
केटा र केटी विवाहका लागि तयार भए । आजकलको चल्तीको भाषामा इन्गेजमेन्ट सम्पन्न भयो । केटीका बुबाले विदाइका बेला जन्तीमा कुनै पनि वृद्धलाई नल्याउन आग्रह गरे र थपे यदि कोही वृद्ध जन्ती आएको भेटिएमा म छोरी दिने छैन । इन्गेजमेन्टमा सहभागीहरुले कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडाएको ठाने र खुसी साथ केटीका बुबाको सर्तमा मन्जुरी जनाए । वास्तवमा केटा पक्षका धेरै बुबा वा हजुरबुबा पुस्ताको कसैलाई जन्ती ल्याउने पक्षमा थिएनन् । बेहुलो अन्माउने बेला बेहुलोका हजुरबुबाले जन्ती नगइ नछाड्ने जिद्दी गर्दै दौरा सुरुवाल र ढाका टोपी लगाएर तयार भएर निस्के । गाडीको कुनै कुनामा हजुरबुबालाई लुकाउने गरी जन्ती हिड्यो । बेहुलीका बुबाको विश्वास पात्रले जन्ती आएको बसमा गएर खानतलासी गरे तर कोही वृद्ध भेटेनन् । जन्तीमा कोही वृद्ध नआएको पक्का भएपछि बेहुलीका बुबाले अर्काे सर्त राखे, नजिकै रहेको नदीमा पानीको सट्टा शुद्ध दूध बगाउन नसके म छोरी दिन्न । बेहुलो र जन्तीमा सहभागी असमन्जसमा परे । धेरै सोचे तर केटीका बुबाको नयाँ सर्त पूरा गर्न सक्ने सम्भावना देखेनन् र रित्तो हात फर्कने निधो गरे । फर्कनका लागि गाडी चढेका जन्तीलाई लुकेर बसेका हजुरबुबाले बाहिर निस्कँदै सोधे विवाह सकिइसक्यो ? बेहुलो नातीले, नजिकै बगीरहेको नदीमा शुद्ध दूध बगाउन सके मात्रै छोरी दिने नत्र नदिने भन्ने असम्भव सर्त पूरा गर्न नसकेर विहे नै नगरी फर्कन लागेको बतायो । नातीलाई ढाढस दिँदै हजुरबुबाले भने, यस्तो कुरामा आत्तिएर निर्णय गर्ने हो ? बेहुलो बनेर घरबाट अन्मिएर निस्केपछि बेहुली नलिएर फर्कन हुन्न ? यो सामान्य कुरा हो ? यस्तो कुरामा हरेस खाएर रित्तै फर्किने कुरा
नगर । हजुरबुबाले थपे, बेहुलीका बुबालाई खबर गरीदेऊ कि हामी नदीमा पानीको सट्टा शुद्ध दूध बगाउन तयार छौं तर पहिले नदीमा भएको पानी हजुरहरुले खाली गरिदिनु होला । बेहुला पक्षको जवाफ सुनेर बेहुलीका बुबाले आफ्नो विश्वास पात्रलाई अह्राए, जाउ एक पटक फेरी हेर जन्तीमा कोही न कोही वृद्ध अवश्य हुनु पर्छ ।
भगवान कृष्णले श्रीमद्भगवद्गीतामा सूर्याेदय हुनलाई सुख र अस्त हुनुलाई दुःखको रुपमा अथ्र्याउँदै भन्नु भएको छ, ज्ञानी मानिस सूर्य जस्तै हुन्छन् । जसरी सूर्य उदाउँदा पनि ताम्र रङको हुन्छ र अस्ताउँदा पनि ताम्र रङको हुन्छ, त्यसरी नै ज्ञानी मानिस सुखमा नमात्तिने र दुःखमा नआत्तिने
हुन्छन् । अपवादलाई छोडेर अधिकांश वृद्धवृद्धाहरु सूर्य जस्तै हुन्छन् । हतारमा निर्णय नगर्ने, समस्या आएमा धेरै सोचेर समाधानका सहज उपायहरु खोज्ने र समाधान दिने ।
यस सन्दर्भमा अर्काे एउटा सन्दर्भ उल्लेख गर्न
