
[email protected]
घर, प्रत्येक मानिसको आवश्यकता, इच्छा र सपना हुन्छ । आफ्नै एउटा घर होस्, हुँदा र सक्दा सम्म अरुको भन्दा राम्रो र सुविधा सम्पन्न । नसके अरुको बराबरीको सम्म । त्यो पनि नसके कमसेकम एउटा घर होस् जस्तो भएपनि ।
घर पनी थरिथरिको हुन्छ । कुटि, झुपडी देखि लिएर महल दरबार बङ्गला यी सबै घरका प्रकारहरु हुन् । काठको खाँबोमा बुट्टा कुँदिएको ढुङ्गा र माटोको गारो माथी खर वा ढुङ्गाको शिर भएका संरचना पनि घर नै हो । शहर बजारमा सिमेन्ट र वालुवाले बनेको संरचना पनि घर नै हो । कुरा कत्ति हो भने घरको बनावट, आकार, प्रकार, लागत र त्यहाँ उपलब्ध सुविधा अनुसार हामीले घरको फरक फरक नाम दिएका छौं । झुपडी, सामान्य घर, परम्परागत घर, गाउँको घर, विल्डिङ, महल, दरबार, निवास आदि इत्यादि । जस्ताको पाताले बेरेको घरमा बस्ने मानिसहरु पनि हामीले देखेका छौं । दरबार, महलमा बस्ने मानिसहरु पनि देखेका छौं । फरक यति हो कोहि झुपडीमै बसेर पनि खुसी र सन्तुष्ट छन् कसैलाई महलमा बस्दा पनि सन्तोष छैन । कसैलाई आफ्नै झुपडी पनि दरबार लाग्छ र त कोहि आफ्नो भन्दा अरुको विल्डिङ अग्लो देखेर जल्छन् । यो सबै व्यक्तिको सोचाई बुझाई र जिन्दगीको भोगाईले तय गर्ने कुरा हो तर यति कुरामा चाहि एकमत हुन सकिन्छ कि घर हामी सबैको आवश्यकता हो र राम्रो घर हामी सबैको चाहना पनि हो ।
मानिसको लागि मात्र होइन । प्रकृतिमा उपलब्ध हर एक जिवित प्राणीको लागि घर आवश्यक हुन्छ । कसैले प्रकृतिमा अपलब्ध स्थानलाई नै आफ्नो बासस्थान बनाएक हुन्छन् भने कसैले मानिसले जस्तै आफ्नो लागि आफैं घर बनाउँछन् । ती घरहरुलाई पनि हामीले विभिन्न नाम दिएका छौं । जस्तै चराको घर गुँड, कमिलाको घर गोला, पोका, माकुराको जालो आदि आदि । अधिकांश कीरा फट्याङ्ग्रा चरा चुरुङ्गी र जीव जन्तुले प्राकृतिक विपत्ति र दुस्मन बाट बच्न र आहार संकलनको लागि घर बनाउँछन् तर जिवजन्तुमै पनि कुनै कुनै प्रजातीमा आफ्नो अस्तित्व रक्षा गर्ने र प्रमुख देखाउने हिसाबले घर निर्माण गरीँदो रहेछ । जस्तो कि नेपालिमा दमाई चरी भनीने चरा लगायत अन्य केहि प्रजातिमा पनि सहवासको समयमा पोथीलाई आकर्षित गर्न घर (गुँड) बनाउने प्रचलन
रहेछ । यस्तोमा उसले आफ्नो जिवनरक्षाको लागि भन्दा पनि वंश निरन्तरताको लागि घर बनाएको भनेर बुझ्दा फरक नपर्ला ।
मानिस ढुङ्गा युगमा हुँदाको अवस्थामा मानिसको पनि घर थिएन । प्राकृतिक स्थानलाई नै मानिसले आफ्नो घरको रुपमा उपभोग गर्दै आएको थियो । चेतनाको बुद्धि सँगै मानिसलाई घर आवश्यकता महशुस हुन थाल्यो, आफ्नो सुरक्षाको हेतु । प्रारम्भिक अवस्थामा मानिसले आफ्नो सुरक्षाको पाटोलाई मध्यनजर गरेर घर निर्माणको थालनी गरेको थियो । समयको चत्र सँगै आज घरको आवश्यकता र महत्वको परिभाषा बदलिएको छ । आज मानिसलाई घरको आवश्यकता आफ्नो जीउको सुरक्षा गर्न भन्दा पनि इज्जतको सुरक्षा गर्नको लागि आवश्यक छ । घर आज मानिसको इज्जत, मान, सम्मान र प्रभुत्वको प्रतिक बनेको छ ।
उसो त सुरक्षित बासस्थानको व्यवस्था प्रत्येक मानिसको जन्मसिद्ध अधिकार हो । नेपालको संविधानले पनि ‘बास’ प्रत्येक नागरिकको लागि मौलिक हक अन्तर्गत राखेको छ । फरक कति हो भने कसैले मौलिक हक व्यवहारीक जिवनमा पनि अनुभव गर्ने मौका पाउँछन् । कसैको मौलिक हक संविधानको धारा र उपधारामा मात्र संरक्षित हुन्छ ।
मैले आलेखको सुरुवातमै घरको बारेमा लामो पृष्ठभूमी बाध्नु को कारण चाहि के हो भने निःसन्देह मानिसलाई घरको आवश्यकता पर्छ तर अहिले घर भन्ने वित्तिकै हाम्रो मानसपटलमा जुन चित्र आउँछ त्यो घर हाम्रो लागि वास्तवमै कत्तिको आवश्यक छ ? त्यो घर हाम्रो प्रगतिको कारक हो कि बाधक ?
