दमौली/व्यास नगरपालिकाले सहिद दिवसको अवसर पारेर आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथान दौडमा नेपाली सेनाका खगेन्द्रबहादुर भाटले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा खगेन्द्रबहादुर भाटले ४४ किलोमिटरको दुरी दुइ घण्टा ५३ मिनटमा पार गरेर प्रथम अल्ट्रा म्याराथान दौडको रेकर्डलाई तोडेका थिए । प्रथम दौडमा नवराज साउदले तीन घण्टा १३ मिनेटमा पार गरेर विजेता बनेका थिए । दोस्रो दौडमा उनै नवराज साउदले तीन घण्टा दुइ मिनेटमा पार गरे उपविजेता बनेका छन् । प्रतियोगितामा तेस्रो स्थानका विजेता बनेका छन् पाँचथरका भूमिराज राई । उनले तीन घण्टा १४ मिनेटमा निर्धारित ४४ किलोटिरको दुरी पार गरेका थिए ।
व्यास नगरपालिका तनहुँले बुधबार जारी विज्ञप्तिमा जनाए अनुसार रुकुमका दुर्गाराज बुढा, कैलालीका किरणसिं वोगटी, तनहुँकै व्यास–६ का सुरेन्द्र चापागाई र व्यास–७ का विशाल गुरुङ, सोलुखुम्बुका सुमन कुलुङले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा एक सय पाँच जनाले भाग लिएका थिए । निर्धारित पुरी भने ६३ जनाले मात्र पार गरेका थिए । प्रतियोगितामा १६ बर्षदेखि ५९ बर्ष उमेर समूहका धावकलाई मात्रै सहभागि गराइएको थियो । व्यास नगरपालिका वडा नं. ५ को मानुङकोटबाट बुधबार विहान ८ः४८ मा शुरु भएको दोस्रो अल्ट्राम्याराथान दौडको पूर्व सभामुख रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो ।
व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा भएको उद्घाटन भएको दौड प्रतियोगिता वडा नं.५ को मानहुँकोट डाँडादेखि व्यास नगरपालिका वडा नं.८ को पुलिमराङ शहिद पार्कसम्मको थियो । त्यहाँ पुगेर शुरु भएको समापन कार्यक्रममा किर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई र ख्यातीप्राप्त धावक कान्छीमायाँ कोजुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । समापन किर्तिमानी धावक बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो । समापन कार्यक्रमलाई प्रदेश सभाका माननीय सांसद डोबोटे वि.क. र माननीय सांसद सरिता गुरुङ, संविधान सभाका सदस्य श्री रामचन्द्र पोख्रेल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख श्री शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी श्री भरतकुमार शर्मा, ने.क.पा.का केन्द्रीय सदस्य श्री प्रताप लाल श्रेष्ठ, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति श्री रघुनाथ पौडेल, जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख श्री पवित्रादेवी पौडेल, व्यास नगरपालिकाका उपप्रमुख श्री मिरा जोशी, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दिनेशराज पन्त, उद्योग वाणिज्य संघ केन्द्रीय सदस्य श्री देवकुमार श्रेष्ठ, कीर्तिमानी महिला धावक श्री कान्छीमाया कोजु, पूर्व धावक श्री रमेश भट्टचन, पत्रकार महासंघ तनहुँका अध्यक्ष श्री ओमकार आचार्य, उद्योग वाणिज्य संघ तनहुँका प्रथम उपाध्यक्ष श्री वैकुण्ठ मिश्र, जनजाती महासंघ तनहुँका अध्यक्ष श्री बसुन्धरा घर्ती, जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष श्री ऋषिराम भुषाल, दलित उत्थान मञ्चका श्री राम लिला सुवर्णकार, व्यास ८ का स्थानीय समाजसेवी श्री टेकबहादुर गुरुङ, शहिद लालध्वजका छोरा चन्द्रध्वज गुरुङ, शहिद सर्व सिं गुरुङको छोरी श्री खेममाया गुरुङ लगायत विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि र अन्य विशिष्ट महानुभावहरुले सम्बोधन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन दोस्रो व्यास नगर अल्टूा म्याराथन प्रतियोगिता २०७५, व्यवस्थापन एवं सञ्चालन समितिका संयोजक एवं नगर कार्यपालिका प्रवक्ता, वडाध्यक्ष श्री मोहनकुमार श्रेष्ठले र समापन सत्रको सञ्चालन स्वागत समितिका संयोजक वडाध्यक्ष श्री ओजराज पौडेलले गर्नुभएको थियो ।