? लेखेर के हुन्छ ? उनको प्रश्न अझै सकिएको थिएन । अगाडि थपे, तिमीलाई के लाग्छ, जसरी कथाको भाइले आफ्नो अधिकारको रक्षा गर्न कम्बल भिजाएको थियो, त्यसरी नै अब आम नेपालीले पनि आफ्नो अधिकार र भविष्यका लागि नेताहरूको स्वार्थी प्रवृत्तिको विरोधमा उत्रन्छन् ? कम्बल भिजाऊँ भन्नुको अर्थ हो, जनता सचेत हुनुपर्छ र नेताहरूलाई उनीहरूको गल्तीको महसुस गराउनुपर्छ । तर के तिम्रो लेख पढ्दैमा कोही सचेत भैहाल्छ ? नेताहरूमा रहेको स्वार्थी पना हटेर जान्छ ? आजसम्म तिमीले जे लख्यौ के त्यसबाट केही परिवर्तन भएको पाएका वा महसुस गरेका छौ ? कोही कम्बल भिजाउन तयार भयो ? फरक भएको छ भने के ? र यदि छैन भने किन लेख्छौ ? पत्रिकाको तीन कोलम भर्ने मात्र काम भएको भए लेख्ने किन ?
साथीका प्रश्नहरु सुन्दा नमिठा लाग्ने भएपनि यथार्थमा आधारित लाग्छन् । राष्ट्रिय स्तरका टेलिभिजन र पत्रपत्रिका लगाएतले देशमा भएका विकृति र असङ्गतिबारे दिन रात भनिरहेकै छन्, छापी रहेकै छन् । तर न भ्रष्टाचार घटेको छ न विकृति र विसङ्गति कम भएको छ । यस्तोमा मोफसलमा बसेर साप्ताहिक पत्रिकाको पछिल्लो पेजको तीन कोलममा लेख्दैमा के नै परिवर्तन हुन्छ ? कसले सुन्छ ? यसैपनि आजकल पत्रपत्रिका पढ्ने मानिसको संख्या घट्दो छ, सबै मोबाइलमा व्यस्त छन् । यस्तो अवस्थामा साथीले किन लेख्ने ? लेखेर के हुन्छ ? भनि प्रश्न गर्नु स्वाभाविक नै हो । लेख्नु व्यर्थ छ, किन लेख्छौ ? भनेर निराशाको बीज ममा रोपेर छाड्न खोजे पनि उनी मेरा लेख पढ्दा रहेछन्, शीर–पुछ्छाार भन्ने जानेर मलाई खुब खुसी लाग्यो ।
साथीको कुराले मलाई स्नातक तहमा अध्ययन गर्दा पढेको “ब्रेभ लिटल प्यारोट” शीर्षक कथाको याद आयो । कथामा एउटा जंगल छ र उक्त जंगलमा धेरै थरी चराचुरुङ्गी र जीव जनावरहरू बस्छन् । चराचुरुङ्गीको हुलमा एउटा सानो सुगा पनि छ ।
एक दिन जंगलमा भयंकर आगलागी भयो । सबै जनावर र चराहरू ज्यान जोगाउने भन्दै भाग्न थाले । तर सानो सुगा भने नभागी खोला किनारमा जाँदै आफ्नो चुच्चोमा ल्याउन मिल्ने जति पानी ल्याउँदै आगलागी भएको ठाउँमा खसाल्न थाल्यो । सुगाको काम हेरिरहेका अन्य चरा र जनावर तेरो त्यो सानो चुच्चोमा ल्याएको पानीले जंगलमा लागेको आगो निभाउन सक्दैन । व्यर्थको प्रयत्न गर्ने तँ कस्तो मुर्ख होस् भन्दै उसको खिसिट्युरी गर्न थाले । सुगालाई हाँसोको पात्र बनाउन थाले । तर सुगाले आफ्नो काम जारी राख्यो र आफ्नो खिसिट्युरी गरिरहेकाहरुलाई दृढता पूर्वक जवाफ फर्कायो, म एउटाले गरेर के