चाहन्छु । एउटा दृष्टि विहिन र एउटा हिँडाइमा समस्या भएको मानिस आगलागी भएको ठाउँमा फसे । दृष्टिविहिन जता आगो लागेको छ, त्यतै गइरहको थियो । उता हिँडाइ समस्या भएको मनिस हिँडन नसकेका कारण जलेर मर्दै थियो । यस्तैमा हिँडाइ समस्या भएको मानिसले दृष्टि विहिनलाई बोलाएर भन्यो, बाबु तिमी आगो लागेको तिर गइरहेका छौं । यसरी नै अगाडि बढ्यौ भने तिमी जलेर मर्ने छौ । यता म हिँड्न नसकेका कारण जलेर मर्न लागेको छु । तिमी हिँड्न सक्छौ तर बाटो देख्दैनौ अनि म बाटो देख्छु तर हिँड्न सक्दिन । हामी दुइजना मिल्यौं भने दुबैको ज्यान बच्छ । त्यसैले आउ, तिमी मलाई काँधमा बोक, म तिमीलाई बाटो बताउने छु । दुबैको ज्यान बचाउँ । यो सन्दर्भलाई देश, समाज परिवर्तन गर्ने मन र उत्साहलाई जोडेर हेर्ने हो भने दृष्टिविहिनको अवस्थामा युवाहरु र हिँडाइ समस्या भएको मानिसको स्थानमा वृद्धहरु छन्, भन्नु उपयुक्त हुनेछ । किनभने युवासंग बल छ, केही गर्ने हुृटहुटी छ, उत्साह र जोश छ । तर त्यसलाई सर्वजन हितायको मर्म अनुरुप कार्यान्वयनमा ल्याउने सुझबुझ छैन । अनि वृद्धवृृद्धासंग सुझबुझ पूर्ण व्यवहार छ, निर्णय गर्दा सर्वजन हितायको भाव ख्छन्, कार्यान्वयन गर्ने तत्परता पनि छ तर ति सबैका लागि आवश्यक मानसिक र शारीरिक सामथ्र्य भने हुँदैन ।
अहिलेको अवस्था अवलोकन गर्ने हो भने ५० नाघेकाहरुलाई सुड्डो नाम दिएर यिनीहरुबाट केही हुँदैन, यिनीहरु केही जान्दैनन र यिनीहरुले केही गरेनन् भन्ने भाष्य निर्माणमा केही मानिसहरु लागेको देखिन्छ । नो, नट अगेन भन्ने केही समय अगाडीको नारा त्यही भाष्य निर्माणको अभ्यास थियो । तर नो, नट अगेन नारा कति समय अलापियो र त्यसको अन्तर्य के रहेछ भन्ने शायद सबैले बुझेका छन् । बृद्ध भएको बाबुलाई डोकोमा हालेर फाल्न लगेको छोराले आफुलाई पनि छोराले त्यसरी नै डोकोमा हालेर फाल्न लैजान्छ भन्ने सत्यलाई बृद्धवृद्धालाईसुड्डो, अनपढ गवाँर उपमा दिनेहरुल भुले झैं छ, । यो सत्य हो र वर्तमान पुस्ताले यसलाई अनदेखा गरे पनि वा भुलेझैं गरेपनि सत्य आखिर सत्य नै रहन्छ र नियती सबैको त्यही हो ।
हात काम्ने रोगले ग्रसित एक वृद्धा छन् । उनले टेवलमा बसेर खाना खाँदा प्राय कचौराहरु भुईँम खस्छ र फुट्ने गर्छ । छोरा बुहारीलाई बुढाले जानी जानी कचौरा फोर्ने गरेको लाग्छ र बुबाका लागि काठको कचौराको व्यवस्था गर्छन् अनि भुईंमा खान वस्ने व्यवस्था मिलाउँछन् । एक दिन बाहिरबाट आउँदै गर्दा घरको आँगनमा उनीहरुको सानो छोरा काठको टुक्रा लिएर केही गरिरहेको
हुन्छ । दुबैले एकै स्वरमा
सोध्छन् ? के गरेको बाबु ? छोराले बालसुलभ जवाफ दिन्छ, मैले हजुहरुका लागि काठको कचौरा बनाएको ।
हामी मौका पर्नासाथ वृद्ध भएका बाबुआमाको वा अन्य कोहीको अपमान गर्न, केही जान्दैनन भनेजस्तो गरेर अनपढ र गवाँर भन्न एक रति पनि पछि हट्दैनौं । हामीले आफ्ना बुबाको लागि काठको कचौरा बनाएको देखेको हाम्रो छोराले हाम्रा लागि काठको कचौरा बनाउँछ भन्ने कुरा नबुझेका पक्कै होइनौं तर खोइ किन हो काठको कचौरा बनाउने श्रृङ्खला भने रोकिएको छैन ।