दमौली/आजबाट सुरु हुने भनिएको एसइई परीक्षा अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने नेपाल सरकार गृहमन्त्रालयबाट सूचना आएको तनहूँ जिल्लामा भरखरै कार्यभार सम्हाल्नुभएका प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।
अनलाईन समाचारले जनाए अनुसार नेकपा सचिवालय बैठकको निर्णय अनुसार यो निर्णय आएको हो । सचिवालयको वैठकले एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेपछि कोरोनाबारे निर्णय गर्न सरकारले उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा गठन गरेको समन्वय समितिले पनि एसइई स्थगित गर्न नेपाल सरकारलाई सुझाव दिएको थियो । यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो । तर एकाएक किन यसरी एसइई परीक्षा स्थगित गर्ने निर्णयमा नेकपा स्थायी समिति पुग्यो भन्ने बारेमा स्पष्ट जानकारी सार्वजनिक भएको छैन । प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्न सरकार असमर्थ भएको कारण एसइई परीक्षा स्थगित गरिएको अनुमान छ । एसइई परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित हुँदा करीब पाँच लाख विद्यार्थीहरु अन्योलमा परेका छन् । खटिएको जनशक्ति अलपत्र भएको छ ।