शिक्षण पेशामा ४१ वर्ष विताएका महर्षि वेदव्यास संस्कृत मावि व्यास–३ का प्रधानाध्यापक विष्णुहरि भट्टराईको जोश भने भर्खर शिक्षण पेशामा प्रवेश गरेका युवाको जस्तो छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका कुरा गर्दा उनी भन्छन्, हामीले नगरे कसले गर्छ ? झण्डै १८ वर्ष सामुदायिक विद्यालयको प्रधानाध्यापको कामको अनुभव संगालेका भट्टराई भर्खरै उक्त विद्यालयको प्रधानाध्यापकमा नियुक्त भएका हुन् । विद्यार्थीमा पढ्नु पर्छ भन्ने विचार हराउँदै गएको बताउने भट्टराईसंग शिक्षा क्षेत्रका विविध विषयमा गरिएको कुराकानीः
भर्खरै एसईई–२०७८ को नतिजा प्रकाशन भएको छ । यसलाई यहाँले कसरी हेर्नु भएको छ ?
भट्टराईः कोभिडका कारण गएका दुई वर्ष नियमित रुपमा कक्षाहरु सञ्चालन हुन सकेनन् । अर्काेतिर जसरी पनि शैक्षिक शत्र पूरा गर्ने सरकारको दृष्टि रह्यो । एकातिर विद्यालयमा कक्षा चलेनन्, अर्काे तिर विद्यार्थीहरुमा विद्यालयले परीक्षा लिने हो । नपढेपनि सरहरुले पास गरिदिनु हुन्छ भन्ने मानसिकता बन्यो । यसरी पाठ्य घण्टा पनि पूरा नहुने तथा विद्यार्थीमा पढ्ने भावना पनि हराउँदै जाने भएका कारण नतिजामा असर परेको हो । यसका साथै शिक्षा हेर्ने जिम्मा स्थानीय तहमा आएसंगै कर्मचारी अभाव लगाएतका कारण अनुगमनको पाटो झण्डै सून्य नै रह्यो । प्रशासनिक निगरानी हुन सकेन । यि सबै कारणले नतिजामा फरक परेको भन्ने मलाई लाग्छ ।
कोभिडका कारण राम्रो पढाई हुन पाएन भन्नु भयो तर कोभिड भन्दा अगाडि र पछाडिको एसईई नतिजा भन्दा कोभिडका बखतको नतिजा राम्रो देखियो । विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको अंकका आधारमा नतिजा प्रकाशन गर्दा राम्रो देखिएको र शिक्षकहरुले जथाभावि अंक प्रदान गरेका कारण यस्तो भएको भन्ने चर्चा छ । यसम कति सत्यता छ ?
भट्टराईः हामीले इमानदार भएर भन्नु पर्दा अलिकति लचिलो भएर अङ्क प्रदान गरेको भन्ने कुरा स्वभाविक हो । विद्यालयको नतिजा कस्तो भन्ने कुराको निर्धारण गर्न कामै गरेर नतिजा राम्रो बनाउने भन्दा पनि फरक बाटो अपनाएर नतिजा राम्रो देखाउने प्रवृत्ति हामीमा रहेको छ र त्यसलाई हामी शिक्षकहरुले महसुस गर्नुृपर्ने छ । कुनै विद्यार्थीले प्रयोगात्मक परीक्षामा प्राप्त गरेको अङ्क र उसले लिखित परीक्षामा ल्याएको अङ्कलाई तुलना गरेर हेर्ने हो भने पनि हाम्रो अङ्क दिने तरिका बुझ्न सकिन्छ । त्यसैले जथाभावि त नभनौं तर लचिलो बनेर अङ्क दिएको कुरालाई कसैले ढाकछोप गरेर हुने कुरै छैन । विद्यार्थीको दवाव, अभिभावकको दवाव तथा प्रतिष्ठा जोगाउने कुरा लगाएत पनि यसका कारण होलान् भन्ने लाग्छ, मलाई ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको परीक्षणमा निजी विद्यालयको सिकाई उपलब्धी ६३ प्रतिशत तथा सामुदायिक विद्यालयको सिकाई उपलब्धी भने ४४ प्रतिशत मात्र भएको दखियो ? यस्तो भिन्नता कसरी हुन्छ ?
