
तीज महिलाहरुको विशेष महत्वको चाड हो । यो चाडको आफ्नै महत्व छ । धार्मिक, सामाजिक, सास्कृतिक महत्व बोकेको यो चाडको परम्परागत संस्कारलाई अध्ययन गर्दा महिलाहरुले यो पर्वमा भरपूर वाकस्वतन्त्रता पाउँदथे । पितृसत्तात्मक समाजको प्रभावका परेका महिलामाथि हुने शोषण, अन्याय र दमनको भण्डाफोर गर्ने अवसरको रुपमा तीजलाई मनाईने गरिन्थ्यो । नेपालमा लोकतन्त्रको आगमन पछि राजनीतिक आरोप प्रत्यारोपका लागि तीजको उपयोग गर्न थालियो । पछिल्लो सयमा आएपछि ब्राम्मण समुदायमा मात्रै होइन सबै समुदायमा तीजलाइ मनाउने, दर खाने प्रचलन बढ्दै गएको छ ।
विशेष गरी तीजमा विवाह भएका र रजस्वला चलेका महिलाहरुले बर्त बस्ने गर्दछन् । विवाह भएका महिलाहरुले आफ्नो सूस्वास्थ्य र पतिको दीघायूको कामना गर्दै बर्त बसेर महादेबको पुजा आराधना गर्ने गर्दछन् । अविवाहित तर रजस्वला चलेका कुमारीहरुले इच्छाएको बर पाउँ भनेर महादेवको आराधना गर्दछन् । पार्वतीले इच्छाएको बर पाउन महादेवको आराधना गरी स्वयम महादेवलाई बर पाएको धार्मिक विश्वासमा यो बर्तलाई नेपाली महिलाहरुले विशेष महत्वका साथ मनाउँदै आएको छ । नेपाल सरकारले पनि यो चाड मान्नका लागि तीजको दिनमा र पञ्चमीको दिनमा महिलाहरुलाई विदा दिएको छ ।
तीजमा गीत गाउँदा र नाँच्दा पुण्ड्य मिल्ने विश्वासका साथ महिलाहरुले रातो बस्त्रमा सजिएर नाँच्ने र गाउने गर्दछन् । श्रीमतिहरुले बर्तबस्ने, पुजा आराधना गर्ने, श्रीमानहरुले श्रीमतिको बर्त र पुजा आराधनामा सघाउने, खानखाने समयको ख्याल गरी खाना तयार पारेर श्रीमतिलाई ख्वाउने गर्नाले श्रीमान श्रीमतिको आत्मियता अनन्तकालसम्मका लागि बढ्ने धार्मिक विश्वास रही आएको छ । महिलाहरुले तीजमा लगाउने रातो बस्त्रलाई दाम्पत्य जीवनको सुख, समृद्धि एवं सहवासको प्रतिक मानिन्छ ।
यो पर्वमा देश विदेशमा पुगेका महिलाहरु घरमा पुगेर भएसम्म आमाको काखमा, नभए दिदीबहिनी, फूपू, भदै सबै भेलाजम्मा भई नाँचगान, रंगरमाईलो, गरी दुःखसुखका गन्थनमन्थन गरेर मनलाई हलुका गराउने गर्दछन् । घरमा फर्कन नसक्ने, विदेशमा भएकाहरु पनि हाम्रो नेपाली संस्कार अनुसार विदेशमै जम्मा भै तीजको पर्व मनाई नेपाली संस्कृतिको पहिचान विदेशमा समेत दिएका छन् ।
नेपाली महिलाहरुको महान पर्व तीजको यो सुखद अवसरमा सम्पूर्ण महिलाहरुको एकताको विकास होस् । शोषण, दमन, उपेक्षाको विरुद्धमा सम्पूर्ण महिला एक हुने प्रेरणा श्रीमहादेवले दिउन् । सासूबुहारी, नन्दभाउजु, देवरानी जेठानीको भेदभावपूर्ण द्वन्दको श्रीमहादेवले सादका लागि अन्त्य गरिदिउन् । महिला भनेका श्रीमानको कमाई खाने, श्रीमानप्रति आश्रीत प्राणी हो भन्ने मनोविज्ञानमा सुधार आओस् । वीरंगना महिला बन्ने प्रेरणा जागृत होस् । श्रीमहादेवले सबैमा आत्मनिर्भर प्रेरणा जगाइदिउन् । विदेशी नक्कल गर्न छाडेर मौलिक तीज मनाउन हामी सबैमा प्रेरणा जागोस् । हरितालिका तीजमा धेरै धेरै शुभकामना ।