जनअनुमोदित जनप्रतिनिधि र तिनीहरुले पाएको पद प्रतिष्ठा सम्मानित हुनुपर्दछ । हाम्रो लोकतन्त्रले जनप्रतिनिधिलाई तलभत्ता त व्यवस्था नै गरे । त्यतिले नपुगेर आवास सुविधालाई अधिकारको रुपमा प्रदान र ग्रहण गर्दै गए । लोकतान्त्रिक गणतन्त्रलाई लुटतान्त्रिक गणतन्त्रको रुपमा अभ्यास गर्दै अगाडि बढे । जनअनुमोदित जनप्रतिनिधिहरुले राजा महाराजाहरुलाई उछिनेर जनादेशको भावना विपरित दोषीलाई निदोर्ष करार गर्न संविधान, ऐन, नियम कानुन र अदालतको फैसलाको समेत अनादर गरे । अपव्याख्या गरे । कुल्चिएर अगाडि बढे ।
लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गराउन समानुपातिक प्रणालीलाई संविधानमा प्रवेश गराएर आसेपासे, चाकडीवाज, विचौलिया, तस्कर, माफियालाई दलको उम्मेदवार बनाएर दल, दलको सिद्धान्त, कार्यकर्ताको स्वाभिमानमा प्रहार गरे । दलको टिकट किन्न सक्नेले मात्रै टिकट पाउने र चुनाव जित्न सक्ने अवस्था र परिवन्द गणतन्त्रका ठेकेदारहरुले निर्माण गरे । स्वाभिमानी, सैद्धान्तिक निष्ठा भएका कार्यकर्ताहरु दलगत राजनीतिको मूल प्रवाहबाट पाखा पारिंदै गए । सबै दलमा त्यस्तै छ । नेपाली काँग्रेसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरुले दलको साधारण सदस्यता त्यागेको घोषणा गर्नु प¥यो । गिरिजाप्रसाद कोइराला नेपालको पहिलो राष्ट्रपति बनाई दिने ललिपपमा बहकिएर आफ्नो घोषणालाइ साकार बनाउन, इशारा बुझेर काम सम्पन्न गर्ने इमानदार कार्यकर्ताहरु खुमबहादुर खड्का, गोविन्दराज जोशी, जय प्रकाश प्रसाद गुप्ता, तारणीदत्त चटौतहरुलाई बली चढाए । तर पनि उनले राष्ट्रपति पाउन सकेनन् । आफू गृहमन्त्री छँदा दरबार हत्याकाण्ड हुनमा सहयोग गरेको छनक दिने गरी रामचन्द्र पौडेलले राजा विरेन्द्रको वंशनास गर्ने दिपेन्द्र नै हुन भनेर हतारहतार बी बी सीलाई अन्तवार्ता दिए वापत नेपाली काँग्रेसको सभापति र प्रधानमन्त्री बन्न हत्ते गर्दा पनि नपाए पछि तोकिएको काम गर्ने सर्तमा राष्ट्रपति पाउन सफल भए । यता एमालेमा भिम रावल जस्ता जनाधार भएका नेतालाई न पार्टी भित्र, न पार्टी बाहिरको अपमानित अवस्थामा पु¥याए । उनि जस्तै धेरै कार्यकर्ता अपमानित भएका छन् ।
हत्या हिंसा, आगजनि, विध्वंशको धरातलमा दशबर्षको सशस्त्र विद्रोह गराएर नेपालको मौलिक पहिचानमा प्रहार गर्ने सर्तमा राजनीतिको मूल प्रवाहमा ल्याइएको माओवादी अहिले छिन्नभिन्न भएको अवस्था छ । मोहनकिरण बैद्य लगायतका धेरै कार्यकर्ताहरु १२ बुँदे सम्झौता, बृहद शान्ति सम्झौता धोका हो भन्दै पार्टीको मूल प्रवाहबाट बाहिर बस्न पर्ने परिवन्द निर्विकल्प कब्जा गरेको नेतृत्वले निर्माण गरिदियो ।
जो जो पार्टीको मूल प्रवाहमा रहे, बसे, पदप्रतिष्ठा, राज्य कोषको दोहन गरे आज तिनकै कारण नेता, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद भन्ना साथ आमनागरिक आक्रोसित हुने अवस्था आएको छ । छिछिदूरदूरको पात्र बनेका छन् । आमनागरिक जो झोले कार्यकर्ता होइनन्, दलगत अनुशासनको डण्डाको प्रवाह गर्दैनन्, आस र त्रासमा छैनन ती कार्यकर्ताहरुको नजरमा राजनीतिक पद प्रतिष्ठा सम्मानित छैन । राष्ट्रपति होस् कि प्रधानमन्त्री जनताले भेट्न कुट्न नपाएर बाटो बाटोमा फोटो टाँगेर जुत्ताको माला लगाई दिने, थुक्ने, कुल्चेर अपमानित गर्ने अवस्थाको निर्माण तिनै नेताहरुले निर्माण गरेका हुन् ।