भट्टराई ः निजी विद्यालयमा छोराछोरी पढाउने अभिभावकले त्यहाँ मासिक शुल्कको रुपमा वा अन्य कुनै रुपमा लगानी गर्नु भएको हुन्छ र उहाँहरुले प्रतिफल खोज्नु हुन्छ । अभिभावकले प्रतिफलका बारेमा प्रश्न गर्ने भएकाले निजी विद्यालयलाई राम्रो नतिजाको दवाव हुन्छ । त्यसैले उनीहरु राम्रो नतिजा कसरी ल्याउन सकिन्छ भन्ने कसरतमा केन्द्रीत भएर काम गर्दछन् । आवश्यक योग्यता भएका शिक्षक हुँदैनन, शिक्षकहरु तालिम प्राप्त छैनन्, भौतिक सुविधाको हिसावले पनि कमजोर नै हुन्छन् तर नतिजा भने राम्रो छ । यसको मुख्य कारण भनेकै नतिजामा प्रश्न गरिने भएकाले हो । उनीहरु नियमित हुन्छन् र कामका प्रतिको लगाव धेरै छ । तर यता सामुदायिक विद्यालयमा हेर्ने हो भने शिक्षकहरुले प्रशासकलाई पनि नटेर्ने तथा स्वयममा कामका प्रतिको लगाव र समर्पण नहुने भएका कारण नतिजा विग्रेको हो । मैले अघिपनि भनें जिल्ला शिक्षा कार्यालयले अनुगमनको पक्षमा अलि जोड दिएको थियो र उसंग जनशक्ति पनि भएकाले शिक्षकलाई काम गर्ने दवाव थियो । अहिले अनुगमनको पक्ष कमजोर हुँदा पनि सामुदायिक विद्यालयको नतिजा खस्केको हो । सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावको प्रतिफलका प्रतिको वेवास्ता तथा विद्यार्थीमा मर्दै गएको पढ्नु पर्छ भन्ने भावले पनि यसमा सघाएका छन् ।
सिकाई उपलब्धीको यो खाडललाई कसरी कम गर्ने ?
भट्टराईः हामी जस्ता मान्छेले भन्दैमा केही होला भन्ने लाग्दैन । तर मेरो विचारमा शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई दिइनु राम्रो भएन । स्थानीय तहहरुलाई विकास निर्माणका काम जिम्मा दिँदा हुन्छ । उसले पनि आफ्नो पालिका भित्र भएका विद्यालयहरुमा नियमानुसार पढाई भए नभएको हेरोस् । तर उसंग भएका जनशक्तिले सबै विद्यालयको अनुगम र सुपरिवेक्षण सम्भव छैन । बरु शिक्षा कार्यालयलाई पुनः जीवन दिएर विषय विज्ञहरु राखेर विद्यालयहरुको नियमित अनुगम गर्न सक्दा गुणस्तर बढ्न सक्छ । खाडल कम गर्न सकिन्छ । अभिभाव, शिक्षक र विद्यार्थीको सामूहिक लगाव र चासो त प्राथमिक कुरा भै हाल्यो ।
अहिले सामुदायिक विद्यालयको गुणस्तर विग्रनुमा सबै दोष शिक्षकको हो भनेर अरु पन्छने गरेका छन् । शिक्षक बाहेक अरु कोही पनि यसमा जिम्मेबार छैनन्, यहाँलाई के लाग्छ ?
