
भाद्र २४ गते तनहुँ जिल्ला अदालतमा आगजनी भएको बाहिरको दृष्य । यसरी नै भित्रका अभिलेखहरु समेत जलाइएका कार्यालयहरु जिल्ला प्रशासन कार्यालय तनहुँ समेतका कार्यालयहरु जलेर नष्ट भएका छन् ।
विशेष सम्वाददाता
‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’ जस्ता नारा सहित भाद्र २३ मा उठेको जेन जेडको आन्दोलनले पुराना पुस्ताका नेताको राजनैतिक अवसान गराएको छ ।
नातावाद, सामाजिक सञ्जाल माथिको प्रतिबन्ध, भ्रष्टाचार र करको दुरुपयोगको विरोधमा जेन जेडले विरोध गर्ने जानकारी केही दिन अगाडीदेखि नै सत्ताधारीहरुलाई थियो । तर खासगरी सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली जेन जेडको कुरा सुन्ने पक्षमा थिएनन्, बरु उनीहरुलाई होच्याउने गरी प्रस्तुत भइरहेका थिए । नातावाद, मौलाउँदो भ्रष्टाचार र करको दुरुपयोगले आजित बनेका युवाहरुमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले आगामा घ्यूको काम गरिरहेको थियो । त्यसमाथि गत आइतबार पार्टीको दोस्रो विधान महाधिवेशनको बन्द सत्रमा प्रधानमन्त्री ओलीले जेन जेडलाई आलोकाँचो भनेर होच्याएनन मात्रै जेन जेडको नाममा जे पनि गर्न पाईन्छ ? भनेर प्रश्न गरे । सामाजिक सञ्जाल माथिको प्रतिबन्धका विपक्षमा विचार दिनेहरु प्रतिपनि ओली अन्त्यन्त रुखो ढंगले प्रस्तुत भएका थिए ।
राज्यले २३ गते एक दिनमै १९ जना युवाको ज्यान लियो । यति हुँदापनि ओलीको अहंकार ओरालो लागेको थिएन । उनले साँझ विज्ञप्ती निकालेर भने, हामी समाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएनौं । यसका लागि प्रदर्शन गरिरहनु पर्ने थिएन । मन्त्री परिषद्को बैठक बस्यो । सामाजिक सञ्जाल माथिको प्रतिबन्ध हटाउन ओली तयार भएनन् । जेन जेडका अन्य मागका विषयमा त कुनै कुरै भएन । छानविन समिति बनाउने भनियो, तर कसको नेतृत्वमा को को सहभागी हुने भन्ने एकिन थिएन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको दवाव पछि कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले राजिनामा दिए । ओलीलाई पनि राजिनामा दिन सत्तासहयात्री कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक आह्वान गरेका थिए । तर ओलीले त्यो आह्वानको पनि वेवास्ता गरे ।
विरोधमा सँगै निस्केको साथी, विद्यालय पढ्दै गरेको भाइ गुमाएको अनि आफ्नो अभिन्न दैनिकी र कतिपयको आम्दानीको श्रोत समेत बनेको सामाजिक सञ्जाल माथिको प्रतिबन्ध नहट्ने तथा आफ्ना अन्य मागको बारेमा वेवास्ता भएको ठानेका युवा भोलिपल्ट अझ उग्र भएर निस्किए । कांग्रेसबाट मन्त्री बनेका प्रदीप पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राजिनामा दिइसकेका थिए । जनता समाजवादी पार्टीबाट खानेपानी मन्त्री बनेका प्रदीप यादवले पनि राजिनामा दिइसकेका थिए । सत्ता नत्याग्ने हठ गर्दै र आफ्ना मन्त्रीलाई राजिनामा नदिन निर्देशन दिँदै बसेका ओलीले मध्यान्ह २ बजे राजिनामा दिए । तर त्यतिबेला निकै ढिला भैसकेको थियो । जेन जेड आन्दोलनकारीले संसद्, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र न्यायपालिकाको प्रमुख थलो सर्वोच्च अदालतमा तोडफोड र आगजनी गर्न थालिसकेका