दुई दुई निर्वाचन क्षेत्रबाट हारेको प्रतिनिधि सभाको सदस्यको उम्मेदवार चोर बाटोबाट प्रतिनिधि सभामा प्रवेश गराएर प्रधानमन्त्री बनाउने अभ्यासले, कुनै प्रधानमन्त्रीलाई एउटै कार्यकाल पुरा गर्न नपाउने, तर पटक पटक प्रधानमन्त्री बन्न सफल हुने भूराजनीतिक परिवन्द निर्माण देशमा हुँदै गयो । यो मुलुकको राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री को बन्दै छ भनेर अनुमान गर्ने राजनीतिक विश्लेषकहरुले जनमत र कार्यक्षमताको धरातलमा होइन, दुतावासको मनोविज्ञानका आधारमा विश्लेषण गर्नुपर्ने नेपाली भूराजनीतिक यथार्थले नेपालको राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्रीले राष्ट्रिय स्वार्थमा केही काम गर्न सक्दैनन् भन्ने सन्देश गएको छ । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्रीहरु सबै सेटिङ्गमा काम गर्ने आज्ञाकारी प्रतिनिधि पात्र भन्दा भिन्न केही होइनन् भन्ने सन्देश दिएर नामर्द जागिरे नेताको पहिचान बनाएर गणतन्त्र वादी नेताहरुले बद्नामी कमाए ।
अबका आमनागरिक समिक्षा गर्न सक्षम भए कि सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल किन पटक पटक प्रधानमन्त्री हुन्छन् ? रामचन्द्र पौडेलले केही नपाएपछि आममाफी, कैद मिनाहा, नागरिकता विधेयक प्रमाणिकरण, यी र यस्तै बाचा कवूलमा राष्ट्रपति बनेका रहेछन् भन्ने बुझेका नेपाली जनताले राष्ट्रपति, प्रधानमन्त्रीको आलोचना गरे । राजीनामा माग्ने, महाभियोग लगाउन पर्ने आवाजहरु समेत उठ्ने दिन आयो । दश बर्षे सशस्त्र विद्रोहका नायक पुष्पकमल दाहालको छवि नेपाली जनमानसमा बद्नाम छ । अरु शेरबहादुर देउवा, खड्गप्रसाद ओलीको त कुरै छोडै तिनका झोले कार्यकर्ताहरुको पनि मानमर्यादा समाप्त भएको छ । त्यति मात्रै होइन, हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रको जग नै हल्लिएको छ ।
खुमबहादुर खड्काले हिजो गरेका भविष्यवाणीहरु आज दोहो¥याई तोहे¥याई सामाजिक सञ्जालमा आउन थालेको छ । मदन भण्डारीले हिजो कुन सन्दर्भमा राजा रहेर केही फरक पर्दैन सामन्तवाद रहन हुँदैन भनेर बोलेका भाषणहरु आज सामाजिक सञ्जालमा धेरैले शेयर गर्ने सामाग्री बनेको छ । हिजो बाह्रबुँदे सम्झौता हुँदा बी पी वादलाई नेपाली काँग्रेसले छोड्यो भन्ने गोविन्दराज जोशीहरु सत्ताको मूल प्रवाहबाट बाहिरिए पनि आज देश र जनतालाई मायाँ गर्ने भविष्य द्रष्टा राजनीतिज्ञ ठहरिएका छन् । विदेशी एजेण्टका रुपमा देशको शासनसत्तामा बसेकाहरुले इशाराको भरमा कसलाई कुन मुद्धामा फसाईदिने भनेर र कस्लाई राज्यसत्ताको दुरुपयोग गरेर उम्काउँदा रहेछन् भन्ने विगतको अभ्यासले पुष्टि गरेको छ ।