पहिले पहिले घर भन्ने वित्तिकै ढुङ्गा माटोको गारो, खर ढुङ्गाको छानो दलिन, पाली, लिस्नो, पिढिंको चित्र । मस्तिष्कमा आउँथ्यो । अहिले घर भन्नेवित्तिकै, ढलान, मार्वल, वरण्डा, कम्पाउण्ड, इन्टेरियर, डेकोरेशन(भित्रि सजावट) का कुराहरु दिमागमा आउँछ । पहिले कसैले जस्ताको पाताले घर छाए पनि वाहा ! जस्ताले छाएको घर भनिने अवस्था थियो । अहिले छ्या जस्ताले छाएको घर भनिने अवस्था छ । समयसँगै हरेक कुराहरु परम्परागत बाट आधुनिक बन्दै जान्छ । मानिसको जिवनशैली पनि फेरिदैं जान्छ । यसमा दुईमत छैन । तर के हाम्रो फेरीएको जिवनशैलिमा सबै पक्षको अनुपात बराबर मिलेको छ त ?
वर्तमान समयमा अधिबांश नेपालीको चाहना एउटै छ । एउटा घर बनाउने । कम्तिमा पनि साढे दुई ढलानको त होस् । तर के हामीलाई साढे दुई ढलानको घर आवश्यक नै हो त ? के ढलान गरेको घर मात्रै आधुनिकताको प्रतिक हो त ? के नेपालका प्रत्येक नागरीक ढलान गरेको घरमा बस्न थालेपछि नेपाल विकसित राष्ट्रमा गनिने हो त ?
करीब दुई दशक पहिले सम्म ढलान गरीएका घरहरु शहरमा मात्र देख्न पाईन्थ्यो । गाउँघरतिर ढलान त धेरै परको कुरा ढुङ्गा माटोको गारोमा प्लाष्टर गरीएको घर हुनु पनि वेग्लै सानको कुरा हुन्थ्यो । तर अहिले गाउँ गाउँमा ढलान गरीएका घरहरु उभिन थालेका छन् । झरीमा च्याउ उम्रिएसरी । कतिले भएर, पुगेर, सकेर बनाएका छन् त कतिले कथित आधुनिकता र विकासको लागि बनाएका छन् त कतिले अरुको देखासिकि गर्दै समाजमा अरु सरह हुनको लागि बनाएका छन्, ऋणै गरेर भएपनि ।
मैले यति लेख्दै गर्दा गलत अर्थ लाग्न पनि सक्छ । तर मैले न कसैको रिस गर्न चाहेको हुँ न त ठूला ठूला घरहरु बनाइनु हुँदैन भन्ने मेरो आशय नै हो । त्यो व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र निर्णयको कुरा हो । तर मेरो आशय के चाहि हो भने घर हाम्रो प्रगतिको बाधक बन्नु हुँदैन र प्रत्येक नेपालीको अन्तिम उद्देश्य घर बनाउनु मात्र हुनुपर्ने विडम्बना प्रतिको वैराग्यता पनि मेरो आलेखको आशय हो ।
संसारमा विकसित राष्ट्रहरुको तथ्याङ्कको सूचीमा नेपाललाई खोज्ने हो भने पछाडीबाट खोज्दा छिटो भेटिन्छ । मानिसलाई जब जासबास र कपासको समस्याबाट छुटकारा मिल्छ तब मात्र उसले नयाँ प्रयोग, नयाँ चिन्तन र नयाँ सृजना तर्फ ध्यान दिन सक्छ । तर आजकै मितिमा पनि लाखौं नेपालीहरुको एउटै उद्देश्य छ गास र कपासबाट पाईपाई कटाएर बासको व्यवस्था गर्ने । यस्तो अवस्थामा एउटा नागरीकले कसरी आफ्नो देशको विकासको बारेमा, नयाँ प्रयोग, नयाँ चिन्तन र नयाँ सृजनाको बारेमा सोच्न सक्दछ ? तसर्थ नेतृत्वमा रहेको जो कोहिले पनि नागरीकको यी आधारभूत आवश्यकता पुर्तिका सुनिश्चिता कसरी गर्न सकिन्छ भन्ने तर्फ गम्भिर हुन आवश्यक छ । खाली भोटको लागि भाषण गरेर पुग्दैन ।