भट्टराई ः जो अभिभावकले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनु भएको छ, उहाँहरु समय समयमा विद्यालय आउने र शिक्षण सिकाई क्रियाकलापका बारेमा चासो राख्ने हो भने शिक्षक र विद्यार्थी दुबैलाई त्यसकाप्रति प्रेरणा जाग्छ । तर सामुदायिक विद्यालयमा अभिभावकले लगानी गर्नु नपर्ने भएकाले प्रतिफलका बारेमा चासो छैन । निजी विद्यालयमा लागनी पर्ने हुनाले अभिभावकले लगानीको प्रतिफल खोज्छन तर सामुदायिकमा भर्ना गर्ना साथै विद्यालय पठाईदिए पुग्यो भने झैं गर्छन् । हाम्रै विद्यालयमा हेर्नु भयो भने गरिब, विपन्न, दिनभर बदाम बेचेर गुजारा गर्नेका परिवारका छोराछोरी पढ्ने विद्यालय हो यो । त्यसले गर्दा अभिभावक लाई हामीले भेट्न वा उनीहरु विद्यालयसम्म आएर शिक्षण सिकाई क्रियाकलाप बारे चासो राख्ने अवस्था पनि छैन् । राज्यको पनि आशा गरेजस्तो ध्यान पुगेको छैन । यसरी अन्य पक्षपनि यसमा जिम्मेबार छन् ।
वा खाजाको सिकाई उपलब्धी, नियमित उपस्थिती आदिमा कस्तो प्रभाव परेको पाउनु भएको छ ?
भटट्राई ः दिवा खाजाले तपाईले भन्नु भएका पक्षहरुमा सहयोग पुगेको अनुभव मैले गरेको छु । कतिपय विद्यार्थी विद्यालयमा खाजा खान पाईन्छ भनेर नियमित विद्यालय आउने खालका छन् । विद्यालयमा नियमिततासंगै सिकाई उपलब्धीमा सुधार हुने भै नै हाल्यो । कतिपय अवस्थामा गृहकार्य तथा कक्षाकार्य नगर्ने विद्यार्थीलाई ति काम गर्न प्रेरणा श्रोतको रुपमा खाजा रहेको छ । राज्यको श्रोतको सिमितता आफ्नो ठाउँमा होला तर अहिले जुन रकम खाजाका लागि भनेर प्रदान गरिने गरेको छ, त्यो पर्याप्त छैन ।
विद्यालय समायोजनका कुरा बेलाबेला उठ्ने गरेका छन् । यो कति उचित हो ?
भट्टराईः साना–साना बालबालिकालाई आधा घण्टाभन्दा बढी हिढ्न नपरोस् पढ्नका लागि भन्ने सरकारको ध्येय छ । तर सुविधाको खोजीमा बसाई सराईको क्रम बढ्दै जाँदा गाउँ वस्तीहरु खाली भएको अवस्था अर्काे तिर छ । यसका कारण विद्यालयहरु पनि खाली भएको अवस्था छ । यसरी विद्यालय समायोजन हुँदा ति बालबालिका धेरै समय हिँडेर विद्यालय धाउने अवस्था आउनु राम्रो कुरा हुँदै होइन । तथापि श्रोत साधनले धान्ने नसक्ने गरी वा प्रतिफल अत्यन्त न्यून हुने अवस्थामा समायोजन बाध्यता हो जस्तो लाग्छ । यसका अन्य विकल्पहरुको खोजी भने आवश्यक छ ।
कोभिड संक्रमणका बेला वैकल्पिक सिकाईको विगतको अनुभव कस्तो रह्यो ? अहिले पनि संक्रमण बड्दै गएको छ । यदि थप बढेमा वैकल्पिक सिकाईको के तयारी छ ?
