उम्मेदवारको नाम संगै मनोनयन दर्ता सकियो
सत्तारुढ नेकपाले राष्ट्रियसभा निर्वाचनका लागि आधारमा एकता अघिको पार्टीको आधारमा उमेद्वारहरुको टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले नेकपाका १६ उम्मेद्वारको टुंगो लगाएको हो । जसमा पूर्व एमालेबाट ९ र पूर्व माओवादीबाट ७ जना छन् । १८ सिटका लागि हुन लागेको निर्वाचनमा १६ सिटमा जित सुनिश्चित छ ।
प्रदेश १ मा नेकपाले पूर्व एमालेबाट इन्दु गौतम र देवेन्द्र दाहाल र पूर्वमाओवादीले यो प्रदेशबाट गोपी अछामी राष्ट्रियसभा उम्मेद्वार बनाएको छ भने प्रदेश २ मा पूर्व एमालेबाट तुलसा दाहाल र पूर्व माओवादीबाट राधेश्याम पासवानलाई उम्मेद्वार बनाएको छ । यो प्रदेशमा नेकपा र राजपाबीच सहमती भएका कारण दुई उम्मेदबार राजपाले दिनेछ । प्रदेश ३ मा पूर्व एमालबाटे बेदुराम भुसाल र पूर्व माओवादीबाट गंगा बेल्बासे, गण्डकी प्रदेशमा पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्व एमालेबाट भगवती न्यौपाने, प्रदेश ५मा पूर्व एमालेबाट विमला घिमिरे र गोपाल भट्टराई तथा पूर्व माओवादीबाट जगप्रसाद शर्मा, कर्णाली प्रदेशमा पूर्व माओवादीबाट मायाप्रसाद शर्मा र पूर्व एमालेबाट सुमित्रा बिसीलाई उम्मेद्वार बनाएको छ । सुदुरपश्चिम प्रदेशमा पूर्व एमालेबाट शारदा भट्ट र पूर्व माओवादीबाट तारामान स्वारलाई नेकपाले उम्मेद्वार बनाएको छ ।
यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि राष्ट्रिय सभा निर्वाचनका लागि १६ उम्मेद्वार चयन गरेको छ । शनिबार बिहान बसेको पदाधिकारी बैठकले ९ माघमा हुने निर्वाचनका लागि उम्मेद्वार छानेको हो । जसमा प्रदेश नं. १ बाट निरबहादुर विश्वकर्मा (पाँचथर) , मिना पुलामी मगर (सुनसरी) ,राजेन्द्र घिमिरे (झापा) रहेका छन् । यसैगरी प्रदेश नं. २ बाट नगिना यादव (महोत्तरी) , भोला पन्जियार (धनुषा) , प्रदेश नं. ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), छलीकुमारी शर्मा उपाध्याय (चितवन), गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) , विमला गौचन (म्याग्दी), प्रदेश नं. ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची), गिरिजा न्यौपाने (दाङ), मेराज हलवाई (बााके), कर्णाली प्रदेशबाट डिल्लीराम पाठक (सुर्खेत), सावित्री पौडेल (सुर्खेत) तथा सदुरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना (बैतडी), तुलसी देवकोटा (कैलाली) रहेका छन् ।
निर्वाचनका लागि गत आइतबार मनोनयन दर्ता सम्पन्न भै सकेको छ । राष्ट्रिय सभाका लागि प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ जनासमेत कूल मतदाताको संख्या २ हजार ५६ छ । प्रदेश सभा सदस्यको मतभार ४८ हुनेछ भने पालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ ।
प्रदेशगत रूपमा रिक्त स्थानका लागि त्यही प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । १९ राष्ट्रिय सभा सदस्यको फागुन २० मा दुइ वर्षे पदावधी सकिने भएपछि उक्त निर्वाचन हुन लागेको हो । १८ जनाको लागि निर्वाचन हुनेछ भने १ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।