दमौली/नेपाली कांग्रेसको गतसाता सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री गगनकुमार थपाको प्रतिवेदनलाई पारित गरेसंगै आगामी निर्वाचनहरु कांग्रेस एक्लैले लडने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन पक्षीय नेताहरु भविष्यको परिस्थिति हेरेर मात्रै गठबन्धनको विषय उठाउनुपर्ने अडानमा भएपनि अन्तत गगनको प्रतिवेदनबाट गठबन्धन शब्द हटाएर तर गठबन्धन शब्द हटाएर तर गठबन्धन भने नगर्ने निर्णयमा कांग्रेस पुगेको हो ।
कांग्रेसले पारित गरेको महामन्त्री थापाको प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनःस्थापित गर्नेछौं । प्रतिवेदनमा भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्ने र मतदातालाई नेपाली कांग्रेसको चुनावचिह्न रूखमा नै मत हाल्ने पाउने अवस्था सुनिश्चित गर्ने उल्लेख छ ।
महामन्त्री थापाले गत फागुनमा सम्पन्न कांग्रेस महासमिति बैठकमा गठबन्धन गर्न नहुनेभन्दै प्रतिवेदन नै पेश गरेका थिए । उनले प्रतिवेदनमा विगतमा पार्टीले विशेष राजनीतिक परिस्थितिमा अन्य दलहरूसँग निर्वाचनपूर्व गठबन्धन गरेर निर्वाचन लडे तापनि आफ्नै संगठनलाई थप ऊर्जाशील बनाई संगठनको, आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनस्र्थापित गर्ने उल्लेख गरेका थिए ।
महामन्त्री थापाको यही प्रतिवेदनलाई आधारमान्दै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २१ मा कांग्रेससंगको गठबन्धन तोडेर एमालेसंग गठबन्धन गर्न गएका थिए ।
माओवादीले पनि आफ्ना निर्णयहरुमा भविष्यमा हुने निर्वाचनहरु एक्लै लडने निर्णय गर्ने गरेको थियो ।
तर कांग्रेसको एक्लै चुनाव लड्ने निर्णयलाई गठबन्धन तोड्ने बहाना बनाएर एमालेसंग गठबन्धन गरेका दाहालको एमालेसंगको गठबन्धन भने गत जेठ १७ राती नै चार महिना हुन नपाउँदै तोडिएको थियो ।
यसैवीच सत्ताधारी दल एमालेले पनि भविष्यमा हुने आवधिक निर्वाचनहरु एक्लै लड्ने निर्णय गरेको छ । यसैसाता सम्पन्न एमाले केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रमुख राजनैतिक दलहरुको यो निर्णयले भविष्यमा हुने आवधिक निर्वाचनहरु गठबन्धनविना हुने देखिएको छ ।