आज डिसेम्बर महिनाको ७ तारिख । हरेक वर्ष जस्तै यो वर्ष पनि आज संसारभर नागरिक उड्डयन दिवस मनाइँदैछ । हाम्रा धर्म ग्रन्थहरुले हजारौं वर्ष अगाडी मानिस कुनै यन्त्रको सहायताले उड्न सक्ने परिकल्पना गरेका छन् । रामायणमा रावणले सितालाई हरेर विमान मार्फत लगेको कथा छ भने अन्य यस्ता थुप्रै प्रसंगहरु ति धर्म ग्रन्थमा पाईन्छन्, जसले मानिसको आकाश यात्रा सम्भव छ भन्ने आशा आम मानिसमा जगायो । वर्तमान सभ्यताको कुरा गर्ने हो भने अमेरिकी नागरिकद्वय ओर्भिल राइट र बिल्भर राईटले संसारको पहिलो सफल मोटर–संचालित हवाइजहाज आविष्कार गर्ने, निर्माण गर्ने र उडान गर्ने सफलता प्राप्त गरेसंगै मानिसको आकाश यात्रा सम्भव भएको हो । १७ डिसेम्बर १९०३ संसारको इतिहासमा यस्तो दिन बन्यो जसले आकाश मार्ग हुँदै छोटो समयमा संसार यात्रा गर्ने मानिसको आकांक्षा पूर्ण भयो । किनभने त्यही दिन हो, राइट दाजुभाइले पहिलो पटक सफलता पूर्वक जहाज उडाएको ।
हवाई यात्रामा रोमाञ्च जति छ, जोखिम पनि त्यति नै छ किनभने हवाई दुर्घटना भएका खण्डमा त्यसमा सवार यात्रु सकुसल रहने सम्भावना कमै हुन्छ । त्यसैले तिनै हवाई यन्त्रहरुको सञ्चालन, सुरक्षा र व्यवस्थापन प्रभावकारी होस् अनि नागरिक उड्डयन सुरक्षित होस् भन्ने हेतुले संसारभर नागरिक उड्डयन दिवस मनाउने गरिएको हो । भनिरहनु परेन कुनै पनि राज्य र क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्पूर्ण भूमिका हुन्छ । विकासका पूर्वाधारहरूको स्थापना गर्न, आवतजावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद् व्यवस्थापन गर्न र दुर्गमका बिरामीहरूलाई समयमै उपचारका लागि अस्पतालसम्म समयमै पु¥याउनु उड्डयनको मूलभूत भूमिकाहरू हुन् ।
उड्डयनको त्यो भूमिका अझ प्रभाकारी होस् भन्ने आम मानिसको कामना हो । हामी नेपालीले वर्षेनी हवाई दुर्घटनामा धेरै आफ्ना आफन्त गुमाइरहेका छौं । नवप्रवर्तनलाई अझै प्रश्रय दिँदै विश्वव्यापी उड्डयनको विकास भन्ने नारा सहित मनाउन लागिएको यो वर्षको नागरिक उड्डयन दिवसको नाराले सार्थकता पाओस् र यसको भूमिका अझ शसक्त र प्रभावकारी होस्, हाम्रो कामना ।
आज आकाशमा उड्ने कुरा -सम्पादकीय
previous post