कृष्णबहादुर महरालाई लागेको अभियोग, शुशिला कार्कीलाई लागेको अभियोग, रवि लामिछानेलाई लागेको अभियोग र सुरक्षित अवतरण त्यस्तै उदाहरण मध्येका हुन् । गिरिजाप्रसाद कोइराला एशियाका महान नेता कहलिँदा उनैले कज्याएका अझ रुखो शब्दमा भन्दा जोतेका खुमबहादुर खड्का, गोविन्दराज जोशी, जयप्रकाश प्रसाद गुप्ता, तारणीदत्त चटौतहरुको बद्नाम गरिनुले सिध्याउने र संरक्षण गर्ने इशारा कसरी कार्यान्वयन हुँदो रहेछ भन्ने रहस्योद्घाटन हुँदै आएको छ । शेरबहादुर देउवा र आरजु राणाले उन्मुक्ति पाउँदै गर्दा बालकृष्ण खाँड डामिनु, पुष्पकमला दाहालले उन्मुक्ति पाउँदै गर्दा उनैको इशारामा काम गर्ने रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीहरु संरक्षण खोज्दै पार्टी परित्याग गर्नुपर्ने अवस्थामा पुग्नुपर्ने हुँदै गरेका रहस्योद्घाटन हुन् ।
त्यो र त्यस्तो काण्डहरु यसकारण पनि रहस्यमय बनेको छ कि भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड जस्तै धेरै काण्डहरु ओझेलमा पारिएको
छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वायत्तता पनि आज सरकारको कठपुतलीमा सीमित बनेको छ । सरकारले पालेको सत्तारक्षक पाल्तु जस्तो भूमिका निर्वाहमा सीमित बनेको छ । ७३ अर्बको एनशेसल काण्ड, ११ अर्बको द्धन् वितरण काण्ड, विनोद चौधरीको सात अर्ब कर छुटको काण्ड, झण्डै सात अर्बको वाईडबडी काण्ड समेतका पटक पटकका सुनकाण्ड, जलाहरी काण्ड लगायतका थुप्रै २७÷२८ वटा लुटकाण्डका मुख्य अभियुक्तहरुले अहिले किन उन्मुक्ति पाईरहेका छन् ? मन्त्री पक्राउ पर्दा सो मन्त्री कज्याउने प्रधानमन्त्री किन जेल जाँदैनन् ? यथार्थ अनुसन्धान गरेर दोषीलाई सजाय र निर्दोषलाई सफाई दिन के ले रोकेको छ ?
विडम्बना– सत्तास्वार्थमा मुद्धा लगाउने र सफाई दिलाउने, निजामति सेवा र शिक्षक सेवाका कर्मचारीले जस्तो तलबभत्ता खाने अभ्यासले सत्ता र सत्तासिनहरुको मानप्रतिष्ठा धुलिसात भएको छ । बद्नाम भएका छन् । त्यतिले नपुगेर अहिले तिनै नेताको कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै बद्नाम भएको छ । त्यसैले आज मंसिर ७ गतेले अबको राजनीति स्वरुपको दिशाबोध गराउने आँकलनले नेपालको राजनीति गर्माएको छ । मुलुक गणतन्त्र विरोधी र गणतन्त्रवादीहरुको दोहोरो भिडन्तमा फस्ने हो कि भन्ने हाउगुजी सिर्जना गरिएको छ । देखिएको जस्तो राजनीतिक अभिष्ट नहुन पनि सक्दछ । तर अहिले जनतालाई दुई ध्रुवमा विभक्त गर्ने हाउगुजी राजनीतिक परिवर्तन हुने खालकै छ । गणतन्त्र वादीहरुले व्यवस्थालाई वद्नाम गराएर सत्तास्वार्थ लुट्ने सिद्धान्तहीन विचलनको गठबन्धन गरेको जनतालाई भ्रममा पारेर आजकै दिन ल्याउनका लागि
रहेछ । एमाले, काँग्रेस, माओवादीका नेता तथा कार्यकर्ताहरु पनि संघीयता र धर्मनिरपेक्षताको विपक्षमा खुलेर नै बोलेका छन् । केही त राजतन्त्रको पक्षमा पनि खुलेका छन् । परिणाम संघीय लोकतान्त्रिक गणतन्त्रका ठेकदारहरु बद्नाम भएका छन् । २३८ बर्ष ल ामो इतिहास भएको राजतन्त्र भन्दा १७ बर्षे संघीय लोकतान्त्रिक गणतन्त्र बद्नाम भएको छ ।