दमौली/ तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनबाट जिल्ला अध्यक्ष हुने दौडमा दमौलीका तीन व्यवसायी सामेल हुने भएका छन् । शनिबार दमौलीमा हुने निर्वाचनका लागि सोमबार अध्यक्ष पदमा बैकुण्ठनाथ मिश्र, पविन्द्रकुमार श्रेष्ठ र अर्जुन अधिकारीले मनोनयन दर्ता गराएका हुन् ।
२०४८ साल देखि उद्योग वाणिज्य संघ तनहुँमा आवद्ध भई दमौली बजार इकाईको उपसभापति, सभापति हुँदै हाल उद्योग वाणिज्य संघ तनहुँको प्रथम उपाध्यक्ष रहेका मिश्रले आफ्नो अध्यक्ष पदको उम्मेदवारीलाई स्वाभाविक दावेदारी बताएका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा दमौली बजार इकाईका नवनिर्वाचित सभापति भूपाल आले सहितका केही व्यवसायीको साथमा उपस्थित भएका मिश्र नविन प्रविधियुक्त सुदृढ सचिवालय लगाएतका विभिन्न १५ बुँदे प्रतिवद्धता पत्र सहित प्रस्तुत भएका थिए ।
गाउँ धनी भए बजार धनी हुन्छ भन्ने नारालाई सार्थक तुल्याउन ग्रामिण क्षेत्रमा कृषिको विकासमा आफ्नो कार्यकालमा प्रभावकारी काम गर्ने बताएका मिश्रले दमौली बजारका विभिन्न स्थानमा सिसि क्यामेरा जडान, फोरह मैला वर्गिकरण र त्यसको व्यवस्थापन, पहिलो पटक दमौली महोत्सव आयोजना लगाएतका काम आफु बजार इकाईका सभापति भएका बखत भएको उल्लेख गरे ।
अध्यक्ष पदका अर्का प्रत्यासी पविन्द्रकुमार श्रेष्ठ तउवा संघका पूर्व महासचिव हुन । उम्मेदबारी घोषणा तथा पत्रकार सम्मेलनमा श्रेष्ठले जिल्लालाई सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा अगाडि बढाउन आफु ईच्छुक रहेकोले अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरको बताए । उनले संघका विभिन्न पदमा रहेर काम गरेको अनुभवलाई कार्यरुपमा उतार्न पनि आफ्नो उम्मेदवारी रहेको बताए ।
नेशनल रेडियो सेन्टरका प्रोपाइटर समेत रहेका अध्यक्ष पदका अर्का प्रत्यासी अर्जुन अधिकारी उद्योग वाणिज्य संघको जिल्ला प्रतिनिधि र बजार इकाईको सदस्य समेत रहिसकेका व्यक्ति हुन् । “व्यापारी हामी व्यापारीको सत्य गुनगान गाउँ, व्यापारीलाई दुःख मर्का पर्दा साथी बनी आउँ” भन्ने नाराका साथ उम्मेदवारी प्रस्तुत गरेका अधिकारी व्यवसायिक संस्थाहरुमा राजनीति हावी भएको र व्यवसायीको हक हितमा बोल्ने कोही नभएकाले आफुले उम्मेदवारी दिएको बताउँछन् ।
निर्वाचन समितिका अनुसार प्रथम उपाध्यक्ष पदमा ईमकुमार मल्ल, राजकुमार श्रेष्ठ, सुरेश पुरी र सुवोध अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् भने द्वितीय उपाध्यक्षका लागि कुमार मल्ल, नेक महमद मिया तथा सुनिल श्रेष्ठको उम्मेदवारी परेको छ । यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र महेन्द्रकुमार श्रेष्ठ तथा एशोसियट सदस्यमा ओमराज श्रेष्ठ र शिवओम मल्लको उम्मेदवारी परेको छ ।
उद्योग वाणिज्य संघको अध्यक्षका लागि तीनजना मैदानमा
previous post