राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा आज विहिबार वा भोली शुक्रबारसम्म सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले प्राविधिक समस्या नआए नतिजा प्रकाशन शुक्रबारसम्ममा गरिने बताए ।
यस वर्ष पनि लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार वा लेटर ग्रेडिङ निर्देशिका– २०७८ कुन अनुसार नतिजा प्रकाशन गर्ने भन्ने अन्योल थियो । सोमबार बसेको बोर्ड वैठकले पुरानै अर्थात लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नतिजा प्रकाशन गर्ने निर्णय गरेसंगै यो अन्योल हटेको छ । लेटर ग्रेडिङ निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ भने त्यो भन्दा धेरै विषयमा नन्ग्रेडिङ भए अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको
छ । ७७ जिल्लाका २ हजार ३७ परीक्षा केन्द्रमा ७७ हजार ९ सय ९२ जना जनशक्ति परिचालन गरेर सञ्चालन गरिएको परीक्षामा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थी थिए ।
ती मध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र गरी जम्मा ४ लाख ८५ हजार ३ सय ८६ विद्यार्थी परीक्षामा सहाभागी भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
एसईई नतिजा हेर्न नेपाल टेलिकमले एसएमएस, आइभिआर तथा वेवसाइटको व्यवस्था गरेको छ भने विभिन्न चार कम्पनीले एसएमएसबाट हेर्न सकिने तथा राष्ट्रिय परीक्षा बोर्ड लगाएतको वेवसाईटमा गएर हेर्न सकिने छ ।