गजौडे/नेपाल रेडक्रस सोसाईटी कलेस्ती उपशाखाको साधारण सभा शनिबार सम्पन्न भएको छ । व्यानर पढेर उपशाखा सभाको उद्घाटन गर्दैै प्रमुख अतिथि नेपाल रेडक्रस तनहुँ शाखाका उपसभापति ऋषिराम पोख्रेलले हरेक मानवभित्र सेवाको भावना हुन्छ, त्यसलाई संगठित गर्ने काम रेडक्रस अभियानले गरेको धारणा राख्नु भएको थियो ।
सभाका विशिष्ट अतिथि रेडक्रसका आजिवन सदस्य एवं भानु नगरपालिका वडा नं. १३का वडाध्यक्ष रामबहादुर बानियाले जहाँ दुःख त्यहाँ पुग्ने रेडक्रस हरेक स्थानीय तहमा पुग्न सक्नु पर्ने धारणा राख्नुभएको थियो ।
नेपाल रेडक्रस कलेस्ती उपशाखाका सभापति बाबुराम खनालको सभापतित्वमा भएको साधारण सभामा कलेस्ती उपत्यका महिला विकाश समाजको अध्यक्ष रामप्यारी आले, नेपाल भूपू सैनिक संघका केन्द्रिय सदस्य सू. सूर्यबहादुर थापा, मूस्लिम संघका केन्द्रिय सल्लाहकार सदस्य हाजिअब्दुल रहिममियाँ, नेपाल रेडक्रस सोसाईटी कलेस्ती उपशाखाका संस्थापक सभापति सुक्रजंग अधिकारी, आजिवन सदस्य रुपबहादुर अधिकारी, सौगतअलि मियाँ, चन्द्रबहादुर गोदार लगायतले मन्तब्य राख्नु भएको थियो ।
गजौडे आमा समूहको हलमा भएको उपशाखा सभामा आमन्त्रित प्रमुखअतिथि, विशिष्ट अतिथि, अतिथिहरु, आजिवन सदस्यहरु सबैलाई आमा समूहले फूलमालाले स्वागत गरेको थियो । सो कार्यक्रममा स्वागत मन्तब्य उपशाखा उपसभापति प्रेमबहादुर घर्तिले गर्नुभएको थियो भने सञ्चालन सचिव तेजबहादुर गुरुङ्गले गर्नुभएको थियो ।
उपशाखा सभाले आर्थिक प्रतिवेदन, संस्थाको प्रगति प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको सचिव तेजबहादुर गुरुङ्गले बताउनु भयो । सभाले दुई बर्ष अगाडि घोषण भएको पूर्ण सरसफाई गाविसको सिंहावलोकन गर्ने हेतुले माघ २६ गते अन्तरक्रिया कार्यक्रम गर्ने प्रस्ताव पास गरेको उपशाखाका सभापति बाबुराम खनालले बताउनु भयो । अन्तरक्रियाकार्यत्रममा हालको व्यास–९ र भानु न.पा. वडा नं. ६ र १३ का जनप्रतिनिधिहरु, वडानागरिक मञ्चका तत्कालिन संयोजकहरुलाई आमन्त्रण गरिएको छ । अन्तरक्रिया कलेस्ती संरक्षण अभियानको संयोजकत्वमा गजौडे आमा समूह, संगम युवाक्लबको आतिथ्यतामा हुन लागेको बताइएको छ । उपशाखा क्षेत्रभित्रका जुनियर रेडक्रस सर्कललाई क्रियाशिल गराउने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
उपशाखा सभाको व्यवस्थापनमा जुनियर रेडक्रस सर्कल माहिन्द्री माध्यमिक विद्यालयले स्वयम सेवकको भूमिका निर्वाह गरेको थियो । सभामा उपस्थित रामबहादुर क्षेत्री (गोदार)ले आजिवन सदस्यता शुल्क एक हजार पच्चीस तिरी प्रमुखअतिथि ऋषिराम पोख्रेलबाट सदस्यता ग्रहण गर्नुभएको थियो ।