दमौली/नेपाली कांग्रेसभित्र १५ औं महाधिवेशन र विशेष महाधिवेशनलाई लिएर संस्थापन र विशेष महाधिवेशन पक्षबीच द्वन्द्व चर्किएको छ । संस्थापन पक्षले नियमित १५ औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको दाबी गरिरहँदा विशेष महाधिवेशन पक्षधरले भने पुस २८ भित्रै विशेष महाधिवेशन गरिसक्नुपर्ने अडान दोहो¥याएका
छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गत पौष १८ गते निर्णय गर्दै १५ औं महाधिवेशनको कार्यतालिका मंसिर १५ मै सर्वसम्मतिले पारित भइसकेकाले अब विशेष महाधिवेशनको औचित्य समाप्त भएको स्पष्ट पारेको छ । विधानतः कुनै पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा अधिवेशन बोलाउन नमिल्ने भन्दै कांग्रेसले ’विशेष महाधिवेशन’ का नाममा फैलाइएका भ्रममा नपर्न कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीले अहिलेको मुख्य प्राथमिकता आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र क्रियाशील सदस्यता नवीकरण रहेको जनाएको छ ।
अर्कोतर्फ, विशेष महाधिवेशनको माग गरिरहेको समूहले बुधबार पत्रकार सम्मेलन गरी विधानको बाध्यकारी व्यवस्था अनुसार पुस २८ भित्रै महाधिवेशन हुनुपर्ने चेतावनी दिएको छ । असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको ३ महिनाभित्र महाधिवेशन बोलाउनुपर्ने उनीहरूको तर्क छ । नेता देवराज चालिसेले नेतृत्व गैरजिम्मेवार भएको आरोप लगाउँदै १८ वटा उपसमिति गठन गरिएको जानकारी दिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत पुस २७ र २८ का लागि विशेष महाधिवेशनको तयारी अघि बढाएका छन् ।
एकातर्फ संस्थापन पक्ष निर्वाचन र नियमित महाधिवेशनको तयारीमा लाग्न अपिल गरिरहेको छ भने अर्कोतर्फ असन्तुष्ट पक्षले नेतृत्वले विधान मिचेको भन्दै समानान्तर गतिविधि अघि बढाएको छ । यसले निर्वाचनको मुखमा पार्टीभित्र ठूलो अन्योल सिर्जना गरेको छ ।
