प्रधानमन्त्री दावी गर्न आज राती ९ बजेसम्म समय
रमेश विकल-वहालवाल प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले संसदमा विश्वासको मत नपाएपछि दुइ वा दुइभन्दा बढी दलका सांसदको समर्थन सहित बहुमतको प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई आह्वान गरेकी छन् ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा(२) बमोजिम २०७४ फागुन ३ मा प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीले सोही संविधानके धारा १०० को उपधारा(१) बमोजिम मिति २०७८/१/२७ मा प्रतिनिधि सभामा विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको समेतको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको मिति २०७८/१/२७ को पत्र प्राप्त हुन आएको उल्लेख छ । विज्ञप्तीमा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८÷१÷३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपति समक्ष आफ्नो दावी पेश गर्न आह्वान गरेको जनाइएको छ । प्रतिनिधिसभाको सोमबार मध्यान्ह बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्मा अस्वीकृत भएको थियो । ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका थिए । विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव–बाबुराम भट्टराई) समूहका सांसद समेतको १२४ मत परेको थियो । जसपा महन्थ ठाकुर तथा राजेन्द्र महतो पक्षका १५ सांसदको तटस्थ मत परेको थियो भने । एमालेका झलनाथ खनाल–माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका थिए । सोमबारको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागि थिए । ओलीले विश्वास प्राप्त गर्नका लागि १ सय ३६ मत पाउनु पथ्र्याे ।
राष्ट्रपतिले सरकार निर्माणका लागि आह्वान गरेसंगै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो संसदिय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार निर्माणको पहल थालेको छ । तर राजपाको महन्थ–राजेन्द्र समूहको समर्थन नहुने हो भने देउवाको पक्षमा बहुमत पुग्ने अवस्था छैन । सोमबार राती नै महन्थ ठाकुरले आफ्नो दलको प्राथमिकता सरकार नभएको विज्ञप्ती जारी गरेपछि देउवाको पाँचौ पटक प्रधानमन्त्री बन्ने कसरतले सार्थकता पाउने सम्भावना टर्दै गएको छ । उता एमाले नेता कार्यकर्ता भने बैकल्पिक सरकार नबन्ने र संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतले ओलीनै फेरी प्रधानमन्त्री बन्ने सम्भावना नजिकिएको भन्दै खुसी व्यक्त गर्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा भने ओली, देउवा, प्रचण्ड, माधव वा झलनाथ बाहेक युवा पुस्तालाई नेतृत्वमा ल्याउनु पर्ने आवाज उठ्न थालेको छ ।