भट्टराई ः पछिल्ला केही दिनमा कोभिड संक्रमण फेरी बढ्दै गएको छ । संक्रमण बढ्नुमा हाम्रै असावधानी कारण हो । विद्यालयको हकमा संक्रमण बढ्न नदिन अनिवार्य रुपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्ने र परिवारमा पनि स्वास्थ्य सावधानी अपनाउन उनीहरु मार्फत सन्देश पु¥याउन सकिन्छ । जहाँसम्म वैकल्पिक माध्यमको कुरा छ । विगतमा सानो सानो समूह बनाएर ति समूहसम्म पुगेर सिकाईका क्रियाकलाप हामीले गरेका हौं । तर इन्टरनेटको माध्यमबाट पठनपाठन बाहिर हल्ला गरेजस्तो सजिलो र प्रभावकारी भएको हामीले पाएनौं । मैले पढ्नु पर्छ भन्ने भाव बोकेको विद्यार्थीका लागि यो ठिकै हो । पहिलो कुरा त हाम्रा विद्यार्थी मोबाईल र इन्टरनेटको पहुँचमा भएका कम छन् । साँझ विहान के खाने भन्ने समस्याबाट गुज्रेको परिवारको विद्यार्थीका लागि कहाँको मोवाईल कहाँको इन्टरनेट । अर्काे कुरा कक्षामा शिक्षकको निगरानीमा उनीहरुले सम्झाई बुझाई गर्दा समेत ध्यान पूर्वक नपढ्ने अहिलेको विद्यार्थीले मोवाईल, ल्यापटप वा कम्प्युटरको छेउमा ध्यान पूर्वक वसेर पढ्ने कुरा नहुने रहेछ । त्यसैले यसलाई कसरी प्रभाकारी ढंगले लान सकिन्छ भनेर हामी छलफल र तयारीमा छौं ।
सामुदायिक विद्यालय सुधार्ने कि सिध्याउने भन्ने वहस चलिरहेको छ । अहिले राज्य, अभिभावक लगाएत सम्बद्ध पक्षहरुलाई हेर्दा हामी कता जाँदैछौं ? सुधार्ने तर्फ कि सिध्याउने तर्फ ?
भट्टराईः देश बनाउने हो भने बालबालिकालाई शिक्षामा जोड दिनुपर्छ । बालबालिकालाई दिएको शिक्षाको प्रतिविम्ब १०/१५ वर्ष पछि देखिन्छ । तर खस्कँदो शैक्षिक गुणस्तरका कारण भोलि दक्ष जनशक्तिको अभाव रहने र विकासका लक्ष्यहरु प्राप्त नहुने अवस्था आउन सक्छ । शिक्षामा कुल बजेटको २० प्रतिशत छुट्याउनु पर्छ भन्ने कुरामा कुनै द्विविधा रहेन तर बजेटको सदुपयोग भएको छ वा छैन भन्ने विषयमा पनि त्यत्तिकै ध्यान दिनु जरुरी छ । अनुगमनको पक्ष अत्यन्त कमजोर छ । यसलाई सक्षम बनाउनु जरुरी छ । अहिलेको अवस्था हेर्दा त जसरी चल्छ चलोस् भनेर छोडेको जस्तो दखिँदै छ र यो सुखद पक्ष होइन् ।
छात्रवृत्ति वितरणको व्यवस्था र यसले पारेको प्रभावबारे यहाँको केही टिप्पणी छ ?
भट्टराईः सदियौं देखि पछाडि पारिएका वर्ग र महिलालाई छात्रवृत्ति प्रदान गरेर पढ्ने अवसर दिनु राम्रो हो । यद्यपि शिक्षा मौलिक अधिकार भएको संवैधानिक व्यवस्थालाई हेर्दा वर्ग विभाजन नगरी सबैलाई प्रदान गरेको भए राम्रो हुने थियो । यति हुँदा हुँदैपनि अहिले जजसलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था छ, त्यसले उनीहरुको पठन पाठनमा सकारात्मक सहयोग गरेको छ ।
अन्त्यमा केही थप्न चाहनु हुन्छ ?
भट्टराई ः शिक्षाको क्षेत्रमा लागेका मानिस हामीले नगरे कसले गर्ने भन्ने प्रश्न हो । म शिक्षक भएका नाताले अरुले यसो गर उसो गर भनेर गर्ने भन्दा पनि समाजमा बुझेको वर्ग भित्र पर्ने भएकाले आफ्नो दायित्व बुझेर थप लगनका साथ काम गर्नुपर्ने देखेको छु । संगै अर्काेकुरा के पनि छ भने विगत ३ वर्ष देखि हरेक वर्ष फेरिएको मूल्याङ्कन पद्धतिले शिक्षकलाई अल्मल्याएको छ । शिक्षकहरु पढाउने काममाभन्दा पनि मूल्याङ्कनका प्रक्रिया मिलाउन लाग्नु पर्ने देखिएको छ । यसलाई दीगो बनाउनु पर्ने पनि देखिएको छ । मैले माथि पनि भनें अनुगमनको पाटोालाई प्रभावकारी बनाए मात्र सामुदायिक शिक्षामा सुधार गर्न सकिन्छ भन्ने मेरो विश्वास हो ।