थिए । जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिका भवन, अदालत, आन्तरिक राजश्व कार्यालय, नगर पालिका कार्यालय तथा व्यक्तिका घरमा समेत लुटपाट आगजनी सुरु भैसकेको थियो । राजिनामाको लहरै चल्यो । रास्वपा र राप्रपाको सांसदहरुले समेत राजिनामा दिन थाले भने कतिपय एमाले तथा कांग्रेसका स्थानीय तहका जनप्रतिनिधिले पनि पदबाट राजिनामा दिए । यि सबैको कारक भने पालैपालो सत्तामा बसेर जनताका आवाज नसुन्ने राजनैतिक नेतृत्वको हामीले जे गर्दा पनि हुन्छ भन्ने अहंकार
हो । अहंकारले त्यो नेतृत्वलाई राजनैतिक अवसानमा पु¥याएको छ ।
युवाहरुको जोशमाथि राजनीति गरेर स्वार्थ पूरा गर्ने समूह यही बेला सल्बलाए ।
रास्वपा सभापति रवि लामिछानेको कारागार मुक्तिलाई यसैको रुपमा अथ्र्याइएको छ । यद्यपि लामिछानेले आफ्नो चाहनाले नभएर कारागार प्रशासनको चाहनाले बाहिर आएको र आवश्यक परे भित्र जान तयार रहेको बताएका
छन् । तर पुराना र गुण्डा भनिएका दीपक मनाङ्गेले कानुन कार्यान्वयनमा सघाउने भन्दै कारागारबाट बाहिरिन नमानेको दुष्टान्त अगाडि नयाँ र सुशासनको हिमायति भनिएका रविको कारागार वहिर्गमन गम्भीर नैतिकताको प्रश्न बनेको छ । संयोग–यही मौकामा लुटपाट मच्चाउने समूह पनि सक्रिय भयो । प्रत्यक्षदर्शीका अनुसार काठमाण्डौमा रहेको उद्योगपति विनोद चौधरीको सिजी हाउसमा गरिएको आगलागिमा आगोबाट नष्ट भएको सामानको भन्दा लुटेर लगेको सामानको मूल्य हिसाब गर्दा धेरै हुने बताइन्छ ।
यतिबेला काठमाण्डौ श्मशान जस्तो छ । विभिन्न जिल्ला सदरमुकामहरुको अवस्था उस्तै छ । कांग्रेस, एमाले र माओवादीका पार्टी कार्यालय तथा तिनका नेताको घर छानी छानी तोडफोड गर्ने र आगो लगाउने गरिएको छ । नेताहरु कुटिएका र नाङ्गै डुलाईएका भिडियोहरु छ्यापछ्याप्ती भएका छन् । झलनाथ पत्नीलाई ज्यूदै आगो लगाइयो । कैयौं ठाउँमा आगजनी गर्दा ज्युँदै जलेका मानिसका लाश भेटिँदैछन् । अदालतमा आगजनी गरिएको छ । अख्तियार र सिंहदरबार खरानी भएका छन् । जेन जेडलाई त शासकसँग पो रिस उठेको होला ति भौतिक संरचनाको के दोष ? अहंकारीहरुको राजनैतिक अवशान भैसक्दा पनि सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनीमा उत्रनेहरु के जेन जेडका पठित युवा नै थिए त ? प्रश्न उब्जेको छ ।
अझ आराध्य देव पशुपति नाथको मन्दिर प्रवेश गरेर तोडफोड गर्न खोज्ने युवा, बैङ्क लुट्ने युवा के जेन जेडका थिए ? जेन जेडलाई ढाल बनाएर रविमात्र छुटेनन्, झण्डै दुइहजार कैदीबन्दी जेल बाहिर पुगेका
छन् । अब समाजमा शान्ति अमनचयन कायम गर्ने विधिको शासनमा यस्तै हुन्छ ? हामीले त्यस्तो चाहेका होइनौं । आन्दोलनमा घुस पैठ भयो भन्ने जस्ता तयारी उत्तर दिएर मात्र पुग्छ ? जेन जेडलाई यो प्रश्नले जीवन पर्यन्त पछ्याइ रहने छ ।
सरकार विहिनताको अहिलेको अवस्थाको अन्त्य गर्दै देशलाई शान्ति, सुशासन र विकासको मार्गमा लैजाने जिम्मेबारी जेन जेडको काँधमा आएको छ । तेरो र मेरो भनेर कोरिन लागेको विभाजनको
रेखालाई मेट्दै लगेर समुन्नत राष्ट्र बनाउने अभियानमा जेन जेडसँगै सबै नेपाली लाग्न सक्दा मानविय तथा भौतिक क्षतिको आपूरण हुनेछ ।