यो निम्न वर्गको कुरा भयो । सम्पन्न वर्गको कुरा गर्न आवश्यक ठानिन किनभने अनीहरु आफ्नो आवश्यकता सहजै पुरा गर्न सक्छन् र आवश्यकता पर्दा राज्यलाई योगदान पनि । अब निम्न अध्यम र मध्यम वर्गको कुरा गरौं । अहिले नेपाली समाजमा मध्यम वर्गको समुदायमा चलेको एउटा प्रचलन के हो भने जसरी हुन्छ । एउटा ढलान गरेको घर बनाउने । जिवनभरी नजाने कहाँ कहाँ गएर के के गरेर दुःखले कमाएको पैसा एउटा घर बनाएरै सकिदिन्छ । त्यो पैसाले भोली आफ्नो सन्तानले कमाउने केहि बाटो बनाएर छोडिदिंऊ अहँ हुँदैन घर त बनाउनै पर्छ । बुबाले बनाएको घरको मोडल र डिजाइन छोराको पालोमा पुरानो भईसकेको हुन्छ । अनि फेरी त्यहि चक्र पुन दोहोरिन्छ । गाउँघरतिर पनि ठूला ठूला ढलान गरीएका विल्डिङ्गहरु बन्नुलाई विकास र आधुनिकताको प्रतिक मान्न थालिएको छ । तर के बुझ्नु जरुरी छ भने पैसा पुगेर ठूलो घर बनाउँदा व्यक्तिकाृ विकास भएको मान्न सकिन्छ । ठूलो घर बनाएर जिवनभरु त्यसैको ऋणमा डुविरहनु वा भनौं पुर्खाको भरभरको सम्पत्ति बेचेर एउटा घर बनाउनुले व्यक्तिको विकासलाई अङ्कित गर्दैन र आधुनीकता पहिले हाम्रो सोचाईमा आउनु जरुरी छ । घरको बनावटमा हैन । आज पनि नेपालमा त्यस्ता लाखौं युवाशक्ति छ, जो विलक्षण प्रतिभाका धनी छन्, जो सँग अनगिन्ति सम्भावनाहरु छन् । तर ती प्रतिभाहरु सबै विलाएर भएका छन् । किनभने एक राज्यले त्यो किसिमको वातावरण नै बनाईदिन सकेको छैन । दोस्रो उनीहरुलाई पनि पैसा कमाउनु छ किनभने उसलाई पनि घर बनाउनु छ ।
पङ्क्तिकार पेसाले शिक्षक हो । नयाँ नयाँ सृजनाका कुराहरुको बारेमा विद्यार्थीलाई विद्यालयमा भनिरहेको हुन्छु । उत्प्रेरित गरिरहेको हुन्छु । यो आलेखमा व्यक्त गरे जस्तै वैचारीक चिन्तनका गफ, दर्शनका कुरा साथीभाई संगको भेटघाटमा, चिया गफमा सामाजिक भेला सम्मेलन हुँदा पनि गर्ने गर्छु, अझ भनौं भन्न छुटाउँदिन । विद्यालयमा सहकर्मी साथीहरु सँग पनि यस्ता बैचारिक मन्थन र दर्शनको विश्लेषण, शंस्लेषण बेलामौकामा भईनै रहन्छ । तर प्रत्येक दिन विहानको चिया गफ देखि लिएर विद्यालय । साँझको साथीभाईसँगको भेटघाट पछि जब साँझ खाना खाएर विस्तरामा पल्टन्छु कहिँ न कहिँ एउटा कुरा मष्तिष्कमा घुमिरहन्छ,‘जागिर खाको यति भयो तलब यति छ । सँगै पढेको साथी फलानो त्यहाँ छ, ढिस्कानाले त्यो गरिसक्यो । छरछिमेकमा पनि बन्न थाल्यो । मै मात्र कति बस्नु पुरानोमा । हैन मैले पनि एउटा घर त बनाउनु छ ।’
अनि दिनभरी छाँटिएका दर्शनका गफ र वैचारीक मन्थनहरुलाई तिलाञ्जलि दिँदै छिट्टै नयाँ र ठूलो घर बनाउने सपना बुन्दै कोल्टे फर्कन्छु र अर्को दुनियाँको सयरमा निस्कन्छु । सपनाको दुनियाँमा ।