ऋषिङ/प्राविधिक शिक्षालय स्थापनाका लागि रकम जुटाउने उद्देश्यले शिवसरस्वती माविले गर्न लागेको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव भोलीबाट प्रारम्भ हुँदैैछ ।
महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक दानबहादुर श्रेष्ठमा अनुसार महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञको तयारीका क्रममा ऋषिङबाट बसाईसरी गएकाहरु बसोवास गर्दे आएको स्थानहरुमा पुगेर उनीहरुसंग भेटघाट गर्ने र सहयोगका लागि आग्रह गर्ने कार्यक्रम पनि सकिएको श्रेष्ठले बताए । काठमाण्डौं, नारायणगढ, कावासोती, पोखरा, भीमाद तथा दमौलीमा सम्पर्क समिति नै बनाएर प्रचार प्रसार तथा सहयोगका लागि आग्रह गर्ने अभियान चलाईएको जानकारी गराउँदै विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालले सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । बरालका अनुसार अहिलेसम्मको प्रतिक्रिया हेर्दा संकलन गर्ने लक्ष्य राखिएको ५० लाख संकलन हुने विश्वास रहेको छ ।
प्रचार प्रसारका लागि दमौलीमा गठित सम्पर्क समितिका संयोजक इन्द्रबहादुर आलेका अनुसार दमौलीमा रहेका ऋषिङ्गेहरुको घरमा घरदैलो कार्यक्रम सकिएको छ । ऋषिङमा प्राविधिक शिक्षालय स्थापना गर्न सकेको सहयोग गर्ने विषयमा सबै सकारात्मक रहेका पाएको आलेले बताए । मुल समारोह समितिका सदस्य महेन्द्रकुमार श्रेष्ठले हरेक दातालाई खुसी हुनेगरी सम्मानित गरिने बताउँदै स्वरोजगार मुलक शिक्षा गाउँमै पाउने अवसर छोप्न ऋषिङका बासिन्दालाई आग्रह समेत गरे ।