विशेषसम्वाददाता/ विश्वभरि फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा फैलिने आशंकाले चैत्र ११ गतेबाट शुरु भएको लक डाउन पुनः थपिने चर्चा संगै दुई हप्ते लक डाउनबाट प्रभावित जनजीवन झनै कष्ठकर हुने भएको छ ।
लकडाउनका समयमा प्रभावित जनजिवनलाई सहज बनाउन व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दिपुर गाउँपालिका, ऋषिङ्ग गाउँपालिका समेतका स्थानीय सरकारले आफ्नो क्षमताले भ्याएसम्मको प्रयास गरेको पाईन्छ । तर काम विशेषले घर छोडेका मान्छेहरु, ज्याला मजदुरी गर्न विदेशबाट आएका मान्छेहरु अलपत्र भएका छन् ।
खेती लगाउने बेलामा मेलापर्म गर्न समेत कोरोनाको त्रासले कृषक जनजीवन कष्टकर बन्दै गएको छ । खेती गरी खाने किसानले पनि समयमा खेती लगाउन र मेलापर्म लगाउन डर त्रास भएको घिरिङ्ग–१ अत्रौलीबाट लक्ष्मी बस्ताकोटीले बताउनु हुन्छ ।
बजारको बस्ती भन्दा गाउँको बस्ती अहिले त्रासदीपूर्ण अनुभव हुन थालेको छ । मालसमान खरिद, विक्री गर्दा पनि दुई मिटर परको दुरीमा रहेर गर्नु पर्ने, छोइन नहुने, बजारबाट आएको दाल, चिनी, नून चामल लगायतका प्याकेटहरुमा पनि भाईरस हुन सक्ने आशंकाले गाउँबस्तीको जनजीवन असहज अनुभूति भएको घिरिङ्ग–१ अत्रौलीबाट कमल अधिकारीले बताउनु भयो ।
बडहरे खोलाको पुल बनाउन भारतको विहार प्रदेश सिपोल जिल्ला कोशीव्यारेक नजिक भण्टावारीबाट आएका मजदुरहरु अहिले भण्टारमा अलपत्र परेका छन् । लकडाउन पछि काम बन्द भएकोले न घर जान पाएको, न काम गर्न पाएको बताउँछन् मेथुल सेक । हिडेर जाने अनुमति पाए हिडेरै जाने बताउँछन् अर्का मजदुर सिकिम आलम । ठेकदारले दुई दिनको राशन दिएर गएको छ, कति बन्द हुने हो, के खाने ? नेपाली भाषासम्म नबुझ्ने उनिहरु अलपत्र छन् ।
उनिहरुलाई काम दिएका निर्माण व्यवसायी तेजप्रसाद बरालले आफ्नो सकेको कामको वील पास नभएकोले भुक्तान नपाएको गुनासो गर्दै कार्यक्षेत्रमा बसेको अवधीसम्म आफ्ना तीन जना मजदुरहरुको भरणपोषणको व्यवस्था आफैले मिलाउने बताउनु भयो ।
त्यसैगरी घर प्लास्टर गर्ने काममा आएका अरु सात जना भारती नागरिक घिरिङ्ग–१ अत्रौलीमा अलपत्र परेको स्थानीय बासिन्दा बताउँछन् ।