हुन्छ र ? किन गर्ने भनेर बस्यो भने हाम्रो वासस्थान अबको केही बेरमा आगोले जलेर खरानी हुन्छ । आगोको निर्मम लप्कामा परेर हाम्रा बचेराहरु मर्छन् । तर हामी प्रत्येकले म पनि प्रयत्न गर्छु भन्ने हो र त्यो प्रयत्न तत्काल थाल्ने हो भने हामी हाम्रो वासस्थान रहेको यो जंगललाई बचाउन सक्छौं । गुँडमा बसिरहेका हाम्रा बचेरालाई जीवन दिन सक्छौं । म जति सक्छु त्यति गर्छु । सबैले आफुले सकेको प्रयत्न गर्ने हो भने आगो अवश्य निभाउन सकिन्छ ।
कथामा अगाडि के हुन्छ ? भन्ने कुराको अनुमान गर्ने र गुगलमा पाइने यो कथा खोजेर पढ्ने जिम्मा तपाईँलाई छोड्दै आफ्नो कुरा गर्छु । मलाई पनि कहिले काहीँ लाग्छ, लेखेर के हुन्छ ? एक मनले भन्छ, तिमीले लेखेर केही लछारपाटो लागाउने वाला छैनौ । भैगो छाडिदेउ अर्काे हाप्ता के विषयमा लेख्ने भनेर अनावश्यक मथिँगल खियाउन र जलवायु परिवर्तन, महिला हिंसा, सिमसार संरक्षण, वन्यजन्तु संरक्षण, वातावरण संरक्षण, मौलिकता हराएका हाम्रा चाडपर्व, गरिबी, बेरोजगारी, गुरु गरिमा आदि आदि अनेक विषयमा गन्थन गरेर पत्रिकाको पाना भर्न । देशमा व्याप्त विकृति, वेथिती र विसंगती विरुद्ध तिमीले जति नै आगो ओकले पनि त्यसले कसैलाई अलिकति पनि पोलेको छैन भने आफ्नो शक्ति क्षय गर्न मात्र किन आगो ओकल्ने ? लेख्नु तिम्रो रुचिको विषय होला तर के तिम्रो उपलब्धि विहीन रुचि पूरा गर्न पत्रिकाले आफ्नो तीन कोलम छुट्याउनु पर्ने ?
साथी र एउटा मनले जे भने पनि मैले लेख्न छाडेको छैन । नलेखौं कि भन्ने पनि लाग्छ तर फेरी माथि उल्लेख गरेको सुगाको कथा याद आउँछ । अनि पछिल्लो समय व्यास नगरपालिकाले प्रारम्भ गरेको प्लाष्टिक झोला निशेध अभियान सम्झन्छु र मेरो गन्थनले निरन्तरता पाएको छ । मानिसका लागि अपरिहार्य जस्तै बनेको प्लाष्टिकका झोला निषेध अभियान व्यासले प्रारम्भ गर्दै गर्दा सुगाको आगो निभाउने प्रयत्नलाई जस्तै खिसिट्युरी गर्नेहरु धेरै थिए र अद्यापि छन् । तर व्यास नपालाई जस्तै मलाई विश्वास छ, एक दिन सबैले यो अभियानमा साथ दिनेछन् । त्यो सामूहिक साथले वातावरण संरक्षण, वायू प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन तथा सहरी स्वच्छता आदिमा सकारात्कम परिवर्तन आउने छ । त्यस्तै विश्वास भाइहरु कम्बल भिजाउन तयार हुनेछन् भन्नेमा छ अनि विकृति, बेथिति, असङ्गति विरुद्ध आम नागरिकले आगो ओकल्न थाल्नेछन् र तिनका वाहकलाई त्यसको लप्काले पोल्नेछ । किन लेख्ने ? लेखेर के हुन्छ ? उत्तर मेरो त्यही विश्वास हो ।